ध्रुवकृष्ण ताम्राकार
१)
दिउँसै रात सम्झेर सपना देख्नेहरू
पत्थर सम्झेर मान्छेको मनमा टेक्नेहरू
आफ्नो मात्र भलो सोच्दछन् जो
अवश्य लड्नेछन् न्यानो घाम छेक्नेहरू ।
२)
ए बादल पर्ख नरोऊ तिमी
व्यथाले आफ्नै मुख नधोऊ तिमी
यहाँ मान्छेकै छ कोलाहल निरन्तर
काफी छ मान्छेकै आँसु भो नरोऊ तिमी ।
३)
झरिरहेछ जिन्दगी आफ्नै आँसु बनेर
आफ्नै मन तर्सन्छ पीडा बोक्यो भनेर
थाहा छैन कसरी कस्तो हुरी आयो
जिन्दगी यो बाँचिरहेको छु औंला गनेर ।
४)
भनिन्छ साहस भए ढुंगा पनि पग्लन्छ
सत्यको अगाडि असत्य कहाँ अग्लन्छ ?
बलियो हुन्नन् अहमहरू एकदिन ढल्छ नै
घमण्ड ढलेपछि नयाँ घाम झुल्कन्छ ।
५)
एकैनासका रङहरू मनभित्र छैनन् आज
आकाशमै परेवा सेता, कहीं देखिन्छ है बाज
यस्तै हो जिन्दगी हाम्रो, चल्दै गर्छ यात्रा पनि
जसले सक्यो बुझ्छ उसकै माथमा हुन्छ ताज ।
६)
किन हो मलाई त तिम्रो शिष्टता मनपर्छ
नामजस्तै अझ सूर्यको निकटता मनपर्छ
अरूका लागि मरिमेट्ने एउटै हो नाम
तिम्रै सौहार्दता अनि आत्मीयता मनपर्छ ।
७)
अर्काको चियोचर्चा गर्दै व्यस्त रहनेहरू
अर्काको मजाक उडाएर मस्त रहनेहरू
भन के उपलब्धि गरयौ जीवनमा भन –
कुनै काम नगरी आफै अस्तव्यस्त रहनेहरू ।
प्रकाशित: २४ कार्तिक २०७७ ०८:११ सोमबार