१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’लोकार्पण भएको छ। फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो।    

पाण्डे इमानदार, निष्ठावान् र पारदर्शी चरित्रको व्यक्ति रहेको लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले बताए।   ‘सार्वजनिक जीवनमा प्रवेश गरेपछि उहाँ विभिन्न क्षेत्रमा आबद्ध हुनुभयो—दलीय राजनीति, मानवअधिकारको क्षेत्र, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श र नागरिक आन्दोलन आदिमा,’ संग्रौलाले भने, ‘पछि लोकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षकै माध्यमबाट पनि संलग्न हुनुभयो।   ७८ वर्षको उमेरमा समेत मधेस आन्दोलनका लागि तराईका विभिन्न भाग पुग्नुभयो।’ यसबाट पनि पाण्डे देशका जुनसुकै तह र तप्काका मानिसले आफ्नो हकअधिकार पाउनुपर्छ भनेर लड्ने व्यक्ति भएको पुष्टि हुने उनको भनाइ छ।    

‘पाण्डे जति क्षेत्रमा संलग्न हुनुभयो, जहाँजहाँ उहाँले कर्म गर्नुभयो, सबै ठाउँमा छाप छाडुनुभएको छ,’ संग्रौलाले भने, ‘इतिहासका सबै पदचाप उहाँका कानमा गुन्जिएका छन्।   आफ्नै जीवनलाई फर्केर हेर्दा आफैंले सुनेका पदचापहरूलाई शब्दमा रूपान्तरित गर्दै लेखिएको हो, यो पुस्तक।’  निष्काम कर्म गर्न रुचाउने पाण्डेले बाँचिरहेको समयको इतिहास पनि यो पुस्तक रहेको उनले बताए।    

२०१७ सालपछिको ६० वर्ष सार्वजनिक जीवनमा अलग पहिचान बनाएका सक्रिय नागरिक एवं नागरिक अभियन्ता पाण्डेले पुस्तकमा आफ्नो कार्यकालमा निर्वाह गर्नुपरेका भूमिकालाई समेटेको लेखक एवं विश्लेषक झलक सुवेदीले बताए।   ‘अर्थसचिव र अर्थमन्त्रलयमा वैदेशिक सहायता शाखामा रहँदा आफूले गरेका काम र भूमिकाका सन्दर्भ यहाँ जसरी आएका छन्,’ उनले भने,‘आजको समयमा पनि विकास चिन्तन, वैदेशिक सहायता, विदेश सम्बन्ध र आफ्ना राष्ट्रिय स्वार्थहरूको प्रतिनिधित्व एउटा प्रशासकले कसरी गर्न सक्छ र गर्नुपर्छ भन्ने विषय यहाँ समेटिएको छ।’

जुन उद्देश्यले नागरिक आन्दोलन भयो, आन्दोलनमार्फत सात दल र माओवादीलाई शान्तिप्रक्रियामा अग्रसर हुन उत्प्रेरित गरियो, जसका आधारमा दोस्रो जनआन्दोलनसमेत खेपेर मुलुकले राजनीतिक रूपमा नयाँ संरचना अन्तर्गत काम सुरु गर्यो,, त्यसपछि कम से कम जनउत्तरदायी सरकार, राजनीतिक स्थिरता आदि भएर युगौंदेखि आफ्नो उपस्थिति जनाउन नसकेको समाजका लागि केही काम सरकारले गर्थ्यो कि भन्ने आश लागेकोमा राजनीतिक व्यक्तित्व र समाजका केही तह एवम् तप्काले त्यो काम गर्न नसकेको लेखक पाण्डेको भनाइ छ।    

‘काठमाडौं मानसिकता’सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै अर्थ मन्त्रालयको सचिव बनेपछि देशप्रतिको निष्ठा जोगाउन जनमतसङ्ग्रहका बेला राजीनामा दिएका पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मानेका छन्।   दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्याला अँध्यारा पाटाका अनुभूति छन्।    

दोस्रो जुनीमा काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारेका छन्।    

 

प्रकाशित: ११ माघ २०७७ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App