२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

भीष्मराज फुलाराको कारुणिक चीत्कार ‘टुहुरो कुण्डली’

पुस्तक संसार

गीता अधिकारी

धर्तीका सम्पूर्ण आमाप्रति समर्पित गरिएको साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको यथार्थवादी धाराको उत्कृष्ट उपन्यास हो टुहुरो ‘कुण्डली’ । युवा उपन्यासकार भीष्मराजको यो उपन्यासमा सुन्दर सुदूर पश्चिमको पहिचान, संस्कृति र ज्ञानलाई भरिपूर्ण रूपमा राख्नुभएको छ उहाँले रचनाक्रममा । उपन्यासमा भीष्मले ‘प्रसव वेदना’, ‘महायात्रा’, ‘मुक्ति–मार्ग’, ‘मलाई नजन्माउने ‘आमा’’, ‘पन्यारोः प्रेतमुक्ति’, ‘सन्यपात’, ‘बढ्दो ज्वरो’, ‘जेलिएको व्यथा’, ‘रुढीवाद’, ‘पीडा’, ‘पीपपल र पिण्ड’, ‘गरुड नाग र गौदान’, ‘लाहुरे र विदेशी रवाफ’, ‘घडीबाजे’, ‘समयको फड्को’, ‘कुण्डलीका जरा’ र ‘आमासँग प्रार्थना’ जस्ता शीर्षकमा उपन्यास उन्नुभएको छ । सुदूर पश्चिमको, डोटी जिल्लाको चुडीमा जन्मिनुभएका फुलाराले प्रस्तुत उपन्यासको मूलपात्रको रूपमा आफैंलाई उभ्याउनुभएको छ ।  ‘म’ पात्रलार्ई प्रमुख बनाएर लेखक फुलाराले लेख्नुभएको यस उपन्यासमा दश वर्षको उमेरदेखिको अनुभूति समेटेका छन् । 

संसारमा आमाभन्दा प्रिय कुनै अर्को व्यक्ति नभएरै होला हाम्रा शास्त्रहरूले समेत ‘मातृ देवो भवः’ भनेर आमालाई भगवान्को संज्ञा दिएको । भनिन्छ, भगवान्ले आफ्नो प्रतिनिधिका रूपमा सबै घरमा आमा पठाउनुभएको हो । ‘अरूको लाख, आमाको काख’ आमाको ममताको अगाडि जुनसुकै मूल्य पनि कम हुन्छ अर्थात् यसो भनौं त्यो ममता कुनै अन्य चिज वा व्यक्तिले पूर्ति गर्न सक्दैन । त्यो ममता किनेर पाइँदैन । भनिन्छ, मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाएकी हुन्छिन् । शान्ति, क्षमा करुण, वात्सल्य, दान र मायाको स्रोत मानिन्छ आमालाई । त्यही आमाको माया यदि सानैमा गुमाउनुप¥यो भने अवस्था कस्तो होला ? एउटा अबोध बालकले आफ्नै आखाँअगाडि प्रसव वेदनाले छटपटाउँदाछटपटाउँदै उचित उपचार नपाएर मृत्यु वरण गरेकी आमाका विषयमा लेखिएको कृति हो टुहुरो कुण्डली । सानामै मातृवात्सल्यबाट विमुख हुन पुगेको अबोध बालकको कारुणिक चीत्कार हो टुहुरो कुण्डली । 

२ सय ७२ पेजको यो उपन्नयासमा भीष्मले नयाँ शैलीका साथ अन्तरआत्माको ज्वालामुखीलाई विस्फोट गरी शब्दलाई बाहिर उतार्नुभएको छ । उहाँले भन्नुभएको छ ‘नयाँ शैलीका साथ अन्तरआत्माको ज्वालामुखीलाई विस्फोट गरी शब्दलाई बाहिर उतारेको छु । मनका अन्तरङ वेगलाई प्रस्फुटन गरी पुस्तकमा म टुहुरे यात्री भई, अक्षर–अक्षरमा बुट्टासरह कुँदिएको छु । पाठकलाई आफ्नो जीवनकहानीजस्तो लाग्नेछ । यो पुस्तकको प्रत्येक अध्यायहरू तिनै टुहुरामाथि केन्द्रित छन्, जसका यो संसारमा कोही पनि छैनन् ।’ वास्तवमै यो पुस्तक पढ्दा धेरै ठाउँमा मन भक्कानो भएर आउँछ भने अन्यासै आँखाबाट आँसु खस्छन् । यो उपन्यास कारुणिक छ । भीष्मले उपन्यासमा ससाना परिघटना, उपघटनाहरूलाई कलात्मक रूपमा जोडेर सुन्दर बनाउनुभएको छ । 

अर्को जुनीमा उनै आमाको कोखबाट जन्म लिने इच्छा लेखक फुलाराले उपन्यासमा व्यक्त गर्नुभएको छ । उपन्यासमा उहाँ लेख्नुहुन्छ, ‘अर्को जुनीमा म फेरि तपाईंको छोरा भएर जन्मन पाऊँ । अनि जीवनभर तपाईंको मातृवात्सल्यमा रमाउन पाऊँ । मलाई स्वर्ग चाहिँदैन । मलाई आमा भए पुग्छ । म फेरि तपाईंको गर्भमा नौ महिना बिताएर जन्मिन चाहन्छु । तर, त्यसबेलाचाहिँ टुहुरो बनाएर अलपत्र छाडेर नजानुहोला ।’ 

खोजी प्रकाशन गृहले बजारमा ल्याएको यो पुस्तकको मूल्य ३८० रुपैयाँ रहेको छ । उपन्यास ‘टुहुरो कुण्डली’को अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ पनि सार्वजनिक भएको छ । ‘टुहुरो कुण्डली’ पुस्तकका अनुवादक ऋषि न्यौपाने रहेका छन् । उपन्यास करुणा, दयामाया, सद्भाव र सहानुभूति जस्ता संवेदना उठान गरिएको छ । फुलारा लिट्रेचर फाउन्डेशन नेपालले बजार व्यवस्थापन सम्हालेको अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’को मूल्य ५५० रहेको छ ।

बुवासँग सुत्दा बुवाले भनेका कथा साहित्य सृजनाका आधार बनेका उहाँका हाल ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘नेपाली भाषा र साहित्यको इतिहास – त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ अंग्रेजी पुस्तक पठनीय पुस्तकको रूपमा बजारमा आएका छन् ।

नेपाली साहित्य फाँटमा ‘टुहुरो कुण्डली’ जस्तो पठनीय उपन्यास मार्फत आफ्नो सशक्त उपस्थिति जनाउनुभएका साहित्यकार भीष्मराज साहित्य विधाका हरेक काम गर्न उत्साहित देखिनुहुन्छ । साहित्य मार्फत समाजमा योगदान दिने एक बौद्धिक सम्पति हुनुहुन्छ भीष्म । उहाँको साहित्य यात्राले निरन्तर सफलता पाओस्, उहाँका सिर्जना थप सिर्जनशील बनून् उहाँलाई थप सफलताको अग्रीम शुभकामना । उहाँको कलमबाट ‘टुहुरो कुण्डली’ जस्ता थुप्रै कृतिको जन्म होस्, हार्दिक कामना ! 

प्रकाशित: २७ भाद्र २०७७ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App