सानू शर्मा
हजारौ लाखौको भीडमा एकदिन ढाका टोपी लगाएको सरलक्क परेको अग्लो तर उमेर निकै भएको एउटा मान्छे मेरो दृश्यपटलमा पर्यो। मेरो नयन अनायसै उनीमाथि गहिरियो । खाइलाग्दो राम्रो मान्छे उमेर ढल्के पनि जीउडाल कसिलो आहा कति सुन्दर, सोचे – यो उमेरको मान्छेले धेरै माया गर्थे होलान् ! अब म कसरी उनको नजिक जाऊँ र केही बोल्न सकूँ । उनलाई मप्रति दया र माया जाग्न सक्ने बनाऊँ । हेर्दाहेर्दै ठूलो भीडमा उनी हराए। आँखा ताने यताउता परसम्म पुराए तर देख्न सकिनँ । सपनाजस्तो लाग्यो ।
सोचे – यो कल्पना र सपना पो हो कि ! फेरि दिमाग खियाएँ उनलाई मैले देखेको हो । बोल्न नसक्नु मेरो कमजोरी हो । बोलाऊँ पनि कसरी ! पहिलोपटक देखेको मान्छे ।
फेरि मनमा कुरा खेलाएँ, ‘अब कतै देखे भने मिठो स्वर निकालेर सोध्छु , ‘हजुरलाई चिनेझै लाग्यो । कहीँ कतै भेटेर बोलेझैं लाग्यो । लौन परिचय गरौ न फेरि ! जसरी पनि भन्छुभन्छु।’
यस्तौ सोचिरहें । जहिले पनि यस्तै कल्पना र तर्कनामा बगिरहे । केही समयपछि एक समारोहमा उनीलाई भेटे, साहस बटुलेर परिचय लिनेदिने काम पूरा गरे । छोटोमिठो रसिला कुरा भयो।
अनुभूति लिँदै उनको गफमा एकैछिन भए पनि हराएँ । कस्तो थिए, कस्तो भए, मनमा खुशी र हर्षले सीमा नाघे । आफै छक्क परे । एकछिनपछि बिउँझिएझैं भेटेको मान्छे थिएनन् । एक्लै पो रहेछु अनि पो थाहा भयो रातभरि सपना देखेर बिहान छर्लङ्ङ उज्यालो भएको रहेछ ।
प्रकाशित: २२ कार्तिक २०७७ ०९:२१ शनिबार