३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

भेटिएकी आमा

लघुकथा

सीता विष्ट कार्की  सीविका

 

कलेजबाट घर जाने बेलामा भूमिकाले जस्मिनालाई भनी – म तिमीलाई एउटा प्रश्न सोधु है  आज ।

ऊ झस्की । एकोहोरो के सोच्दै थिई । ऊ नसुनेजस्तो गरी । के भन्यौ भूमिका ?

– ए तिमी बिहे कहिले गर्छौ भनेर सोधेको । भूमिकाको प्रतिउत्तरमा  मलाई बिहे गर्ने मन छैन । ल बिहे गरेर मात्रै हुने भए त ठिकै थियो । दश महिनासम्म पेटमा बच्चा राखी  प्रशव पीडा सहेर बच्चा पाउनु ,हुर्काउनु र असल मान्छे बनाउनु  सजिलो छ र ।

– यो त महिलाका लागि प्रकृतिको बहुमूल्य उपहार हो भन्ने संझनुपर्छ जस्मिना । भुमिकाले भनी – सबै महिलाले यस्तै सोचे भने के होला संझ त ?

यो जुनीमा विहा गर्छु जस्तो त लाग्दैन । अर्को कुरा मलाई स्वतन्त्र हुन मनपर्छ । आकाशमा उडने पन्छीहरूको जीवनजस्तै । लल अरु तिम्रा कुरा पछि सुनौला ,जस्मिना ।  अहिले म छुट्टिए है ।  यस्को उत्तर मैले होइन समयले दिनेछ । समयसंग शक्ति हुन्छ ।

पढेर भ्याएको केही समयपछि जस्मिनाले एउटा बालविकास सम्बन्धी विदेशी प्रोजेक्टमा काम सुरु गरी। सधै ऊ हिँड्ने शहरको गल्लीमा  एकदिन उसले  भोकले छ्टपटाइरहेको बालकहरुको कारुणिक दृश्य  देखेपछि पहिलोपटक ऊ निकै भावुक बनेकी थिई ।

विष्णुमती नदीको किनारमा गएर एकछिन टोलाइरहेकी जस्मिनाले फेरि त्यस्तै  नदीमा माटो खेलाइरहेका एक हुल बालकहरूको  निन्याउरो अनुहार देखेपछि त झन्  मन चसक्क भयो । कलेटी परेको ओँठ,  हिलाम्मे  हातखुट्टाहरू , चाउरिएका भोको पेट र  धुँवा र धुलोले पोतिएको अनुहार ।

एकोहोरो टुलुटुलु हेरिरहेका छ्न् ऊतिर  । त्यो अबोध हेराई र लवजले जस्मिनाको मन जोडले तान्यो , हेर्दाहेर्दै  ती अबोध आँखाहरुमा देशको हराइरहेको नक्शा देखी । देशका खम्बा हुन् भन्ने संझी ।

किन यसरी बेवारिस बनाएका ? किन कमजोर बनाएका ? किन भोको बनाएका ? कहाँ गए यिनका आमाबाबुहरू खचाखच प्रश्नह भरिए।

यो कारुणिक दृश्यले  एक्कासि उसमा मातृत्व भाव छ्चल्किएर आयो । उनले आफ्नो भएभरको जायजेथा बेचेर  अनाथ आश्रम खोली ।  ती भोका र बेवारिस सन्तानको  आमा बन्ने निर्णय गरेपछि भुमिकालाई फोन  गर्दै भनी – साँच्चै भुमिका, समय शक्तिशाली हुँदो रहेछ ।  हजारौ अनुत्तरित प्रश्नको जवाफ समयले नै दिँदोरहेछ  ।

प्रकाशित: २० पुस २०७७ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App