पवित्रा दाहाल
– ए नयन आज त स्कुल जाने दिन कति रमाइलो होला हगि ? नयनकी दिदी नयनाले भनी ।
–यो कोरोनालाई त धन्यवाद दिनुपर्छ । स्कुल जान नपरेर क्या मजा भएको थियो । मलाई चाहिँ स्कुल जान मन छैन है दिदी । घरमा बसेर मोबाइलमा गेम खेल्न पाउदा कति आनन्द आएको थियो । ह्या फेरि दिनभर एकैठाउँमा बसेर पढ्नुपर्ने भयो । नयनले भन्यो ।
नयनाले किताब मिलाउँदै भनी – आज त बिहीबार हो । तिमीहरूको कक्षामा दुई पिरियड गेम हुन्छ हैन र ?
– हो त नि ! लल दिदी म पनि स्कुल जान छिटै तयार हुन्छु । तर, दिदी लुगाचाहिँ के लगाएर जाने ? स्कुलको लुगा त ठिक नै हुँदैन । जे लगाए पनि हुन्छ ?
– हुन्छ होला । म आमालाई सोध्छु पख् है ।
– स्कुल लागे पनि पीर नलागे पनि पीर । उफ् ! यी केटाकेटीलाई कसरी जोगाउने होला यो कोरोनाबाट । आमा लुगा धुँदै एक्लै फत्फताउँदै थिइन् ।
नयना दौडदै आमानजिकै गएर सोधी– आमा, हामी कुन लुगा लगाएर स्कुल जाने ?
– भर्खर त आठ बज्यो । घरछेउको स्कुल जान पनि कति हतार गरेकी । पख न यति लुगा पखालेर म आउँछु । किताब मिलाऊ । भाइलाई हातमुख धुन भन । तिमीहरूका मोजा कताकता छन्, खोज्दै गर जाऊ । स्कुल जाने लुगा म ठिक पारिदिउँला ।
नयना स्कुल जाने भनेर निकै खुसी थिई । ऊ आफ्नो कोठामा गएर किताबकापी व्यागमा राखी । स्यानिटाइजर पनि व्यागमा राखी ।
चिसो हात पुस्दै आमाले भन्नुभयो – कसैको खाजा नखानू र आफ्नो पनि खाजा साथीहरूलाई नदिनू । कक्षामा पनि छुट्टाछुट्टै बस्नू । स्यानिटाइजर बेलाबेलामा लगाउनु ।
आमाले दराज खोल्दै भन्नुभयो – ल यो ट्याकसुट सेट लगाऊ अनि टोपी पनि लगाऊ जाडो छ । थर्मसमा मन तातो पानी हाल्दिएकी छु । त्यो पनि व्यागमा राख ।
– ह्या , आमा म त टोपी लगाउँदिन । छ कक्षामा पढ्ने भइसकेँ । के बच्चाको जस्तो टोपी लगाउनु । नयनले आमालाई भन्यो ।
–यो कोरोनाको समयमा त विशेष ख्याल गर्नुपर्छ । त्यस्तो भन्न हुँदैन छोरा ।
नयन र नयना दुवैले आमाले भनेझैँ गरी जुत्ता मोजा, लुगा र टोपी लगाए अनि खाना खाएर स्कुल गए ।
स्कुलमा आधा घन्टा अगाडि नै सबै विद्यार्थी र शिक्षक पुगिसकेका थिए । सबैको अनुहारमा झलमल्ल घाम लागेझै उज्यालो भएको थियो । धेरैपछि साथी भेट्न पाएर सबै दङ्ग थिए ।
आफू पढ्ने नयाँ कक्षाकोठा खोज्दै नयन छ कक्षामा गयो । नयना सात कक्षामा गई ।
कक्षामा त सबैको नाम सिट सिटमा टाँसिएको रहेछ । आफ्नो नाम टाँसेको बेन्चमा व्याग राखेर नयन र नयना आफ्ना साथी खोज्न थाले।
नयनले भने एक पेज कापी ध्यार्र च्यातेर पुच्छर बनाउन भ्याइसकेको थियो । नयन निकै छुकछुके स्वभावको थियो । त्यसमाथि पनि यतिका महिनासम्म स्कुलमा छुकछुक गर्न पाएको थिएन । सनमको पछाडि बिस्तारै गएर नयनले पुच्छर हाल्दियो । उसले पुच्छरमा ‘कोरोना भगाउने पुच्छर’ भनेर लेखेको थियो ।
टिनिनिनि घन्टी बज्यो । सबै कक्षातिर लागे । सनमको पछाडि पुच्छर देखेर सबै गलल्ल हाँसे ।
अमनले भन्यो– सनमको पछाडि कोरोना भगाउने पुच्छर रहेछ । हा ! हा !
सनमले फर्केर हेरयो र आफूलाई पुच्छर कस्ले हाल्दियो भनेर रिसायो ।
सनमले रुँदै भन्यो – आमाले कसैलाई पनि छुनु हुँदैन । कोरोना लाग्छ भन्नुभएको थियो । अब मलाई कोरोना लाग्छ होला हुँहुँ ।
सनम अल्लि सुस्त थियो । त्यसैले ऊ सानो सानो कुरामा रिसाउने र रुने गथ्र्यो ।
पहिलो पिरियडमा विज्ञान पढाउने पलक सर आउनुभयो । उहाँले सनमलाई रोएको देखेर सोध्नुभयो– के भयो सनम ?
कक्षाका सबैले एकैस्वरमा भने – सनमलाई कसले कोरोना भगाउने पुच्छर हालिदिएछ सर ।
नयनले रमाइलाका लागि पुच्छर हालेको थियो । साथी यसरी ह्वाँह्वाँ रोला भन्ने उसले सोचेकै थिएन । उसलाई पनि निकै नरमाइलो लागेको थियो । ऊ अँध्यारो मुख लगाएर बसेको थियो ।
पलक सर एकछिन त अचम्ममा पर्नुभयो । उहाँले सोध्नुभयो – कोरोना भगाउने पुच्छर कसले आविष्कार गरेको हो ?
कोही पनि बोलेनन् । तर, पछाडिको बेन्चबाट मसिनो बनावटी स्वर निकालेर अमनले वैज्ञानिकले सर भन्यो । फेरि कक्षामा सबै गलल्ल हाँसे । नयन पनि मुसुक्क मुस्कुरायो । सनम पनि रुन छोड्यो ।
सनमले उठेर सरलाई सोध्यो– मलाई साँच्चै कोरोना लाग्दैन त सर ?
नयनले आफ्नो व्यागको स्यानिटाइजर देखाउँदै भन्यो– ल हात थाप अब । यसले तिमीलाई कोरोना लाग्दैन ।
सनमले पनि हात थाप्यो र स्यानिटाइजर हातमा लगायो । अनि ऊ ढुक्क भयो ।
अत्यन्त छुक्छुके नयनको व्यवहार देखेर पलक सरलाई नयनलाई धाप मार्दै स्यावासी दिन मन थियो । तर, कोरोनाको डरले टाढैबाट नयनलाई स्याबासी दिनुभयो ।
सनमलाई सरले राम्रोसँग कुरा बुझाउनुभयो र ऊ शान्त भयो ।
–म गाली गर्दिनँ । कोरोना भगाउने पुच्छर भनेर कस्ले लेखेको हो भन ? अहिले छ कक्षामा नै यस्तो सोच्ने मानिस त ठूलो भएपछि वैज्ञानिक बन्छ । अब भन त यो कक्षाको महान वैज्ञानिक को हो ?
नयन हाँस्दै जुरुक्क उठ्यो र सनमलाई भन्यो– सरी, ल सनम मैले त रमाइलोका लागि मात्र पुच्छर हालेको थिएँ ।
फेरि पलक सरतिर फर्केर भन्यो –सरी सर, अबदेखि साथीलाई पुच्छर हाल्ने काम गदिनँ । कोरोना भगाउने पुच्छर लेखेको मैले नै हो सर ।
–नयन बस । अबदेखि साथीहरूको विचार बुझेर मात्र जिस्किनुुपर्छ । अरूलाई दुःख दिने काम गर्नु हुँदैन ।
अब राम्रोसँग पढेर कोरोना भगाउने पुच्छर पनि बनाउपर्छ । शरीरलाई हानि गर्ने भाइरसलाई धपाउनु पनि पर्छ है त भन्दै मुसुक्क हाँस्नुभयो।
सबै जना मुसुक्क हाँसे । सरले भाइरसको पाठ पढाउन थाल्नुभयो ।
प्रकाशित: ४ माघ २०७७ १०:०० आइतबार