२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कमलेश पाण्डेका कविता

कृति परिचय

नगेन्द्रराज रेग्मी

 

भद्र, बौद्धिक र शालीन व्यक्तित्व डा.हरिदत्त पाण्डेसँगको कुनै दिनको एक भेटमा उहाँले मलाई एउटा पुस्तक दिनुभएको थियो । कमलेश पाण्डेका कविता नामक उक्त पुस्तकबारे केही लेखौला भन्ने मैले सोच त बनाएको हो, तर झन्डै एकवर्ष नाघिसक्दा पनि मैले केही लेखेको थिइनँ । फेरि एकदिन कुरै कुरामा यो प्रसङ्ग उठ्यो । ‘कमलेशले चौबीस बर्से जवानमै मृत्युवरण गर्न पुग्यो । उ अध्ययनको क्रममा स्वीडेन पुगेको थियो ।’

डा. पाण्डेयको यो अन्तिम वाक्यले म स्तब्ध बनेँ । घरमा आएर पुस्तक निकालेँ, पुस्तकको आवरणमा देखिने कमलेशको फोटोले साँच्चै मलाई मर्मान्त बनायो, भावविह्वल र दुखित तुल्यायो । यस्ता कल्कलाउँदा उमेर समूहका कतिपय हाम्रा छोराछोरी, भाइबहिनीहरू विदेशमा पुगेर यसरी मृत्युवरण गरिरहेछन् । हामी यता अविरल आँसुु बगाइरहन्छौ । तर,  यसको कारण के हो ? खोजिनीतिमा हाम्रो चासो भए पनि त्यसका लागि हाम्रो पहुँच पुग्दैन । उता नीतिनिर्माण गर्ने निकाय भने बेखबर हुन्छ, मौन बस्छ । किन ? किन ? र किन ??

म यस्तैयस्तै सोच्दै पुस्तकका पाना पल्टाउँदै छु । पुस्तकमा प्राडा जयराज पन्तको भूमिका देखेँ । गत केही समयअघि उहाँको पनि दुखद र अकल्पनीय दुर्घटनामा आफ्नो पैतृकथलो पुग्न नपाउँदै अन्य केही आफन्तजनसहित निधन हुन पुगेको थियो । कृतिभित्रका यी दुवै दुखद संयोग एकसाथ मेरो मानसमा आए । यो कस्तो नियति हो ? राम्रा र असल मानिसलाई छिटै लानैपर्ने ? हुन त  कुनै पनि व्यक्तिको देहावसानपछि उसलाई महान् देख्नु, सम्पूर्ण देख्नु हाम्रो संस्कारगत उदारता त हो नै । सकारात्मक कुरा पनि त हो ।

म जे छु अहिले

त्यही मेरो शुध्द बचत हो

त्यही हो वासलात

मेरो जीवनको ।

कमलेश आफ्नो जीवनको गूढ रहस्य यसरी बताउँछन् । कति मीठो भावना र शब्द संयोजन व्यक्त गर्ने सामथ्र्य राख्छन् उनी ‘वासलात जीवनको’ शीर्षकमा।

आयुले लामै बाँचे पनि त्यसको त्यति गणना हुन्न । तर, योगदान र विचारले बाँचेको व्यक्ति अल्पायुमै बिते पनि त्यसलाई जनजनको मनले सदा सम्झिरहन्छ । ऊ सदा जीवित भइरहन्छ, अमर बनिरहन्छ । कमलेश पाण्डे पनि यही कोटीमा पर्ने एक सर्जक थिए । यो उमेरमै उनको रचनाशक्तिलाई दृष्टि दिँदा ठूलो सम्भावना बोकेको देखिन्थ्यो । तर, योभन्दा बढी र योभन्दा राम्रो गरेको र राम्रो लेखेको हेर्ने इच्छा सायद नियतिलाई भएन ।

मेरो मातृभूमि

अनन्त अनन्तसम्म

जिउँदो रहोस्...

      वैरीको कुदृष्टि नलागोस् यसमाथि...।

आफ्नो मातृभूमिप्रति अगाध आस्था, माया र सम्मानभाव प्रकट गर्छन् उनी पुस्तकका धेरै ठाउँठाउँमा । फेरि भन्छन् –

हे आमा,

तिम्रो दुखेको मुटुमा मल्हम लगाउने

  देशका लागि गोली थाप्न पछि नहट्ने

वीर सपुतहरु फेरि पनि जन्माउ।

दुखी, गरीब र निर्धाहरूका पक्षमा, अशिक्षा, अन्धकार र अन्धविश्वासका विरुद्धमा, देशमा विद्यमान विकृति र विसङ्गतिहरूमा, मानवीय मूल्यको विघटन, प्रशासनिक अस्तव्यस्ता, राजनीतिक खिचातानीजस्ता हाम्रो देशमा देखापरिरहेका थुप्रै कसिंगारहरू बढार्ने दिशामा कलमलाई कुची बनाएर उनले खबरदारी गरेका छन्, आफ्ना भाव, भावना र अनुभूतिहरू पस्केका छन् ।

कृतिभित्र उनका तीसवटा कविता सङ्ग्रहित गरिएको छ । उनको कविताहरू त्यति लामा छैनन् । कविताहरू सरल, सुवोध र बोधगम्य छन्, जो कोही पाठकले बुझ्न सक्छन् । अझ काव्यिक शील्पले अलि बढी माझिन सकेको भए, मिहीन पाराले कुँद्न सकेको भए सुनमा सुगन्ध हुने थियो । भावना पक्ष अति प्रबल देखिन्छ, यो उनको विशेषता हो । पुस्तकभित्रको भूमिका पढ्दा उनका कथा र अरू विधामा पनि कलम चलाएको भन्ने कुरा थाहा पाउन सकिन्छ । त्यस्ता कृतिहरू पनि प्रकाशमा आउन पाए अझ नेपाली साहित्यका लागि महत्वपूर्ण कुरा हुन जान्थ्यो । सङ्ग्रहमा कविको समग्र जीवनवृत्तबारे पाठक अनभिज्ञ रहनु भनेको एउटा दुखद पक्ष हो । उहाँको पारिवारिक पृष्ठभूमि जन्म, निधनको कारण, शिक्षादीक्षा, मातापिता यस्ता केही कुराको जानकारी यो पुस्तकले दिँदैन । ज्यादै खट्किने विषय पनि हो । जे होस् एउटा २४ वर्षको अल्हाडपनको सुन्दर युवाले प्रेमपत्र लेख्ने उमेरमा देश प्रेम लेख्यो, जनता र देशका कुरा लेख्यो, चेतना र जागृतिका कुराहरू लेख्यो यो त्यसै पनि के कम कुरा होइन । आफ्नो अध्ययनलाई थाँती राखेर लेख्यो । व्यस्त समयका बीचमा गाँस कटाईकटाई लेख्यो । जति लेख्यो त्यो हाम्रै गीत लेख्यो, हाम्रै कविता लेख्यो र त्यो सबै हाम्रै लागि लेख्यो ।

म हराएँ यस संसारमा

      सूर्यको किरणले पछ्याउन सकेन...

   आमाको आँशुले व्यूँताउन सकेन

   म जिउदो छु वा मरिसकेको छु

कसैले ठम्याउन सकेन ।

कमलेश तिमी जिउँदै छौ, कसैले ठम्याउन सकेन नभन, हामीले ठम्याइसकेका छौ । मरिसकेको व्यक्तिको त नामनिसाना नै रहँदैन, उसको चर्चा प्रसङ्ग नै सुनिदैन । तर, तिमीलाई यत्रा पाठकले पढिरहेका छन्, सम्झिरहेका छन्, चर्चा गरिरहेका छन् । अनि कसरी तिमी आफू मरिसकेको ठान्छौ ? सायद अक्षर र शब्दको शक्ति पनि यही हो । त्यसैले कमलेश तिमी अमर छौ, अजर छौ ।

पुस्तकको नाम– कमलेश पण्डेका कविता

प्रकाशक– तन्नेरी प्रकाशन

संस्करण– २०७० प्रथम

पृष्ठ– ४८

मूल्य– उल्लेख नगरिएको ।

प्रकाशित: ११ माघ २०७७ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App