२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

प्रेरणादायी जीवनकथा

पुस्तक

जीत गुरुङ

मेरो आफ्नै गाउँ ताङतिङ निवासी, हिमालय मिलन माध्यमिक विद्यालय, कास्कीका ‘प्रधानाध्यापक’ प्रकाश गुरुङद्वारा लिखित ‘ताङतिङ मेरो गाउँ’ पुस्तक प्रकाशन भएको छ। यस सत्कार्यका लागि उनलाई धेरैधेरै बधाई तथा शुभकामना!  

बुबा बेलायती सेनामा कार्यरत हुँदा मलेसियामा जन्मेर ताङतिङ गाउँमै हुर्केका र प्रारम्भिक शिक्षा पनि गाउँबाटै सुरुवात गरेका प्रकाशले माध्यमिक तहको शिक्षा भने छिमेकी गाउँ सोंधाबाट प्राप्त गरेका हुन्। त्यसपछि उच्च शिक्षा हासिल गर्न उनी पोखरा झरे। उनले शिक्षा प्राप्तिका लागि अनेक खाले चुनौती सामना गर्नुपरेको थियो। उनले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा र कोरियास्थित युगनाम विश्वविद्यालय पार्क चुङ हि स्कुल अफ समुल एन्ड पोलिसीबाट समुदायको नीति, नेतृत्व र आर्थिक विकासमा स्नातकोत्तर गर्न सफल भएकोमा पनि मलाई धेरै खुसी लागेको छ।  

गुरुङ समाज अनि ‘लाहुरे’ पृष्ठभूमिमा जन्मेहुर्केर पनि प्रकाशले मुग्लान पस्नुको सट्टा गाउँ फर्केर त्यही गाउँ र गाउँलेको सेवा गर्ने अठोट गरी शैक्षिक र सामाजिक विकासमा जवानी बिताएका छन्। यो उनको महानता हो। आफूसँगै खाईखेली हुर्केका कति दौतरीहरू ‘लाहुरे’ भएर फर्केपछिको ‘रवाफ’ले उनलाई केही असर पारेन र विचलित पनि भएनन्। आफैं पढेको विद्यालयमा सहायक शिक्षकका रूपमा पढाउन थालेका प्रकाशलाई छोटो समयमै त्यही विद्यालयको प्रधानाध्यापक हुने मौका जुर्‍यो, जुन जिम्मेवारी उनले निरन्तर सफलताका साथ सम्हालिराखेका छन्।

उनको कडा मेहनत अनि कुशल नेतृत्वका कारणले हिमालय मिलन विद्यालय, नि.मा.वि.बाट मा.वि. स्तरको पढाइ सञ्चालन गर्न सफल भएको छ। विद्यालय र गाउँको विकासका लागि उनले विभिन्न व्यक्तित्व र संघसंस्थासँग राम्रो सम्बन्ध राखी ताङतिङ गाउँको विकासका लागि प्रशस्त सहयोग जुटाउने पनि काम गरेका छन्। जस्तैः पाहार ट्रस्ट युके, जसले विद्यालय भवन निर्माणदेखि लिएर दैनिक सञ्चालन र मर्मत कार्यमा सहयोग गरेको छ। त्यस्तै, आइल अफ म्यानका एक जना प्रधानाध्यापक जोन रेलीले विद्यालयको छात्रावास बनाइदिएका छन्।  

आफ्नो मातृभूमिलाई माया गर्ने संसारभर छरिएर रहेका ताङतिङेहरूसँग नियमित सम्पर्कमा रहेर उनीहरूबाट ताङतिङका लागि सहयोग जुटाउने काम पनि उनले गरेका छन्। नेदरल्यान्डको युनिका फाउन्डेसनसँगको मित्रताले गाउँमा खानेपानीदेखि लिएर अन्य धेरै सहयोग प्राप्त भएको छ । उनकै पहलमा कोरियन संस्था ‘नमस्ते कोरिया’ले पनि हिमालय मिलन माध्यमिक विद्यालय र गाउँलाई धेरै सहयोग गरेको छ । यसबाहेक, ताङतिङ मितेरी संघ युके, मितेरी स्कुलहरू सेन्ट थोमस स्कुल, आइल अफ म्यान र मेडस्टन ग्रामर स्कुल फर गल्र्सबाट पनि गाउँको विद्यालयका लागि सहयोग जुटाउन उनले प्रमुख भूमिका खेलेका छन्।

न्यूयोर्कस्थित गुरुङ समाजबाट पनि प्रकाशको मातहतमा स्कुललाई राहत मिलेको थियो। प्रकाश शिक्षा क्षेत्रका साथै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छन्। जस्तैः कास्की रेडक्रससँग आबद्ध भएर दैवी प्रकोपका बेलामा धेरै पीडितको घाउमा मलम लगाउने काम गरेका थिए। हाल उनी पर्यटन विकासलाई टेवा पुर्‍याउन ‘जाऊँ जाऊँ ताङतिङ’ भन्ने अभियानमा लागेका छन्। उनकै पहलमा सिएफपी ग्रिन विल्डिङ नेदरल्यान्डले ताङतिङको ग्रामीण पर्यटनलाई ठुलो सहयोग मिलेको छ।  

उनको काम र सेवाको सही मूल्यांकन गर्दै विभिन्न सरकारी तथा गैरसरकारी निकायले उनलाई सम्मान तथा पुरस्कृत गरेका छन्। उनले राष्ट्रिय शिक्षा पुरस्कार पाइसकेका छन् भने जिल्ला शिक्षा समिति, कास्कीबाट सम्मानित भैसकेका छन्। उनी ब्रिटिस काउन्सिलको निमन्त्रणामा बेलायत भ्रमणमा र सेमिनारमा भाग लिन कोरिया पुगेका थिए। साथै कोरियामा उच्च शिक्षाका लागि छात्रवृत्ति पाउन सफल प्रकाशले ‘ताङतिङ मेरो गाउँ’ पुस्तकमा आफूले भोगेका कथाव्यथा, गाउँघरको जीवनी र दिनचर्या प्रष्टसँग प्रस्तुत गरेका छन्। 

उनको बाल्यकालका दिनचर्याहरू र स्कुले जीवनका चाखलाग्दा अनुभवहरु पस्केका छन्। जुन अनुभव भविष्यका सन्ततिका लागि धेरै ज्ञानवद्र्धक सावित हुनेछन्। आफ्नो विदेश भ्रमण र बसाइँहरूबाट पाठ सिकेर गाउँको विद्यालय र गाउँ विकासमा लागु गर्न लेखक सफल भएका छन्। उदाहरणका लागि मेडस्टन ग्रामर स्कुल फर गल्र्स र ताङतिङ मितेरी संघ युकेका स्कुलबाट प्रयोगात्मक शिक्षाको विषयमा प्राप्त ज्ञान वा पढाउने विधिहरू स्कुलमा लागु गरेर शैक्षिक क्षेत्रमा भिन्दै तवरमा फड्को मार्न सफल भएका छन्। त्यसैगरी कोरियाको नयाँ गाउँ अभियानबाट सिकेको ज्ञानहरूबाट गाउँ विकासमा टेवा मिल्ने निश्चित छ।

यो पुस्तक पढेपछि नेपालका विकट गाउँघरको दिनचर्या, त्यहाँको सामाजिक तथा आर्थिक गतिविधि र उनीहरूले भोग्नुपरेका समस्या तथा चुनौतीका साथै प्रशस्त मौकाहरूका बारेमा छर्लङ्ङ हुन्छ। तसर्थ यो पुस्तक स्कुल तथा कलेजस्तरका विभिन्न संकाय (ग्रामीण विकास, शिक्षा, मानवशास्त्र, पर्यटन, वातावरण, म्यानेजमेन्ट)का विद्यार्थीका लागि सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ।

(हिमालय मिलन मावि, ताङतिङ कास्कीका प्रधानाध्यापक ओमप्रकाश गुरुङको पुस्तक ‘ताङतिङ मेरो गाउँ’ शनिबार पोखरामा बिमोचन हुँदैछ।)  

प्रकाशित: २ माघ २०७७ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App