२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

डोरीमा म, बहिनीको फोन

कविता

नारायण कोइराला

 

कैयन तले बिल्डिङमाथि डोरीमा झुन्डिएको म,

तलतिर हेर्दा शरीर  अनि मन हुन्छ बेचैन।

मानिसहरूको घुमफिर सडक वरिपरि,

म देख्छु उनीहरूलाई सानासाना भएसरि।

 

एकहातले डोरी समाउँदै छु अर्कोमा सफाइको बुरुस,

घरीघरी मेसिनले गराउँछ सतर्क भनी तल न झरुस ।

घर छोडी आएपछि जे पनि गर्नुपर्ने अवस्था,

के गर्नु यहाँ मबाट लिन्छन् थुप्रै फाइदै फाइदा।

 

घरतिर तिहार आएको छ फुल्दै होलान् मखमली,

म छु आज बिल्डिङको  भित्तामा के गर्नु सम्झी ।

मोबाइलको घन्टी बज्यो म हेर्न पनि सक्दिन,

कसले होला भन्ने सोच्दै छु यो मनमा पनि।

 

डोरीको हात छोडूँ भने म पुग्छु  तल रोडमा,

कस्तो छ परदेशी जिन्दगी सोच्छु  आफ्नो मनमा।

न सक्छु काम छोडन साहुको ऋण छ तमसुकमा,

काम नगरे घरमा हुन्छ विचल्लीपना सबै परिवारमा।

 

जिउनु र बाँच्नुको अर्थ के छ बुझ्न गाह्रो छ,

मलाई त आफ्नोभन्दा मेरो परिवार प्यारो छ।

जिउनु र मर्नु दुई दिनको साँचो खेल हो,

लाग्छ मलाई माया अनि संघर्षको जालझेल हो।

 

बिल्डिङदेखि अब म काम सकी जमीनमा आएँ,

अब त आज बाँचियो भनी लामो सास लिए।

मोबाइल निकाली मिस्कल चेक गरे,

ओह, मेरी बहिनीको  दस मिस्कल देखें।

 

हत्त र पत्त  बहिनीलाई फोन गर्न डायल गरेँ,

तिहारको समयमा उनको  आवाज सुने।

दाइ पिर नमान्नु यस्तै हो आउँछ सुख –दुःख,  

सधै सुख मिलोस् नपरोस् कहिले नि दुःख।

 

बहिनीको कुरा  पछि फेरि जोस मलाई आयो,

दिनभरका दुःख बिर्सिए मेरो मन शान्ति भयो।

मन धुरुधुरू रोए पनि मुखमा मुस्कान ल्याए,

हुन्छ बहिनी भनी म फोनमै तिहार मनाउने विचार गरे ।

प्रकाशित: २ मंसिर २०७७ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App