धनराज गिरी
कल्पना लोकमा काव्यको धाममा
अर्चना वन्दना सिर्जना गाममा
ज्ञानले ध्यानले शुद्ध होस् कल्पना
पूर्ण प्रज्ञा बनी बुद्ध होस् कल्पना
नाममा देशको लोक आलोकको
कल्पना सिर्जना दैवको तोकको
भावना कर्ममा हेर्न पाए सखा
रीत यो लोकको फेर्न आए सखा
सत्य होस् कल्पना सोच यो दृष्टि यो
भित्रको भाव यो चाह यो सृष्टि यो
कल्पना वागको कल्पना फूलको
कल्पना प्रीतको प्रेमको मूलको
वासमा दीनको अर्थ होस् कल्पना
साथ पाए दुखी मुस्कुराए घना
नीर होस् कल्पना प्यासमा आमको
खीर होस् कल्पना भोकमा गामको
स्वैर यो कल्पना व्यर्थ लाग्ने सदा
पीरमा आमको दूर भाग्ने सदा
निर्विषा कल्पना हो सुधा कल्पना
ज्योति हो कल्पना हो उषा सिर्जना
व्योम हो कल्पना जून हो घाम हो
आखिरी कष्टमा कृष्ण हो राम हो
हो नदी कल्पना सिन्धु हो प्रीतको
राग हो कल्पना मूर्च्छना गीतको
कल्पना बोटमा वृक्षमा पालुवा
कल्पना चित्तमा स्वर्ण हो बालुवा
नेत्र हो कल्पना सूक्ष्म आलोक यो
जिन्दगी कल्पना दिव्य सन्तोष यो।
प्रकाशित: २३ पुस २०७७ ०६:०७ बिहीबार