२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अस्थिरता बोध

निबन्ध

कोही छैनन् कोठामा एक्लो छ । भाइद्वय र श्रीमती घर गएको पनि एक महिना भइसक्यो । बिहान अबेरसम्म सुत्ने उसको बानी यथावत् छ । बिहान सबेरै उठ्न उसले कहिल्यै जानेन वा भनूँ चाहेन तर कार्य व्यस्त रहँदा भने ऊ कहिलेकाहीँ यो नियमलाई उलंघन गर्छ ।

बिहान कालो चियाले उसका काला ओठलाई पोलेपछि ऊ ओछ्र्यानलाई पट्याउँछ र उठ्छ । एक्लो भएको कारण खाना ऊ आफै बनाउँछ । खाना मिठोे बनाउन चाहेको खण्डमा ऊ मिठोे नै बनाउँछ तर ऊ अलि अल्छी पनि छ । एक्लैलाई ऊ त्यति मेहनत गर्न चाहँदैन तर बाँच्नु अपरिहार्य छ । त्यसका लागि खाना बनाउँछ खान्छ । अनि ओछ्यानमा नै बसेर अध्ययनमा लाग्छ।

विशेष गरेर शंकर लामिछानेका कथा र निबन्ध । पारिजातका कथा र देवकोटाका कविताहरू उसका रुचिका बिषयहरू हुन । शंकर लामिछानेको कथामा पाइने त्यो दूरदृष्टि र स्वतन्त्रतालाई कसरी भूल्नु । पारिजातको अविवाहिता हुनुको अर्को पीडालाई देख्ने आँखा शाश्वत हो । जुन कल्पनाभन्दा धेरै पर रहेको हुन्छ ।  कथामा पाएको जिवन्त पात्रलाई चाहेर पनि हत्या गर्न सकिदैन । बरु तिनको व्यथा सुन्न चनाखो हुनु पर्दछ।

ऊ कवितामा पद्यलाई अलि बढी मन पराउँछ । खोजेर पढ्नु र पढ्न खोज्नु दुवै आवश्यक छ । अझ वस्तुगत र आत्मपरक निबन्ध पढ्नमा उसको सौख छ । अझ तुलनात्मक निबन्ध होस् आहा जाडोमा तातो कफीको पनि आवश्यकता पर्ने थिएन ।

हावाको बहाब पनि कति चर्केको हो । जहाँ सिरेटोले हानेर कान र गाला रातो भएको छ । त्यहीँ यो गुलावी लाली पोखिएको जस्तो देखिन्छ । तर, यर्थाथतामा आफूले चाहेको र पाएको कुरामा धेरै फरक रहेको पाइन्छ । जीवनको साँचो रूप त त्यो बेला देखिदो रहेछ।  

खाली छ ऊ कुनै काम गर्ने वातावरणमा र अवसर सिर्जना भएसकेको स्थिति छैन । यो दुई महिनाका लागि तसर्थ अध्ययन गर्ने अवसर उसलाई राम्रोसँग मिलेको छ । ऊ अध्ययन मात्र गर्दैन यो चौध वर्ष काठमाडौं बसाइको समीक्षा गर्न पनि ऊ पछि पर्दैन । कुनै समय थियो उसका लागि धेरै मान्छेले साथ दिन्थे । आज त्यो झन्झट छैन । कारण अब ऊ रित्तिएको छ । बैंक, गोजी र अन्य आम्दानीबाट समेत।

जागिरका लागि नधाएको भन्न मिल्दैन । अनुसन्धान गर्ने हो भने हजार कार्यालयमा उसको बायोडाटा पुगेको हुनुपर्छ । तर, कसैले पत्याएन कारण अयोग्यता हुँदै होइन । हो त के भने उसले आजको दिनसम्म गुलामी गर्न जानेन । यदि यो जानेको हुन्थ्यो भने आज ऊ कुनै संस्थाको प्रमुख वा राजदूत पदमा रहेको हुन्थ्यो । उसले  खराब व्यववस्था र पद्दतिको विरोध गर्न मात्रै जान्यो । त्यो खराव पक्ष थियो जीवनलाई पछि धकेल्न सहयोग गर्ने । बाँच्न त जो कोही बाँच्छ, तर आर्दशले बाँच्नु र कसैको गुलाम हुनुमा कत्ति फरक छ ? त्यो कुरा आत्मालाई थाहा छ । बाहिर भन्नु हुँदैन । बाहिर भन्यो भने त्यो आर्दशवानको बिल्लामा झुन्डिन्छ ।

यो धेरैलाई मन पर्दैन तर व्यक्त पनि हुँदैन । मह खाने हो त्यसमा डुब्नु हुँदैन । डुब्यो भने निश्चित छ बाहिर निस्कन र बाह्य संसार हेर्न पनि सकिदैन । यो कुरा त सबैले बुझेकै कुरा हो । तर, यर्थाथतामा कोही आउन चाहँदैनन् । कारण यसको जालो नपुगेको कुनै स्थान छैन । अझ सोझो अर्थमा यो लोलुपताबाट बाहिर आएको कोही छैन।

यौवन अवस्थामा सहपाठी, सहयोगी अनि समकक्षीहरू थुप्रै थिए । प्रेम गर्ने, समय बिताउने र उल्लास भर्नेे साथीहरू । तीमध्ये धेरै जीवनको रसिकता पोख्ने र बाँड्ने पनि अधिक थिए । संसर्गको जीवन नभए पनि रमाइलो लाग्दथ्यो उनीहरूको हाँसोमा रमाउँदा । साँच्चै  दौतरी मिल्दो र समकक्षी जीवन रमाइलो नै हुन्छ ।

यौवन अवस्थामा साथीहरूको बीचमा साटिने प्रेम र कतै बन्धन चुडिदाको स्थिति खल्लो अनुभव सगाल्दै कष्टकर हुन्छ । तर, मलिलो माटोलाई बाढीले बगाएर लगे पनि पुन त्यहाँ उर्वर बनाउनु किसानको धर्म र कर्तव्य हुन आउँछ भनेझैं ती साथीहरू पुन उत्साही हुन्थेर साथ दिन्थे । उनीहरूलाई यतिसम्म कि भावनाले भरिपूर्ण शब्दमा सुन्दर शब्दहरू लेखेर ऊ कुनै उनीरूका प्रेमीपे्रमिकालाई समेत अल्लादित पार्दथ्यो । पछि थाहा भयो त्यसो गर्नु उसका लागि अपराध र अमानवीय कार्य रहेछ । जो ती शब्द जालमा फसे, बिचरा केहीको जीवन धेरै दुःखपूर्ण रहृयो । जहाँ तिनीहरूलाई देख्दा उसलाई खल्लो अनुभव हुन्थ्यो।

जीवनलाई हिडाउन धेरै कार्यहरू गरयो । अर्काको काम गरयो । सडकमा कपडा बेच्यो वा जे गर्दा जीवन गुजारा गर्न सकिन्थ्यो ती सबै गरयो । जुन कानुनका दृष्टिले गर्न पाइने कार्यहरू थिए । अभावै अभावमा नभए पनि राम्रो खाएर तर तनाव सहँदासहँदै लाग्यो डलर कमाउने एनजिओ खेतीमा, परिणाम सुरुमा राउटेलाई खेती के थाहा ? ऊ त्यसरी नै फस्यो । केही नपाई समय सिद्धियो । समय सिद्धियो के भन्नु आफ्नै जीवन बितायो र भएको अलिकति जोहो पैसा सिद्धयायो । सोझो व्यक्ति ऊ आवश्यक्तामा साथीहरूले खर्च झिक भने झिक्यो पछि काम केही गर्न सकेन, पैसा फिर्ता भएन पनि । आशा राखेको छ फूल रोपेको ठाउँमा फूल नै उम्रिएला भनेर ।  

मनमा यिनै अन्तर कुराहरूलाई खेलाउँछ । यो शहरमा अरूसँग बोल्ने कसलाई फुर्सद छ र ? थोरै लेख्ने बानी छ र पढ्ने त्यसैले किताब, कलम, कापीमा हातका औला र दिमाग सबै साथीहरू हुन् उसका लागि र कतैबाट आएका उल्टा शब्दलाई सुल्टा बनाइदिने दुईवटा पाले राखेको छ । आखिर उसको जीवनमा नोकरचाकर र उसलाई पालनपोषण गर्ने अभिभावक पनि यिनै हुन।

कुनै बेला उसलाई यस्तो पट्यार लाग्छ कि चर्को आवाज निकालेर यो पर्खाल भत्काइदिऊ, दुनियाँले देख्न सकोस र एउटा सभ्य समाजको सुरुवात र संवाद होस् । जहाँ एक अर्काको परिचय होस, बिरामी हुँदा आफ्नो पीडा अर्को व्यक्तिले बुझ्न सकोस् । ऊ अन्धकारपूर्ण कोठामा बसेर यस्तै आत्मीय सदभावको आशा राख्दछ यो स्वार्थी शहरबाट।

यो सालको खडेरी त्यसै पनि उराठी छ वातावरण । कतै एक छिटा पानी छैन । तर होलीको रैनक छाएको हुनाले फोहोर पानीकै उपयोग गर्दैछन् साना बालबच्चाहरू र युवायुवतीहरू । कतिचोटि सिकार भइन्छ यस्ता शिकारीहरूबाट । बेचैनी बढिरहेको समयमा यी अमानवीय कार्यले झनै तनाव थपिदिन्छ ऊ, सोच्छ । झोक चल्छ गएर थप्पड दिन तर अरूले गरेको गल्ती छोप्ने समाजमा बसेको हुनाले त्यो हिम्मत त्यसै सेलाएर जान्छ अनि चुपचाप निर्धो भई अघि बढ्छ ।

काम केही नभए पनि साथीभाइ भेटघाट र आफ्नो कामको बारेमा बुझ्नका लागि ऊ सडक नाप्ने गर्दछ । प्राय बिहानदेखि बेलुकासम्म । शुन्यतापूर्ण नै भए पनि कठिन छ जीवनलाई बचाउन । जीवनलाई तरंगित पार्नु, लहराउनु र फुलाउनु त छँदैछ । त्यसो हुनाले जीजिविषालाई मार्न सकिरहेको छैन ।

जीवनको अर्थबारे धेरै परिभाषाहरू पढेर पनि आफूलाई सुहाउँदो परिभाषा भेटिएन । यत्रा धेरै शुत्रहरू बनेका छन् । जसको कारण काम गर्न वैज्ञानिक युगमा धेरै सजिलो भएको छ । के ती वैज्ञानिकहरू असफल हुन त पक्कै होइनन् । उनीहरूको सबै सोधअनुसन्धान सफल भएको छ । तर, उसको जीवनमा लागू गर्न सक्ने परिभाषा भेटिएन । आखिर उसले आफूभित्र आफूलाई नै भेट्न सकेन । यो आफैमा एउटा खोज हो र यो खोज्ने प्रयास सदासर्वदा रहने छ ।  यो खोजको अन्त्य सायद जीवनको अन्त्यभन्दा पनि पर हुन्छ होला ।  उसको मुखबाट अन्तिम सत्य बाहिर आयो । आखिर केही गरिएन जीवनमा जीवनको स्वतन्त्रतालाई छोडेर । यस्तै विचारमा हराउँदाहराउँदै उसले पल्लो घरको झ्यालबाट सललल एक भल्को पानी बगेको देख्यो । जुन पानीले थोरै जमिन भिजेको देख्यो । बाँकी जमिन त अहिले पनि उस्तै सुक्खा र धुलाम्मे थियो ।                  

प्रकाशित: ९ माघ २०७७ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App