अनु विज्ञाति
१)
पहुँचवालाको धमास , कहिलेसम्म टिक्छ
बोक्रेहरुको तमास , कहिलेसम्म टिक्छ
औंला दिँदा डुडुल्नै ,निल्नेहरूलाई
आशीर्वादको रवाफ , कहिलेसम्म टिक्छ ।
२)
दुइटामा तलमेल , कसरी लेखियो
सिद्धान्त र व्यवहार, फरक देखियो
जानीजानी गधालाई गाई भन्नुपर्ने
नत्र भने विनासित्ति , करवाही भेटियो ।
३)
विधा बनाउने , क्या ताल देखियो
षड्यन्त्रै षड्यन्त्रको , चाल देखियो
टुप्पोमा पुगेपछि बिनासुझबुझ
औंठा छापहरूको , कमाल देखियो ।
४)
पत्थर हैन हिराजस्तै, छचल्कियो माया तिम्रो
अलग अब नठान है, म त सधै छायाँ तिम्रो
मुटुभित्र साँचेकी छु, मायाका ती बहारहरू
एक्लो छैनौं म नि हुन्छु, सधै दायाँबायाँ तिम्रो ।
५)
देखेर मिठो सपना, हराएँ तिमीमा
गुमाउँनै नसक्ने के मन्, पराएँ तिमीमा
चल्नै छाडेपछि आजकाल ढुकढुकी पनि
यताको मुटु त्यता, सराएँ तिमीमा ।
६)
सधै हाँस्ने मलाई, रुने बनायौं
आँसुले नै आँखा, धुने बनायौं
कसरी बुझाउँ सानू, के गरेनौं तिम्ले
तिम्रो मायामा पागल, हुने बनायौं ।
प्रकाशित: २४ कार्तिक २०७७ १०:२९ सोमबार