२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

साहित्यिक पर्यटनस्थल चुँदी रम्घा

यात्रा

प्रभा भट्टराई आचार्य

 

सबैको लागि पर्यटन  

 

पर्यटन भनेको देश विदेशमा गरिने भ्रमण वा यात्रा हो । पर्यटन अर्थात् घुमघाम मानवीय स्वभावहो । नयाँ ठाउँमा जाने, घुम्ने, त्यहाँका भाषा संस्कृति, इतिहास, चालचलनको बारेमा चाख राख्ने, त्यहाँका विशेष परिकार चाख्ने जस्ता काम हरेक देश, हरेक ठाउँ, हरेक उमेर, हरेक जातिका मान्छेले गर्न चाहन्छन् । कुनै न कुनै स्थानीय विशेषताले पर्यटकलाई तानिरहेको हुन्छ ।

व्यक्तिका रुचिपिच्छे फरकफरक ठाउँमा घुमिन्छ । नेपालमा भौगोलिक, सांस्कृतिक, साहित्यिक, ऐतिहासिक विभिन्न पर्यटकीय गन्तव्यहरू रहेका छन् । सर्वोच्च शिखर सगरमाथा लगायत अन्नपूर्ण, धौलागिरी, माछापुछ्रे, गौरीशंकर जस्ता लस्करै हाँसेर बसेका हिमालहरूले संसारलाई नै मोहित तुल्याएका छन् । वनजङ्गल र वन्यजन्तुमा रुचि हुनेहरू चितवनका जङ्गलतिर गैँडा, हात्तीसित रमाइरहेका छन् । प्राचीन सम्पदा र मठमन्दिरमा रुचि हुनेहरू काठमाडौं, पाटन र भक्तपुरतिर टहलिरहेका हुन्छन् । नेपालका प्रत्येक जिल्ला, प्रत्येक गाउँ यौटा न यौटा विशेषताले युक्त छन् र पर्यटनका निम्ति योग्य समेत छन् ।

 

भानुभक्त र चुँदी रम्घा

आजभन्दा २ सय वर्ष पुराना कवि भानुभक्त आचार्यको जन्मस्थल तनहूँ जिल्लाको चुँदी रम्घा नेपालको सबैभन्दा महत्त्वपूर्ण साहित्यिक पर्यटकीय गन्तव्य हो । नेपाली जाति र नेपाली साहित्यका निम्ति भानुभक्त आचार्य विशेष नाम हो । भानुभक्तले आदिकविको सम्मान पाएका छन्, उनी संसारभरि छरिएर बसेका नेपालीका निम्ति भाषिक र जातीय एकताका प्रतीक हुन् । भानुभक्त नेपालका राष्ट्रिय विभूति समेत हुन् । साहित्यिक रुचि भएका मान्छेहरू जसरी बेलायत पुगेपछि शेक्सपियरको जन्मघर हेर्न हतारिन्छन् त्यस्तै महत्त्वको छ, नेपालमा भानुभक्तको जन्मस्थल चुँदी रम्घा !

 

कहाँ छ चुँदी रम्घा ?

गण्डकी अञ्चल, तनहूँ जिल्ला भानु नगरपालिकामा भानुभक्तको जन्मस्थल पर्दछ । राजधानी काठमाडौंदेखि पोखरासम्म पुग्ने पृथ्वी राजमार्गको डुम्रे बजारबाट भानु राजमार्ग हुँदै भानुभक्तको जन्मस्थलसम्म पुग्न सकिन्छ । काठमाडौंदेखि झन्डै १४२ किमि मोटरबाटो र सेपाबगैँचाबाट उत्तरतर्फ ५–१० मिनेटको पैदलयात्रा गरेर भानु जन्मस्थल विकास समिति भवन र भानु संग्रहालय पुग्न सकिन्छ । सेपाबगैँचामा मोटरबाटो छोडेर सँगै बगिरहेको चुँदी खोलाको पुल तर्नासाथ हामी चुँदी रम्घाको सिमानामा टेकिहाल्छौँ । ठूलो र लाम्चिलो फाँट हिँड्दै भानु संग्रहालय पुगिन्छ ।

 

कस्तो छ चुँदी रम्घा ?

भानु संग्रहालयको परिसरमा भानुभक्तको पूर्णकदको प्रतिमा देखिन्छ । संग्रहालयमा भानुभक्तले प्रयोग गरेका विविध सामग्रीहरू (भानुभक्तको सुत्ने खाट, दौरा–सुरवाल, बिर्के–टोपी, काठका भाँडाकुँडा, भानुभक्तको हस्ताक्षर इत्यादि) जस्ताका तस्तै राखिएका छन् । त्यही भवनमा भानु पुस्तकालय पनि छ, यहाँ भानुभक्त सहित अन्य धेरै लेखकका पुस्तकहरू रहेका छन् । सँगै भानु विद्यापीठ नामक विद्यालय पनि रहेको छ । त्यहाँ वरपर गाउँका थुप्रै केटाकेटी पढ्छन् । तर यो चुँदी रम्घाको बेसी हो, जहाँ पछि मात्रै मान्छेहरू बस्न थालेका हुन् । पहिले त औलोको डरले माथि गाउँमा बस्ती थियो जहाँ भानुभक्त जन्मेका थिए ।

त्यहाँबाट भानुभक्तको घरसम्म पुग्न  १ घण्टा जतिको रमाइलो पैदलयात्रा  गर्नुपर्छ । जङ्गलको बीचमा उकालो बाटो ढुङ्गाका खुट्किलाहरू उक्लिँदै, विभिन्न वन्यजन्तु र चराहरूका मीठो आवाज, जङ्गलमा घाँसदाउरा गर्नेका सुरिला स्वर सुन्दै–सुन्दै  धर्मशाला (भानुभक्तको घरको भग्नावशेष ) पुग्न सकिन्छ, जुन ठाउँमा भानुभक्त सिनेमाको सुटिङ भएको थियो । अहिले त्यहाँ भानुभक्तलाई सम्झाउने संरचनाहरू बन्दै पनि छन् ।

अझ अलिकति उकालो हिंडेर भानु कुवा (रम्घा पँधेरो) र अझै अलिकति माथिभानु संस्कृत निमावि र भानुभक्तको अर्धकदको  सालिकसम्म पुगिन्छ । जुन साहित्यिक तीर्थस्थल नेपालका सबैजसो ख्याति प्राप्त साहित्यिक महारथीहरूले दर्शन गरिसकेका छन् । यहाँबाट चारैतर्फ देखिने रमणीयस्थलहरूको अवलोकनले यो एउटा राम्रो प्राकृतिक दृश्यावलोकनको गन्तव्य समेत हुनसक्ने देखिन्छ ।

चुँदी रम्घा

 

कस्तो छ चुँदी रम्घाको संस्कृति ?

चुँदी रम्घा वरिपरि रमाइला गाउँहरूले घेरिएको छ । दोरदोर, खातीथोक, बारिफाँट, महिबल, तिलाहार, वसन्तपुर, सिम्पानी टुहुरेपसल, तनहुँसुर, ओक्लाङ्, स्याउलीबजार इतयादि त्यस्ता गाउँ हुन् । त्यहाँका सबैजसो गाउँसँग भानुभक्तकाबारे कुनै न कुनै कहावत छन् । बाहुन, क्षेत्री, नेवार, गुरुङ, मगर, भाट, कुमाल, सार्की, कामी, दमाई, जस्ता विविध जातजाति र तिनको संस्कृति यहाँको साझा संस्कृति हो । चुड्का, कौरा, असारे गीत, दाइँ गीत, ठाडो भाका, तीज, रत्यौली, लाखेनाच, बालुन, भजन इतयादि यहाँका लोकसंस्कृति हुन् । डोको, नाम्लो, ढक्की, डालो, नाङ्लो, गुन्द्री जस्ता सीपमूलक काममा यहाँका मान्छेहरू पोख्त छन् ।

चुँदी रम्घाका वरपर गाउँहरूमा पर्यटकहरूका निम्ति होम स्टे (घर–घरमा बास) को व्यवस्था समेत हुन थालेको छ । पोखरा जाँदा डुम्रे बजार देख्नेबित्तिकै चुँदी रम्घालाई संझनु है ! के भन्न सकिन्छ र ?  एकपल्ट त्यहाँसम्म पुम्ने  तारतम्य मिलिहाल्छ कि?

प्रकाशित: २५ मंसिर २०७७ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App