२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कलाकार राधेश्याम मुल्मीसँग साक्षात्कार

कला

ज्ञानेन्द्र विवश

 

कलाकार राधेश्याम मुल्मीसँगको भेटवार्ता र भलाकुसारीका धेरै सन्दर्भहरू छन् । फुर्सदमा तिनलाई केलाइकुलाइ गरी धोइपखाली गरेर पस्कौंला भन्दै थिएँ । आज बल्ल त्यो मौका मिल्यो । मैले आदरणीय गुरु कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई पेश गर्ने । यहाँ उहाँले नै खिच्नुभएका तस्वीरहरूसहित म मुल्मी सरको कलाकार व्यक्तित्वको एकसरो अनुच्छेद प्रस्तुत गर्दैछु । यसले उहाँको लामो र दशकौंको कलायात्रामाथि सानो परिचय पस्किने विश्वास मैले लिएको छु ।

कलाकार मुल्मीका कलाकृतिहरूले जीवन लयात्मक, गतिशील र तरङ्गित छ भन्ने सन्देश प्रेषित गर्दै आएका छन् । उहाँका प्रत्येक चित्रका स्वरूप अत्यन्त सरल र कलात्मक प्रवाहमा प्रकट भएका हुन्छन् । ती लयात्मक गति हरेक दर्शकसँग अनौठो र मीठो सौन्दर्य–सम्वाद गर्दै सलल बग्दछन् । त्यो बगाइ पनि जीवन्त र अविच्छिन्न हुन्छ । यस किसिमको खूबी मुल्मीको प्रथम विशेषता नै हो भन्न सकिन्छ । त्यही खूबीमा कलात्मक सौन्दर्यको साक्षात्कार हुन्छ ।  

कलाकार मुल्मीको यो सीप र शैली नेपाली कलाकै गौरवमय सिर्जना हुन् । तर उहाँको कलाकारितामाथि समयले मूल्यांकन गर्न निकै कञ्जुस्याँइ गरेकै हो । यद्यपि उहाँ पर्नुभयो आमनेपाली कलाकारभन्दा भिन्न स्वभावका कलाकार । इमानदारितापूर्वक आफ्नै कलाकर्ममा मग्न रहने । उहाँका लागि हल्लाखल्लाको पछि लाग्नु छैन । काममा समर्पित भएर लाग्नुमै आफूलाई सन्तुष्टि हुने उहाँको अनुभव छ । भनाइ र गराइमा पनि उहाँ प्रतिबद्ध हुनुहुन्छ । दुर्भाग्य भनौंं वा नेपाली कलाकारहरूको नियति यसरी काममै समर्पित स्रष्टाहरूको योगदानलाई राज्यले कहिल्यै पनि खोजखबरी गर्दैन ।  

वास्तवमा कला जीवन सँगसँगै चल्ने प्रक्रिया हो । कुनै न कुनै तरीकाबाट यसको प्रयोग भइरहेकै हुन्छ । कला प्रवृmति र समाजकै प्रतिविम्ब हन् । यसले हाम्रो मनमा परेका छाप कलामार्फत् प्रस्तुत हुने गर्दछ । उहाँका कला पनि त्यसकै प्रतिविम्ब हो । प्रकृति, समय र समाजका प्रभावलाई उहाँले कलात्मक जीवन दिएर कलाकारिता गर्दै आउनुभएको छ । कलामा उहाँको बेग्लै शैली, संरचना र विषयवस्तुको मिठासपूर्ण संयोजनको अभिव्यक्ति पाइन्छ । समग्र पक्षलाई कलामा आयामिक गति दिएर सधैं सत्य, न्याय, शान्ति र अहिंसाको मार्गमा उहाँले कलासिर्जना गर्नुभएको छ । उहाँको ध्येय नै कला सौन्दर्य र जीवन पनि हो । अनि कला प्रेरणा र चेतना पनि हो भन्ने छ । यिनै मान्यता र अवधारणाका साथ उहाँको कलाकर्मले निश्चित गति पहिल्याइसकेको छ ।

संवेदनशील, मृदुभाषी र सहृदयी स्वभावका कलाकर्मी राधेश्याम मुल्मीले आफ्नै मौलिक शैली निर्माण गरिसक्नुभएको छ । नेपाली कलाजगतको गौरवमय कलायात्राको श्रृङ्खलामा उहाँको योगदान अमर सिर्जनाकर्मीका रूपमा स्थापित छ । लामो कला साधनाको पछिल्लो दस्तावेजको समष्टि सिर्जनालाई उहाँले इमानदारितापूर्वक प्रदर्शनमा राख्नुभएको छ । कलामा प्रयोगका विविध बान्कीहरू छन् । विभिन्न रङ–तरङहरू छन् । व्यक्ति, परिवार, समाज, राष्ट्रका यावत समस्यादेखि माया र प्रेमका सद्भावहरू पनि छन् । सांस्कृतिक जीवन र जगत्का दर्शन र चिन्तनहरू पनि यथेष्ठ छन् । त्यस्तै कतै नृत्यमुद्रा, कतै वाद्ययन्त्रका ध्वनि जता र जहाँ पनि गतिशील तरङ्ग प्रवाहित गरिरहेको भेटिन्छ ।

विसं २००६ साल माघ १२ गते कास्की, पोखराको रामकृष्णटोल (सिंहनादटोल) मा उहाँको जन्म भएको हो । कलाशिल्पी मुल्मीले सुरुमा फूल, चरा आदिबाट कलायात्रा थालनी गर्नुभयो । त्यसपछि उहाँले देवीदेवता, मुहारचित्र, दृश्यचित्र, दैनिक जीवनका बारेमा यथार्थ रूप कागज, काठ, क्यानभास आदिमा उतार्नुभयो । कलासिर्जनाका क्रममा उहाँले धेरै अध्ययन र अनुभवहरू गर्नुभएको छ । उहाँ कलामा सधैं नयाँपन ल्याउन प्रयत्नशील रहनुहुन्छ । र, त्यसैमा आनन्द लिने गर्नुहुन्छ । पछि आएर आफ्नो शैलीमा कला बनाउनुपर्छ भन्ने दृष्टिले जीवनको तरङ्गसँग उहाँ जोडिन पुग्नुभयोे ।

उहाँले पहिलेपहिले बनाएका चित्रहरू फरक हुँदै आज त्यसले लयात्मक गतिको रूप लिएको छ । यसमा रेखाका साथै रङमा लयात्मक रूप उहाँले दिनुभएको छ । उहाँको प्रथम प्रदर्शनीमा प्रदर्शित चित्र विभिन्न पक्षलाई समेट्ने कोसिस उहाँले गर्नुभएको थियो । सो प्रदर्शनीका चित्रहरूमा उहाँको वर्षांैं लामो कलाकारी चिन्तनको उपयोग भएको उहाँ आफैंले उद्घाटन समारोहमा बताउनुभएको थियो । समाजलाई सधैं सकारात्मक दिशातिर डो¥याउने उहाँको ध्येयलाई प्रदर्शित चित्रले पुष्टि गरेका थिए ।

एकल कलाप्रदर्शनी नगरी कलाकारकै रूपमा नचिनिने हाम्रो समाजको संस्कार छ । त्यसो त उहाँको कलाकारिताले तीनदशक अगाडिबाटै आफ्नो स्पष्ट पहिचान बनाउँदै आएको हो । थुप्रै सामूहिक कलाप्रदर्शनी र कलाकार्यशालाहरूमा सहभागी एवं आयोजकसमेत भइसकेपछि तथा प्रशस्तै कलाकार चेलाहरू बनाइसकेपछि आफ्नो २५ वर्षे कलायात्राका बहुआयामिक पक्षका साथ कलागुरु मुल्मी गत २०६४ सालमा उपस्थित हुनुभयो ।

उहाँको विचारमा कलासिर्जना गर्नु मात्रै ठूलो कुरा होइन । त्यसमा कतिको गहिराइ छ भन्ने कुरा महत्वपूर्ण हो । रङ पोखाएर, कुनै अनौठो वस्तु प्रयोग गरेर वा केरेर पनि कलासिर्जना गर्न सकिन्छ तर त्यसमा आफ्नो समर्पण, मौलिकता र सौन्दर्य हुनु जरुरी हुने उहाँ बताउनुहुन्छ । कलामा इमानदारिताको खाँचो पर्ने कुरामा पनि उहाँ जोड दिनुहुन्छ ।

कलाकार राधेश्याम मुल्मीको विवाह २०३६ सालमा गोरखाकी राममाया श्रेष्ठसँग भएको हो । उहाँहरूका दुई छोरा भने विदेशमा जागिर खाँदै पढ्दै छन् । उहाँ भने सिर्जना, प्राध्यापन र सामाजिक कार्यक्षेत्रमै व्यस्त हुनुहुन्छ । यही व्यस्ततामा उहाँले जीवन र जगत् राम्रैसँग बुझ्ने मौका पाउनुभएको छ । तर, उहाँको मुख्य ध्येय भनेको मानवताप्रति दया र धर्म हो । आफ्ना कलाकृतिहरू मार्फत् उहाँले यही सन्देश प्रवाह गर्दै आइरहनुभएको छ ।

‘ॐ शान्ति’ मा सम्बद्ध हुनुभएपछि उहाँले बुझ्नुभएको प्रमुख कुरा ‘सबैमा समानता र प्रेमपूर्ण व्यवहार गर्नुपर्दछ’ भन्ने मान्यता हो । पवित्रता, सुख, शान्ति, प्रेम र आनन्दको जननी भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पवित्रता मानवको सच्चा श्रृङ्गार हो । पवित्रता छैन भने मानवको कुनै मूल्य हुँदैन । देवता पवित्र हुनाले नै मानवीय र पुजनीय भएको उहाँ बताउनुहुन्छ । जुन आत्मामा पवित्रता छ उसको चालचलन र चेहरा तथा बोलीव्यवहार आदि चम्किरहन्छ । उहाँका अनुसार पवित्रताले नै जीवनलाई श्रेष्ठ बनाउन मद्दत गर्दछ र मुख्य आधार यही हो ।

प्रकाशित: २७ भाद्र २०७७ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App