२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

पलायन

लघुकथा

लक्ष्मी पोखरेल  

 

सवारी दुर्घटनामा श्रीमान् र किशोरी छोरीको मृत्युले आहत भए पनि दुखजिलो गरी पढाएको छोरोले दश कक्षाको परीक्षामा निकै राम्रो गरेपछि विनाले जीवनको यो कालमा अलिक सन्तुष्टिको सास फेर्न पाएकी थिइन् । तर यो क्षणिक मात्र रहन पायो । परिवारमा बाँचेको त्यै एक्लो छोराले पनि उच्च शिक्षाका लागि शहर जाने अड्डी कस्न थाल्यो । जति नै सम्झाए –बुझाए पनि उसैले जित्यो ।

छोराले बाह्र नसकुन्जेल विनाका आधी सास गाउँ– शहर भइरह्यो । बाह्रमा पनि छोरा राम्रै अङ्कले उत्तीर्ण भएपछि विनाले सोचिन् – अब दुखका दिन सकिए  तर छोरा नयाँ ढिपी लिएर घर आयो । ऊ विदेश ताकिरहेको थियो । यहाँका विश्वविद्यालय गतिला छैनन् र पढाइ पनि कति नै पो हुन्छ र !

उसको तर्क थियो । जति नै छेको हालेर सम्झाए पनि अघिल्लो खेपझैं यो खेप पनि छोरोकै जिद्दीले जित्यो । विनाले आफूलाई अलिकति घरखेत आफूलाई भनी राखेर बाँकी जम्मै बेचिन् र छोरा  उड्यो परदेश ।

त्यसपछि आमाछोरा बीच  विदेश र स्वदेशका खबर हालचाल साटासाट हुन थाले । बिस्तारै छोराको फोन पातलिन थाल्यो । विदेशिएका सन्तानका बारे आमालाई गाउँकाले नानाभाँती सुनाउँदा विनाको मन झन् भारी हुन्थ्यो । उनलाई छोरा कहिले फर्किन्छ र घरजम गरिदिऊँ भन्ने मात्र थियो । अन्तिम पटक कुरा भएको पनि महिना दिन नाघिसकेको थियो । आमाको आतुर मनले मानेन र समय बेला नहेरी फोन गरिन्,

– बाबु के छ ! सन्चै छस् नि ! नबोलेको पनि धेरै दिन भयो ।  

– यति भन्नलाई के किचकिच गर्नुभएको ! आफूलाई कस्तो टेन्सन छ पिआर नभएर । तपाईलाई चै सन्चै छ !

फोन कट्यो ।

विनाको कानमा छोराको स्वर गुन्जिरह्यो – आफूलाई कस्तो टेन्सन छ !

प्रकाशित: १८ मंसिर २०७७ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App