किशन पौडेल
सपेराहरू
बिन फुकेर
एकोहोरो आलाप
अलापिरहेछन् ।
तिनीहरूलाई पक्कै थाहा छ
सर्पले कान सुन्दैन।
एक बटुको
दूध पिलाएर मात्र
टोकरीमा थुन्न सकिँदैन सर्पलाई
जादुमय कला चाहिन्छ नचाउन
पक्कै थाहा छ सपेराहरूलाई।
सर्प देखाएर खेलाएर
हाउगुजीको अभिनय गरेर
दर्शकहरूको मन जित्नु
सपेराहरूको व्यवसाय हो।
त्यो सर्पमा कुनै विष छैन
शक्ति क्षीण भएको छ
तर हामी डराउँदै छौँ
तिनै सर्पहरूसँग
सपेराहरूले भर्खरै
आफ्नै न्यानो ओछ्यानमा सुताएर
रमिता देखाउन ल्याएका छन् ।
प्रकाशित: २० पुस २०७७ ०६:२३ सोमबार