२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कस्तो निष्ठुरी दाजु

कथा

खै भाइ, धूलाबारीको लागि एउटा टिकट दिनुहोस्  त ।  काउन्टर बाहिरबाट एउटा अधबैसे मान्छेले पैसा थमाउँदै टिकट माग्यो । टाउको उठाएर पैसा लिएर टिकट दिँदै गर्दा मेरा हात एकाएक रोकिन पुगे ।

ऊ त्यही मान्छे थियो जसको खोजीमा  म वर्षैंदेखि विभिन्न शहरहरूमा भौंतारिइसकेको थिएँ । आज ऊ मेरोसामु थियो। उसलाई देख्नासाथ एकाएक हर्षाशु बग्न थाले । तुरुन्त आडैमा बसेको मेरो सहकर्मीलाई मेरो कामको जिम्मा लगाउँदै बाहिर आएर गर्लम्म अँगालो मार्दै भनेँ – दाइ म कर्ने, मलाई चिनिस्  नि।

ऊ मेरो सहोदर  दाजु थियो । दाजु मात्र थिएन ,होस सम्हालेदेखि पन्ध्र वर्षसम्म संँगै खेलेको साथी थियो ऊ। यतिखेर पनि मैले  हजुर तपाईं जस्तो आदारार्थी शब्दहरू प्रयोग गरेको थिइनँ  । मैले उसलाई तँ नै भन्थें।  उसलाई तँ भन्ने बानी मेरो सानैदेखिको थियो । तँ  शब्दमै साथीत्व पाएको महसुस गर्थें  । मैले उसलाई तँ  भनेर सम्बोधन गरिरहँदा बुवाले थुप्रै पटक गाली गर्नुभएको पनि थियो । भन्नुहुन्थ्यो – ए कर्ने, अब त ठूलो भइसकिस् । दाइलाई  हजुर तपाईं भनेर सम्बोधन गर्ने गर है ।

मभन्दा मात्र डेढ वर्ष जेठो थियो ऊ।  सानैदेखि लागेको  बानी छुटाउन सकिरहेको थिइन्  र अहिले पनि सकेको थिइनँ ।

मान्छेहरू रमिते बनेर एकतमासाले हामीलाई घुर्न थालेपछि म आफैलाई केही असहज लाग्यो र अँगालोबाट हात हटाउँदै भनेँ – यत्रा वर्ष कहाँ थिइस्  दाइ ,यो भाइको याद आएन ?

मैले सोचेको थिएँ – उसले बुवामुमाको हालचाल सोध्ला।  भाउजू र छोराहरूको हालखबर बुझ्ला। गाउँले पुराना साथीभाइहरू , छिमेकी नातेदारहरूको कुरा कोट्याउला ।  तर, अहँ उसको मुखबाट कुनै पनि शब्द निस्किएन। यही दाजुको खोजीमा म कहाँ कहाँ पुगिनंँ  । सारा काठमाडौका गल्ली – गल्ली भौतारिएँ । चिनेजाने र भेटेजति मान्छेहरूसँग सोधखोज गर्दै हिडेँ । आफू  विदेश नगईकन दाजुलाई कतै जिउँदै भेटाउँछु  कि भन्ने आशले कहिले ड्राइभर भएँ  कहिले बसको काउन्टरको जागिर खाएँ । म कुनै न कुनै कामले जाँदा मेरो भित्री लक्ष्य  उसैको खोजी गरिरहेको हुन्थ्यो।

कहिलेकाही कतैबाट आएर पछाडिबाट झ्याप्प काँधमा हात राख्दै ओई कर्ने भनी पो हाल्छ कि जस्तो पनि लाग्थ्यो । तर, व्यर्थ , म  डेढ दशकसम्म उसैको खोजीमा त्यसै भौतारिएँ  । तर, अकस्मात दाजु आज  मेरोसामुन्ने थियो तर एउटा  मूर्तिको रूपमा मात्र।

– दाइ , हिंँड अब  घर जाउँ , बुवा परार बित्नुभयो ।  मुमा रोगी हुनुभएको छ ।  भाउजू आज पनि हजुरको बाटो हेरेर बसिरहनुभएको छ ।  साना छोराहरू पनि जवान हुन लागेका छन् । परारसम्म हाम्रो बुवा कहिले आउनुहुन्छ भन्थ्यो। अहँ , मैले यतिविधि कुराहरू राख्दा पनि ऊ अझै टसको मस भएन ।

दाजुले एक दिन भनेको थियो – बुवा म ट्याक्सी चलाउँदिन । बरु,  मलाई खाडी मुलुकतिर पठाइदिनुस् ।

– के भन्छ यो फेरि ।  केही गरिखाला भनेर ॠण गरेर एउटा ट्याक्सी किनिदिएको त्यै पनि चलाउन्न पो भन्छ । होइन खाडी मुलुक गएर पो के गर्छस तैले । बुवा रिसाउनुभएको थियो ।

ट्याक्सी चलाएर मात्र के गर्ने बुवा , दिनभर लाइनमा बस्नुपर्छ । बल्लतल्ल यात्रु पायो त्यही पनि किचकिच गर्छन् । तेल हाल्ने पैसा पनि आउन्न कहिलेकाहींं  त । बरु तलको धनेको झैं  केही वर्ष  बाहिर बसेर धेरथोर पैसा कमाउन पाएँ  भने आफ्नै पैसाले ट्याक्सी किनेर चलाउने थिएँ कतै ।

दाइको कुरा ठिकै पनि थियो । बन्द – हडतालले गर्दा कति दिन त उसको पाकेट रित्तो भएर तेल हाल्ने पैसा बुवासित मागेको मैले धेरै पटक देखेको थिएँ ।  दिनभर कमाएको पैसा आफ्नो  खर्च काटेर  ब्याज तिर्न पनि  पुग्दैनथ्यो। 

बुवाले मजबुरी बुझेरै होला ट्याक्सी बेचेर साँवा –ब्याज चुक्ता गरिदिनुभयो र आँगनमुनिको बारी धितो राखेर खाडी मुलुक पठाइदिनुभयो ।

दाइ विदेश जाँदा अहिलेको जस्तो पैसा पठाउने माध्यम सहज थिएन । कि त आफै बोकेर आउनुपर्थ्यो कि त छुट्टीमा आएका साथीभाइहरूको हातमार्फत पठाइदिनुपर्थ्यो । दाइ दुई साल काम गरेर छुट्टीमा आएको कुरा काठमान्डूबाट फोनमार्फत थाहा दिइएको थियो । तर, त्यो दिनदेखि गायब भएको दाजु आज मेरोसामुन्ने थियो । 

म दाजुको खोजखबर गर्ने क्रममा ऊ बसेको होटेलमा पनि पुगेको थिएँ ।  होटेलवालाले आफ्नो होटेलमा कुनै अप्रिय घटना नघटेको तर साउदीबाट आएका चार जना रातभर जुवा खेलेको बताएका थिए ।

मलाई राम्ररी थाहा थियो – दाइ बुवाको आँखा छलीछली तास खेल्थ्यो, कमै हार्थ्यो। ऊ तीन पत्ती खेल्न निकै सिपालु थियो ।   जितेमा यतै आफूले कमाएको पैसा मिलाएर आफ्नै गाडी किन्ने सपना बुनेको हुनुपर्छ भन्ने अनुमान मैले  लगाएको थिएँ । तर,  बुवालाई भनेको थिइनँ । 

– दाइ , तैले साउदी जाँदा लागेको ॠणको ब्याज थाम्न नसकेर बुवाले जग्गा बेचेर चुक्ता गरिदिनुभो । अनि आफूले कमाएको पैसा साथै त्यत्रा साथीहरूले विश्वास गरेर पठाएको नासो पैसा कहाँ हालिस त नि ?   मैले असली कुरा जान्न चाहेँ ।  

– सबै जुवामा हारियो नि।  बल्लतल्ल उसको मुखबाट यति नै कुरा छुट्न पुग्यो । मेरो अनुमान सही निस्कियो ।

– दाइ, जे  भयो सो भयो । सबै कुरा भुल, हिंड घर जाउँ  अब । मुमा कत्ति खुशी हुनु हुनेछ। भाउजूको त खुशीको सीमा रहने छैन । छोराहरू बाबा आए भनेर झुम्मिने छन्, नाच्नेछन । मैले  सम्भावित  खुशीका पलहरू देखाउंँदै हात समातेँ ।

–  अब के मुख लिएर जाऊँ त्यहाँ ? मैले आफ्नो छुट्टै  संसार बनाइसकेको छु । मलाई खोजी गर्ने कोसिस नगर्नुु भन्दै आफ्नो झोला उठाएर गन्तव्यको बसको सिटमा गएर बस्यो।

बस स्टार्ट भइसकेको थियो । मेरो मुखबाट यत्ति शब्द निस्कियो– कस्तो निष्ठुरी दाजु रहेछ।  छोटो  समयमा धेरै धन जोड्ने लोभमा त्यो दिन तैले जुवा नखेल्दो होस् त । म एकोहोरो  टोलाइरहेँ  । यतिन्जेलसम्म बस निकै पर पुगेर ओझेल परिसकेको थियो।

प्रकाशित: १४ माघ २०७७ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App