३० आश्विन २०८१ बुधबार
image/svg+xml
कला

अन्तरवार्ताको अन्तर्य

संस्मरण

कमल रिजाल

 

प्रधानमन्त्री खड्गप्रसाद ओलीले केही दिनअघि भारतीय मिडियालाई दिएका अन्तर्वार्ताले निकै चर्चा पायो । कसैले केही भने कसैले केही  । जसले जे भने पनि सबैले आआफ्नै आँखाले हेरे, आफैअनुसार  अर्थ्याए  । ओलीजी सच्चा देशभक्ति नेता भन्ने जति थिए उच्च राष्ट्रवादको आँखाले हेर्ने पनि उति नै थिए । हो रूपमा यही हो, उनले भारतीय मिडियासामु दरो अडान पेश गरे । अरूको भूमि एक इन्च पनि चाहिन्न र आफ्नो पनि छाड्न सक्दैनौ भनेकै हुन् र घुमाउरो पारामा भारतभन्दा नेपाल जेठो भएकाले बढे भाइ र छोटे भाइको कुरा गर्ने हो भने नेपाललाई बढे भाइ भन्नुपर्छ भन्ने आशय पनि व्यक्त गरेकै हुन् तर यो रूपमा मात्र हो सारमा होइन । सारमा यसको अन्तर्य अर्कै छ । 

नेपाली नेताहरूले राष्ट्रवादको कुरा गर्ने र भारतीय हेपाहा प्रवृत्तिको विरोध गर्ने भनेको सत्ता बाहिर हुँदा मात्र हो । सत्तामा हुँदा कोही पनि त्यस्तो हिम्मत गर्दैनन्, गर्न सक्दैनन् । सबै उनीहरूका अगाडि गरुडको छायाँ परेको सर्पजस्तो देखिने गर्छन् । सत्ता बाहिर हुँदा उसको विपक्षमा पनि बोल्छन् । विरोध पनि गर्छन् तर सत्तामा पुग्नासाथ बिरालो अगाडिको मुसा जस्तो बन्न पुगिरहेका हुन्छन् । उनीहरू बिरालो मुसा खेलाए झ्याईं खेलाइरहन्छ । यिनीहरू उनीहरूकै तालमा नाचिहन्छन् । यसमा खड्गप्रसाद ओली मात्र अपवादमा पर्ने कुरै भएन । उनले जे बोले त्यो गरेनन् । जे गरे त्यो बोलेनन् । प्रमाणका लागि हालै सम्पन्न परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई नै हेरे पुग्छ । 

प्रधानमन्त्रीले भारतीय मिडियासामु सीमा समस्याबारे जस्तोसुकै भाषण छाँटेका भए पनि त्यसको लगत्तै भएको परराष्ट्रमन्त्रीको भारत भ्रमणमा यसबारे चर्चासम्म हुन पाएन, सकेन । आखिर किन यस्तो ? किनकि यहाँका नेताहरूका देखाउने र खाने दाँत अलगअलग छन् । सत्ता बाहिर हुँदा विरोध पनि गर्छन्, यसैलाई सत्तारोहणको भरयाङ पनि बनाउँछन् तर सत्तामा पुग्नासाथ सबै बिर्सन्छन् र उनीहरूकै तालमा नाच्न पुगिरहेका हुन्छन् । उदाहरणका लागि यहाँ आफैले देखे, भोगेका एकाध घटना प्रस्तुत गरेको छु । 

प्रसङ्ग २०७२ सालको हो । त्यतिबेला काङ्ग्रेसी नेता सुशील कोइरालाको सरकार थियो । सञ्चारमन्त्री भने विराटनगरतिरका पंक्तिकारकै एक गोतियार भाइले हत्याएका थिए । तिनताका परिवन्दवश गोरखापत्र सम्पादकीय टिमको नेतृत्वमा यो पंक्तिकार पनि पुगेको थियो । परिवन्द कस्तो थियो र कसरी त्यहाँ पुग्यो यसको लामै कहानी छ । पछि कुनै बेला प्रसङ्ग अनुसार प्रष्ट पार्ने नै छु । अहिलेलाई शीर्षक अनुसारको विषयवस्तुतिरै पाठकहरूको ध्यानाकर्षण गर्न चाहन्छु ।

भूकम्पको लगत्तै नेपालले गणतान्त्रिक संविधान जारी गरयो । संविधानका केही प्रावधानप्रति पहिलेदेखि नै असमति राख्दै आएको भारतले त्यसलाई पचाउन सकेन र संविधान जारी हुनासाथ नेपालमाथि नाकाबन्दी थोपरयो । नाकाबन्दीले भर्खरै संहारकारी भूकम्पको मार झेलेको नेपाल र नेपालीलाई केकति असर गरयो सबैलाई थाहा भएकै कुरा हो । नाकाबन्दीको जनस्तरबाट व्यापक विरोध भए पनि सरकारको तर्फबाट एक शब्द बोलिएको सुनिएन । उल्टै सरकारका सञ्चारमन्त्री आफै (जसले प्रवक्ताको जिम्मेवारी समेत समालेका थिए) नाकाबन्दी होइन, भएको छैन र त्यस्तो भन्न, लेख्न हुँदैन भन्ने उर्दी जारी गर्न पुगे ।

यसको प्रत्यक्ष मारमा पंक्तिकार र द राइजिङ नेपालका तत्कालीन प्रधान सम्पादक (हाल ड्रेनमार्कका लागि नेपाली राजदूत) परेको थियो । दैनिक सयौं समाचार र दर्जनौं लेख छाप्नुपर्ने स्थानमा हामी नै थियौं । हामी लाजले भुतुक्कै हुन्थ्यौं र आपसमा मुखामुख गर्दै यस्तो पनि हुन्छ भन्ने गथ्र्यौं । किचकिच बढ्दै गएपछि पंक्तिकारले एउटा समाचार टिप्पणी लेख्यो । यहाँ भनिएको थियो– नाकाबन्दीले मुलुक ठप्प छ । कच्चा पदार्थको अभावमा कति उद्योग बन्द भएका छन्, कति भरे हो कि भोलिको अवस्थामा पुगेका छन् । बजारमा समानको हाहाकार छ । औषधिसमेत पाइन छाडिसकिएको छ । अक्सिजन सिलिन्डरको अवस्था त्यस्तै छ । ग्याँस र तेलका ट्याङ्कर सिमानामै रोकिएका छन् । कागतको अभावमा ठूला मिडिया हाउसहरूसमेत पेपरको पाना घटाउन थालिसकेका छन् । तैपनि नाकाबन्दी होइन र छैन भन्ने हो भने नाकाबन्दी केलाई भन्ने ? कि नाकाबन्दी भन्नलाई हावा पनि छिर्न नसक्ने अवस्था सिर्जाना हुनुपर्छ भन्न खोजिएको हो ?’ लिखित दस्तावेज हो अहिले पनि सो टिप्पणी गोरखापत्रको पानामा सुरक्षित छ । विश्वास नलागे त्यतिबेलाको गोरखापत्रको पाना पल्टाएर हेर्न सक्नुहुन्छ ।

अर्को यस्तै एक घटना पनि उत्तिकै स्मरणीय छ । भारतले नाकाबन्दी गरेपछि नेपाली टेलिभिजनहरूले स्वतः स्फूर्त रूपमा भारतीय च्यानलहरू बन्द गरे । यसबाट सबैभन्दा बढी ग्रामीण भेकका गृहिणीहरूले राहत पाएका रहेछन् । च्यानल हुँदा पुरुषहरू टेलिभिजनमा झुन्डिने भएकाले घरका काम गृहिणीले भ्याउनुुपर्दो रहेछ । च्यानल बन्द भएपछि पुरुषहरूले पनि घरको काम सघाउन थालेकाले गृहिणीहरूले राहत महसुस गरेका रहेछन् । यसबारे एक दिन गोरखापत्रको सातौं पेजमा ‘च्यानल बन्द हुँदा जनता खुसी शीर्षकमा समाचार छापियो तर समाचार छापिनु के थियो बिहानैदेखि मन्त्रालयबाट फोनको पर्रा छुट्न थाल्यो । कहिले कोही बोल्थे कहिले कोही । आखिर जो बोले पनि सबैको उद्देश्य थर्काउनुहुन्थ्यो । भन्नु पनि भने नभन्नु पनि भने । तपाईंहरूले गर्न खोज्नुभएको के हो ? गोरखापत्रको स्टाप भएर गोरखापत्रकै लाइन थाहा छैन ? थाहा छैन भने आउनुस् हामी सिकाइदिन्छौं । आफ्नै विभागीय मन्त्रीलाई अप्ठ्यारोमा पार्ने समाचार छाप्नुको उद्देश्य के हो ? यस्तैयस्तै केके हो केके । जबकि तिनै मन्त्री सत्ताबाट बाहिर हुनासाथ एक पाइलो अगाडि बढेर भारतको विरोध गर्न थाले । एकपट भारतीय मिडियालाई यति हकारे कि अहिलेसम्म पनि त्यसैलाई भजाएर नाका ठाडो पार्दै छन् ।

त्यसैले नेपालका कोही पनि नेताले सत्तामा हुँदा भारतीय हेपाहा प्रवृत्तिको विरोध गर्छन् वा गर्न सक्छन् भनेर  कोही पनि भ्रममा नपरौं  । यस्तो ठान्ने गर्नुभएको छ भने मान्नुस् तपाईं ठूलै भ्रममा हुनुहुन्छ । हालको प्रधानमन्त्रीको अन्तर्वार्ता पनि त्यस्तै हो । उनले जे बोलेका छन् सके उतैबाट बोल्न लगाइएको हुनुपर्छ होइन भने राम्रो ठाने हुन्छ राम्रो अभिनय गरिरहेका छन् । यहाँ व्यक्ति, पाटी वा यो र ऊ भन्ने कुरै छैन । आखिर जो भए पनि सबैले गर्ने यही हो । विगतमा पनि यस्तै भएको थियो । अहिले पनि यस्तै भइरहेको छ र सम्भवतः भोलि पनि यस्तै हुनेछ । सबमा चेतना भया !  

प्रकाशित: ५ माघ २०७७ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App