२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

इज्जत

लघुकथा

 गोम विक्रम

 

खानदानमा परेपछि इज्जत जोगाउन गाह्रो हुन्छ ख्याल गरे नि केटा हो । थुतुनो मात्र हेरेर चल्दैन । हजुरबाले ठट्टैमा भनेको भर्खरैजस्तो लाग्छ ।

सुशिक्षित, सुसम्पन्न र हेर्दा सुशील लागेर सायद प्रदिप सरले गरिमालाई रूचाएका थिए । दूरीले टाढा भए पनि आफन्तले कुरा चलाएपछि बिहे भइछाड्यो ।

सधै बिजी रहने फोन, धेरैको चासो र सामाजिक काममा  लगाव राख्ने गरिमाको लोकप्रियता प्रदिपकोभन्दा चुलिँदो थियो । सुन्दरता, सजावट र आधुनिकताको नाममा गरिमाले खर्चेको सम्पत्ति देख्दा जो पनि चकित हुन्थ्यो । जति पढे पनि श्रीमतीको एकछेउ नसुहाउने प्रदिप आफू सादा जीवन उच्च विचारका हिमायती थिए । गरिमाका भने कोठाभरि तरहतरहका तस्वीरहरू देख्दा कुनै चर्चित नायिकाभन्दा कम थिएन । दुवै कलेज पढाउँथे सामाजिक प्रतिष्ठा उत्तिकै उच्च थियो ।

एक दिन जसरी पनि बैठकमा आउनू परयो प्रदिप सर इज्जतको सवाल छ यहाँ  भन्ने खबर आएपछि उनी गइहाले ।  

खास कुरो के रहेछ भने गरिमालाई पार्टनरसहित रंगे हात भेटिएकै कोठा बाहिरबाट बन्द गरेर दुवैको परिवारलाई राखेर बुझाउने कार्यक्रम रहेछ । सधै मेक अपले सिंगारिएर हिँड्ने गरिमाको मुहार चिन्नै नसकिने गरी विरूप थियो । भेलामा खुलस्तै गरिएका कुरा यस्ता थिए –

हाम्लाई पहिलेदेखि थाहा थियो यो गरिमेको लीला र त उति टाढाका प्रदिप सरलाई भिराएका नि । रूपले के गरयो र चरित्रै उस्तै भएपछि ।

– दुनियाँ डोलेकी छ यसले । कोही बाँकी छैन यसको । अझ समाजमा केकेन ठूलै पगरी गुतेर हिँड्छे पानीमाथिकी ओभानी देखिनलाई । लाज पचेकी बेसर्मी ।

–यस्ताको कर्तुत सार्वजनिक गर्नै दुवैलाई हिजोदेखि कोठामा बन्द गरेर लोग्नेकै अगाडि देखाउन परेको ।

पहिले रमेशेसित पनि एक हप्ता पोखरातिर अन्मरिएर फर्केर आई । बाउआमाले फर्काएर चोख्याएर राखे । अहिले त छर्लङ्गै देखियो । सम्पत्ति हुनेले जे गरे पनि हुँदो रहेछ ।

यस्तै नानाथरी कुरा प्रदिपले कानै बिझाउने गरी सुन्नुपर्यो ।

अनि स्थानीय प्रहरी चौकी, पत्रकार, महिला अधिकारवादी तथा पार्टीका र केही भलादमीहरूको रोहवरमा गोप्य बैठक बस्यो । सम्भ्रान्त र प्रतिष्ठित घरानाका हुनाले दुवै पक्षबाट निश्चित दस्तुर राखेर घटनालाई बाहिर नल्याउने, केस नगर्ने र दुवै पक्षको पारिवारिक वातावरण यथावत रहने कुरामा मौखिक सहमति गरी तोकिएको दस्तुर राखेर कानूनलाई चुनौती दिँदै दुवैलाई छुटाइयो ।   

 त्यसपछि निकै समय भेट भएको थिएन । एक दिन काम विशेषले उनी कहाँ पुग्दा दुवै कतै जान तयार थिए । गाडीको सिट बेल्ट कस्दै गर्दा लोग्नेको शुट मिलाउँदै गरिमाले भन्दै थिई, ‘हेरिस्यो न यता । हजुरको त अलिकति कतै शुट बिग्रे पनि पीर पर्छ मलाई त । यो दुनियाँमा हजुर जति प्रिय मेरा लागि कहिल्यै पनि कोही छैन र हुँदैन पनि । काखे बालकलाई झैं चुम्बन गर्दै थिई गरिमा ।

‘त्यसैले पो दाम राखी राखी इज्जतसित फर्काएरै ल्याएका रहेछन् नि प्रदिप सरले ।’ मैले मनमनै सोचेँ ।  

प्रकाशित: २३ कार्तिक २०७७ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App