दीपक लोहनी
कोही नझुक्किनुहोस्
मुड्खुमा प्रेम लुकेको छ ।
जब कालोपत्रे छोडेर उक्लिनुहुन्छ माथिमाथि
कुमारी बतासले स्पर्श गरिहन्छ ।
कान्लाभरि टुसाएका काली निहुरोहरूले
टाउको निहुराएर स्वागत् गर्छन् ।
सानो गोरेटोले घुमाउँदै लैजान्छ गाउँ अवयवहरू
रूखहरूले साउती मारिरहन्छन् जो कसैलाई पनि ।
कोही नझुक्किनुहोस्
मुड्खुमा प्रेम लुकेको छ ।
नशाझै सल्बलाएका छन्
पानी बोक्ने पाइपहरू मुड्खुमा ।
क्षणक्षणमा पानी र मुड्खुको सम्बन्ध टुक्रिरहन्छ,
तर,
पाहुनालाई प्यासी राख्दैन मुड्खु ।
पोखरीडाँडा होस् वा बतासेडाँडा
वरपिपलको पवित्र हावाले सुम्सुमाइरहन्छ ।
बाटोभरि फिँजारिएका छन् पातहरू
कसम, यही पातहरूमा प्रेम पोखिरहन्छ मुड्खु ।
हो, बाँदरहरू छन् मुड्खुमा
तर यही बाँदरलाई अनुशासन सिकाउनेहरू पनि छन् मुड्खुमा,
हो, बरालिएकाहरू बरालिन पनि आउँछन् मुड्खुमा
तर यहीं श्रम गर्दै सीप सिकाउने समूहहरू पनि छन्,
एकनासले चियाइरहन्छ काठमाडौको गन्जागोललाई मुड्खु
अनि आफ्नै अनगन्ती दुख र अभावमा आनन्द लिइरहन्छ ।
कोही नझुक्किनुहोस्
मुड्खुमा अर्गानिक प्रेम पाइन्छ ।
( मुड्खु – काठमाडौ नयाँ बसपार्कबाट ४।५ किलोमिटर उत्तरमा रहेको पवित्र गाउँ हो, जहाँ आचार्य दीक्षितहरूको थाक्थलो छ ।)
प्रकाशित: ५ आश्विन २०७७ ०६:०२ सोमबार