३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

आयो ताङतिङ चिनाउने पुस्तक

शिक्षकको अनुभव

पर्यटकीय नगरी पोखरा नजिकैको ग्रामीण पर्यटन केन्द्र ताङतिङ  चिनाउने एउटा पुस्तक ‘ताङतिङ मेरो गाउँ’ प्रकाशित भएको छ। स्थानीय हिमालय मिलन माविका प्रधानाध्यापक एवं पर्यटन अभियन्ता ओमप्रकाश गुरुङले पुस्तक लेखेका हुन्।

उनको संस्मरणात्मक पुस्तकमा ताङतिङको प्रकृति, संस्कृति, जीवनशैली, विकासक्रम र जनजीवनका विषयमा लेखिएका तीस ओटा निबन्ध छन्। उनले लाहुरे संस्कृति, ग्रामीण जीवनका सुखदुःख र गाउँ विकासका कथा सरल भाषामा मिहिन ढंगले उठान गरेका छन्। 

आफ्नो श्रम, सीप र विवेकबाट स्वदेशमै सुन फलाउन सक्रिय गुरुङको  जीवनकथा प्रेरणादायी छ। उनको कथा पढ्दै जाँदा समग्र ताङतिङको चिनारीसँगै गुरुङ संस्कृतिको सुवासमा रमाउन सकिन्छ।

उनको पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुनेमा राजनैतिक विश्लेषक एवं लेखक झलक सुवेदी आशावादी छन्। पुस्तकमा उनले लेखेका छन्, ‘यो पुस्तक मादी गाउँपालिकाका विद्यालयको सामाजिक शिक्षा विषयमा रिफ्रेन्स बुकका रूपमा अध्ययन गर्न लगाउनु एकदमै राम्रो हुन्छ। यो नयाँ पुस्ताका लागि प्रेरणादायी पुस्तक बन्नेमा म विश्वस्त छु।’    

पुस्तकमा समेटिएका गुरुङका यी निबन्धहरू नागरिकन्यूज डटकमसहित विभिन्न डिजिटल पत्रिकामा प्रकाशित भैसकेका छन्।

छिट्टै पोखरामा पुस्तकको विमोचन गरिने गुरुङले बताए। ‘ताङतिङ मेरो गाउँ’ उनको पहिलो कृति हो, दोस्रो कृति ‘हर्कजङ गुरुङ’ पनि प्रकाशित भैसक्यो। 

यस पुस्तकको प्रकाशक नेत्रकुमारी गुरुङ हुन्। पुस्तकको अन्तिम खण्डमा रंगीन तस्बिरहरू समेटिएको छ। यसको मूल्य ३ सय रुपैयाँ राखिएको छ।  

प्रकाशित: २३ पुस २०७७ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App