नवराज रिजाल
वसन्ती बिहान पाँच बजे उठी । उसको दैनिक उठ्ने समय नै यही हो । कसैले सम्झाइरहनु पर्दैन । पहिले नित्यकर्म गर्छे । त्यसपछि अन्य काममा ध्यान जान्छ ।
“बन्दाबन्दीले हाम्रो दैनिक क्रियाकलापमा सामान्य प्रभाव पारेको छ ” बा आमाले कुरा गरेको सुनेकी छे ।
बन्दाबन्दीदेखि नै विद्यालय जान पाएकी छैन । साथीहरूसँगको भेटघाट र कुराकानी पनि पूर्ण रूपमा बन्द छ । घुमफिर गर्ने काम पनि रोकिएको छ । तर अन्य काममा खासै प्रभाव परेको छैन । उसको पहिले दैनिकी जसरी चल्थ्यो अहिले पनि त्यसैगरी चलिरहेको छ । साथीहरूसँग टेलिफोनमा बेलाबेलामा कुराकानी हुन्छ । आआफ्ना अनुभव साटासाट गर्छन् ।
बिहान आमासँगै भान्छामा बस्छे । उहाँले गरेका काम कुरा ध्यानपूर्वक हेर्छे । कतिपय कामकुरामा सघाउँछे पनि । उहाँले गरिरहनु भएका काम पनि गर्न मन लाग्छ । तर मुख खोलिहाल्न सक्दिन । परे गर्न सक्छु भन्ने आँट बिस्तारै पलाउँछ । आमाले गरेका धेरै भन्दा काममा सहभागी बन्छे । बन्दाबन्दी अवधिको बिहानबेलुकै आमासँग बितिरहेको छ । र मनमा रमाइलो पनि लागिरहेछ ।
हिजो बेलुका त भान्साको सबै काम एक्लै गरी । आमाले पर बसेर हेर्नुभयो । सोधेको कुरा एकएक गरेर बताउनुभयो । उसले पनि अलमलिएको कुरा मात्र सोधी । अन्य काम खुरुखुरु गरी । आमाले मुसुमुसु हाँसेर हेरिरहनु भयो ।
उसले पकाएको खाना खाएपछि हजुरबा, हजुरआमा र बा दङ्ग पर्नुभयो । आमा, बहिनी र भाइ पनि खुसी भए ।
“एकदिन त म पनि दिदीले जस्तै पकाउँछु ” बहिनीले भनी ।
“ म पनि पकाउँछु के ” भाइले थप्यो । सबैजना हाँस्नुभयो । “लल कसले कति मीठो पकाउँछ हामी पनि पालैपालो खाउँला ” हजुरबाले हाँस्दै भन्नुभयो ।
उसले विद्यालय जाने समयमा घरै बसेर पढ्ने तालिका बनाएकी छे । कक्षा दश बजेदेखि एक बजेसम्म चल्छ । घरको कक्षामा विद्यालयका किताब पढाइ हुँदैनन् । विद्यालयको किताब ती बिहानबेलुका समय मिलाएर पढ्छन् ।
तीनैजना दिदीभाइ ठीक समयमा घरको कक्षाकोठामा छिर्छन् । उनीहरूको पढ्ने स्थान बैठक कोठा हुन्छ । बैठकमा टिभी छ । कम्प्युटर छ । क्यारेम बोर्ड छ । चेस छ । लुँडो छ । गीतार छ । हारमोनियम छ । मादल छ । उनीहरूको ध्यान नियमित कक्षा सकिएपछि मात्र ती कुराहरूतिर जान्छन् ।
पढ्ने कोठामा सात जनाले पालैपालो पढाउँछन् । विद्यार्थीहरूको संख्यामा पनि सात जना नै हुन्छ । पहिलो घण्टी हजुरबाले पढाउनुहुन्छ । उहाँ उहाँको हजुरबा , हजुरआमा , बा र आमा कस्तो हुनुहुन्थ्यो । पहिलेका मानिस कस्ता थिए । के गर्थे । कस्तो खान्थे । कस्ता लुगा लगाउँथे । कसरी हिँड्थे । त्यो बताउनुहुन्छ । तिनीहरूले धेरै कुरा उहाँबाट सुनिसकेका छन् ।
त्यसपछिको पालो हजुर आमाको हुन्छ । उहाँ आफ्नो हजुरबा, हजुरआमा, बा र आमा कस्तो हुनुहुन्थ्यो । उहाँले सानो उमेरमा केके गर्नु भयो । पढ्नु भयो कि भएन । त्यति बेला कस्ता स्कुल हुन्थे । कस्तोकस्तो खेल खेल्नुहुन्थ्यो । साथीहरू कस्ता थिए । कहाँकहाँ घुम्नुभएको छ, काम कसरी सिकिन्छ भन्ने बुझाउनु हुन्छ ।
अनि पालो बाको हुन्छ । बा उनीहरूको उमेरमा कस्तो हुनुहन्थ्यो । केके पढ्नुभयो । जागिर कसरी पाउनुभयो । देशको कुनकुन ठाउँ घुम्नुभएको छ । पढेर के हुन्छ । नपढ्दा के हुन्छ । सबैले किन पढ्न सक्दैनन् जस्ता कुरा सुनाउनुहुन्छ । तिनीहरूले सोधेका अन्य कुराकुराका पनि उत्तर हाँसेर दिनुहुन्छ ।
योपछि आमाको पालो आउँछ । उहाँ किन शिक्षक हुनुभयो । कतिखेर पढ्नुहुन्थ्यो । नपढ्दा गुरुले के सजाय दिन्थे । हामीले के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने बताउनुहुन्छ । ती सबैभन्दा बढी खुसी आमाको कुराबाट हुन्छन् । उहाँ पनि तिनीहरूका प्रश्नका एकएक उत्तर दिनुहुन्छ ।
त्यसपछि पालो वसन्तीको आउँछ । ऊ पनि आफूले पढेका, सुनेका र जानेका कुरा सुनाउँछे । नबुझेको कुरा सोध्छे । अनि के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ हजुरबा , हजुरआमा , बा र आमासँग पालैपालो सोध्छे ।
भाइबहिनीको पालो पनि आउँछ । तिनीहरू पनि विद्यालय जाँदा देखेका र सुनेकादेखि अहिले घरबन्दीमा घरभित्र बसिरहँदा गरेका , बुझेका र सुनेका कुरा पालैपालो सुनाउँछन् ।
सबैका कुरा सबैले सुन्नुपर्ने नियम बनाएका बनाएका छन् । नियमलाई जम्मै जनाले बराबरी पालना गर्ने कुरा हजुरबा–हजुरआमा र बाआमाले पनि भनिसक्नुभएको छ । यसले तिनीहरूलाई खुसी तुल्याएको छ ।
“बन्दाबन्दी नखुलेसम्म यो नियम लागु हुन्छ ” हजुरआमाले भन्नुभएको छ । यो कुरालाई हजुरबा तथा बाआमाले पनि समर्थन गर्नुभएको छ । नियम आफूले बनाएकाले तिनै जना रमाएका छन् ।
हजुरबा , हजुरआमा र बाआमाले दैनिक केही न केही नयाँ सिकाउनु वा सुनाउनुपर्ने नियम छ । यसकारण पहिले कहिल्यै नसुनेका , नजानेका र नदेखेका धेरै कुरा तिनीहरूले अचेल जानेका र बुझेका छन् ।
“ तपाईहरूले यस्ता धेरै कुरा कहिल्यै बताउनुभएको थिएन। ” एकदिन वसन्तीले सबैको अगाडि मुख खोली ।
“ सँगै बसेर खाजा र खाना पनि त खाएका थिएनौँ ” बहिनीले थपी ।
“ मैले त हजुरबा र बाको काखमा बस्न पनि पाएको थिइनँ । आहा ! अहिले त कति मजा सधैँ बस्न पाइन्छ ” भाइले भन्यो ।
“ मेरो नातिले ठीक भन्यो ” हजुरबाले उसको टाउको मुसार्दै भन्नुभयो ।
“ हामीले चाहिँ ठीक भनेनौ हजुरबा ? ” वसन्तीका दिदीबहिनीले एकै आवाजमा सोधे । हजुरबाले मुसुक्क हाँस्दै उनीहरूलाई पनि आफ्नो छेउमा तान्नुभयो । भाइ काखमा र दिदीबहिनी दायाँबायाँ बसे ।
“ आहा ! कति रमाइलो ? ” भाइले भन्यो । हजुरबा हजुरआमा र बा–आमा केही बोल्नु भएन । उहाँहरू सबैका आँखा तिनीहरूतिरै थियो ।
“ स्कुल जान नपाएर के भयो त ? घरमा कति धेरै कुरा सिकियो ” बहिनीले हाँस्दै भनी ।
“ सबै राम्रो भएपछि पढ्न सकिहालिन्छ नि । अहिले कुनै चटारो छैन । हजुरबा यो बन्दाबन्दीले गर्दा मैले त धेरै कुरा सिकेँ ” वसन्तीले भनी ।
“मैले पनि हो” बहिनीले थपी ।
“ अनि मैले पनि हो नि । ओहो ! मेरो नाम त तपाईहरूले लिनु नै भएन ” भाइले ठुस्कँदै भन्यो । हजुरबा हजुरआमा र बा आमा हाँस्नुभयो ।
“ यति धेरै कुरा जान्न,बुझ्न र सिक्न बन्दाबन्दीले सिकायो । त्यसकारण उसलाई धन्यवाद दिऊँ ” बहिनीले दिदीतिर हेरेर हेर्दै भनी । वसन्तीको नजर हजुरबाहजुरआमा र बाआमातिर पुग्यो ।
“ म एउटा कुरा भनौँ ? ” भाइले हजुरबाको काखबाट जुरुक्क उठेर सोध्यो ।
“ भन न भन ” हजुरआमाले उसको हात खेलाउँदै भन्नुभयो ।
“ हुन्छ ” हजुरबाको टाउको पनि हल्लियो । बाआमा हाँस्नुभयो तर बोल्नु भएन ।
“ दिदीले भनेझैँ यस्तो खुसी र धेरै सिक्ने मौका दिने उसलाई धन्यवाद दिँदै अब कहिले पनि मानिसलाई दुख दिन नआ भनी वाइवाइ गरौँ ” भाइले प्रस्ताव राख्यो ।
“ राम्रो कुरा ग¥यो भाइले ” दिदीहरूले हाँस्दै ताली बजाए ।
“ आहुई , हा हा कति मज्जा ” भाइ पनि मज्जाले हाँस्यो ।
हजुरबाहजुरआमा अनि बाआमाले उनीहरूको खुसीलाई चूपचाप बनेर हेर्नुभयो ।
प्रकाशित: २० पुस २०७७ ०८:१५ सोमबार