विदुर तिवारी
ठेकदार साहेब ,
तपाईको निधारमा चन्दनको टिका
कस्तो सुहाएको
यसले तपाईका काला कामहरू सबै छेकिदिन्छ हो
तपाईलाइ कोट त झन कति हो कति सुहाँउछ,
यसले तपाईको लाज जम्मै छेक्दिन्छ हो
तपाईको मसिनो बोलीले त
मान्छेलाई हिउँझैँ पगाल्दिन्छ
बोलीले तपाईको क्रुरता कत्ति देखाउँदैन हो
वकिलहरू हजुरसंगै आउँछन्
डनहरू त तपाईकै सेरोफेरो रुचाउँछन्।
ठेकदार साहेब
चुनावको बेला लम्पसार परेपछि
अझ ,भुइँ मान्छेको गोडा नै ढोगेपछि
पाँच वर्ष त भुइँ मान्छेहरू देख्नै पर्दैन।
ढुक्क हुनुस् ठेकदार साहेब
तपाईसँग हुनुपर्ने गुणहरू जम्मै छन्
अबको चुनावमा तपाईं पनि
वडा अध्यक्ष पक्का !
प्रकाशित: १ कार्तिक २०७७ ०७:१९ शनिबार