१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

जात्रादेखि ‘जात्रा’सम्म

कोरोना महामारीका कारण यो वर्ष उपत्यकामा मनाइने सबैजसो जात्रापर्व स्थगनमा परेका छन् । तर ललितपुरमा मनाइने बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथको जात्रा भने न स्थगनमा प-यो, न विधिपूर्वक सम्पन्न भयो । जात्राका लागि रथ बनाएर कहिले तान्ने, कहिले नतान्ने गरिएका कारण स्थिति यति जटिल बन्न पुग्यो कि गत साता केही संस्कृतिप्रेमी आफैँ गएर रथ तान्ने प्रयास गर्दा प्रहरी हस्तक्षेप समेत हुन पुग्यो । फलतः बुंगद्यःको जात्रा सिनेमाको ‘जात्रा’ जस्तो हुन गयो । उक्त घटनाका कारण बुंगद्यः एकाएक मुलुकको राष्ट्रिय राजनीति र कोरोना महामारीजनित अन्य घटनाबीच पनि सबैभन्दा चर्चाको विषय बन्न पुग्यो ।  

वास्तवमा बुंगद्यः र बुंगद्यः जात्राको इतिहास नै यस्तो छ, जुन सदैव चर्चाकै विषय भएर नेपाली समाज सामु प्रस्तुत हुँदै आइरहेको छ ।  

को हुन् बुंगद्यः ?
बुंगद्यः नेपालमा प्रचलित अनेक धर्मावलम्बीका साझा देवता हुन् । स्थानीय नेवाः समुदाय उनलाई ‘बुंगद्यः’का नामले पुकार्छन् । यो उनको सबैभन्दा पुरानो र मौलिक नाम पनि हो । पाटनको बुंग अर्थात् बुंगमतीमा बसोवास गर्ने देवता भएका कारण उनको नाम ‘बुंगद्यः’ रहन गएको विश्वास गरिन्छ । लिच्छवि राजा अंशुवर्माको अभिलेख (वि.सं. ६६२) बुंगमतीमा भेटिएको छ । त्यसमा उक्त ठाउँको नाम ‘बूगायूमी’ लेखिएको छ । लिच्छविकालमा यो ठाउँको नाम ‘बुंगायुमीग्राम’ थियो भने मध्यकालमा ‘बुंगपट्टन’ पनि भन्न थालियो । हाल बुंग वा बुंगमती भन्न थालिएको छ । यसैबाट यो कति पुरानो ठाउँ रहेछ भन्ने थाहा हुन्छ, (तुलसीलाल सिंह, ललितपुरका केही ऐतिहासिक स्थलहरू) ।  

पछि बुंगद्यःलाई बौद्धमार्गीले अवलोकितेश्वरका रूपमा मान्न थाले । महायानीहरूले पद्पाणी लोकेश्वरका रूपमा मान्न थाले । शैवहरूले मच्छिन्द्रनाथका रूपमा मान्न थाले । उनको वर्ण रातो भएकाले उनलाई ‘रातो मच्छिन्द्रनाथ’ भन्न थाले । वैष्णवहरूले विरंची नारायणको रूपमा मान्न थाले । त्यसैले उनी भगवान एकै भए पनि उनलाई पुकार्ने नाम भने अनेक छन् । तीमध्ये पनि सबैभन्दा पुरानो नाम ‘बुंगद्यः’ हो ।  

किंवदन्ती अनुसार, बुंगद्यः नेपालमै उत्पत्ति भएका देवता होइनन् । उनलाई भारतको आसामस्थित कामारुकामाक्ष भन्ने ठाउँबाट आजभन्दा करिब १४०० वर्षअघि नेपाल ल्याइएको हो । कामारुकामाक्षलाई राक्षसहरूको देश मानिन्छ । बुंगद्यः राक्षस राजाका कान्छा छोरा थिए । त्यतिबेला नेपालमा लगातार १२ वर्षसम्म पानी नपरेपछि भक्तपुरमा बस्ने राजा नरेन्द्रदेवको पहलमा काठमाडौंका तान्त्रिक गुरु बन्धुदत्त आचार्य र ललितपुरका भरिया रथंचक्र (ललित ज्यापू) कामारुकामाक्षा गई राक्षससँग तान्त्रिक युद्ध गरी बुंगद्यःलाई नेपाल लिएर आएका थिए । त्यसपछि नेपालमा वर्षा सुरु भई पुनः कृषि कार्य आरम्भ भएको विश्वास गरिन्छ । त्यसैले बुंगद्यःलाई वर्षाका देवता, सहकालको देवता र अन्नको देवता समेत भनिन्छ । पूर्व मध्यकालमा बुंगद्यःलाई नेपालको राष्ट्रिय आराध्यदेवको मान्यता समेत प्राप्त भएको थियो । 

किंवदन्तीका तीन पात्र
उपत्यकामा प्रचलित कथा अनुसार, बुंगद्यःलाई नेपाल ल्याउने कार्यमा तीन प्रमुख पात्रको भूमिका छ । ती हुन्– भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका भरिया रथंचक्र । 

रथ जात्रा जतिसुकै लामो चले पनि असोज महिनासम्म जात्रा नसकिएर बुंगद्यः रथभित्रै रहे भने बुंगद्यःलाई भक्तपुरवासीले लैजान्छन् भन्ने किंवदन्ती पाइन्छ । गएको साता बुंगद्यःको रथ जात्रा सम्पन्न गर्न केही युवाले जो हतारो गरे, त्यसको पछाडि पनि यही मनोविज्ञान लुकेको ठानिन्छ । 

नेपालको इतिहासमा नरेन्द्रदेव नामका राजा चारजना छन् । तीमध्ये कुनचाहिँ नरेन्द्रदेवले बुंगद्यः ल्याए भन्ने प्रस्ट छैन । तैपनि लिच्छवि राजा नरेन्द्रदेव (सन् ६४३–६७९) नै बुंगद्यः ल्याउने राजा हुन् भन्ने विश्वास गरिन्छ । किनभने बुंगमतीस्थित बुंगद्यःको शिखर शैलीको मन्दिर यिनै राजा नरेन्द्रदेवले निर्माण गरेको इतिहास पाइन्छ । नरेन्द्रदेव शैवमार्गी राजा भए पनि उनी बुद्धको मूर्ति अंकित पेटी लगाउँथे भन्ने वर्णन चिनियाँ ताङ वृत्तान्तमा पाइन्छ । नरेन्द्रदेवको पालामा बुंगद्यः ल्याइएको कथा प्रचलित भए पनि अहिलेसम्म भेटिएका नरेन्द्रदेवसम्बन्धी कुनै पनि अभिलेखमा बुंगद्यःको उल्लेख भने गरिएको पाइँदैन, (रवि शाक्य, बुंगदेवया घटनावली) ।  

अर्का पात्र बन्धुदत्त आचार्य काठमाडौं निवासी भनिए पनि उनी काठमाडौंको कुन ठाउँमा बस्थे भन्ने मतभेद रहेको छ । कोही उनी पशुपति क्षेत्र (देवपत्तन) का आचार्य हुन् भन्छन्, कोही टेबहालका रैथाने वज्राचार्य हुन् भन्छन् । यी दुवै क्षेत्रमा उनलाई सम्मान गरिन्छ । टेबहालका वज्राचार्यहरू उनलाई आफ्नै कुलपुत्र मान्छन् । बन्धुदत्त आचार्य (वज्राचार्य) कै आज्ञा अनुसार, राजा नरेन्द्रदेवले राजकीर्ति महाविहार (स्थानीय नाम तेबहाल) निर्माण गरेको विश्वास गरिन्छ । बुंगद्यःलाई काठमाडौं ल्याउँदा पछिपछि आएका पाःलाःद्यः (अहिले संकटा नामले पुकारिन्छ)लाई यिनै बन्धुदत्त आचार्यले टेबहालमा मन्दिर बनाई स्थान दिएको मानिन्छ । बुंगद्यःको मूर्ति समेत बन्धुदत्त आचार्यले नै म्हय्पि पर्वतको माटो ल्याई बनाएको विश्वास गरिन्छ, (पं. बद्रीरत्न वज्राचार्य, न्हापायापिं प्रसिद्ध वज्राचार्यपिं) । टेबहाल हाल कामनपा– २२ भित्र रहेको छ । बन्धुदत्त आचार्यलाई टेबहालकै निवासी मानी कामनपा– २२ ले पुनर्निर्माण गरिरहेको भूगोलपार्कमा अहिले बन्धुदत्त वज्राचार्य लगायत राजा नरेन्द्रदेव र रथंचक्रको मूर्ति स्थापना गर्ने तयारी भइरहेको छ ।

त्यस्तै, कामारुकामाक्षबाट बुंगद्यःलाई बोकेर ल्याउने जिम्मेवारी पाएका रथंचक्रलाई ललित ज्यापू पनि भनिएको पाइन्छ । बुंगद्यःलाई नेपाल ल्याउने काममा उनको भूमिका एक भरियाका रूपमा मात्र भए पनि नेपाल ल्याएपछि भने आफ्नै ललितपुर देशमा राख्न लगाउन सक्नुलाई उनको खुबी मान्नुपर्छ । तथापि नेपालको इतिहासमा ललितपुर सधैँ नै केन्द्रीय सत्ताभन्दा शक्तिशाली रहँदै आएको पाइन्छ । यही कारण पनि बुंगद्यःलाई ललितपुरमै राख्न राजा नरेन्द्रदेव बाध्य भएको हुनुपर्छ भनी अनुमान लगाउन सकिन्छ ।  

चौथौ पात्र: कर्कोटक नागराज
बुंगद्यःलाई नेपाल ल्याउने काममा मात्र होइन, बुंगद्यः जात्राका अन्य कार्यमा पनि कर्कोटक नागराजको नाम आउने गर्छ । काठमाडौंको दक्षिण भेगमा पर्ने टौदहलाई कर्कोटक नागराजको वासस्थान मानिन्छ । दह अवस्थामा रहेको काठमाडौं उपत्यकाको पानी निस्केर बाहिर गएपछि बाँकी रहन गएको अन्तिम दहको रूपमा टौदहलाई लिइन्छ ।

माथि उल्लिखित तीन पात्र बुंगद्यः लिन कामारुकामाक्षा जाने बेला बन्धुदत्त आचार्यले तन्त्रबलले कर्कोटक नागराजलाई पनि बन्दी बनाएर सँगै लगेका थिए । कामारुकामाक्षा जाने बाटोमा ‘शिलानदी’ नामको एउटा नदी रहेछ । त्यो नदीको पानी यति विषालु रहेछ कि त्यसमा छोयो भने कुनै पनि जीव शिलामा परिणत हुन्थ्यो । कर्कोटक नागराजले आफ्नो आकार बढाएर उक्त नदीमाथि पुल बनी तीनैजनालाई नदी पार गराएका थिए ।  

बुंगद्यः जात्राका लागि बनाइने अग्लो रथमा पांग्राहरूको बीचमा घःमाः भन्ने एउटा लामो काठ रहेको हुन्छ । अगाडि भैरवको मुकुण्डो राखिएको उक्त काठलाई कर्कोटक नागराजकै प्रतीक मानिन्छ ।

हरेक वर्ष पाटनको जावलाखेलमा भोटो प्रदर्शन गरी बुंगद्यः जात्राको समापन गरिन्छ । त्यहाँ प्रदर्शन गरिने बहुमूल्य पत्थरजडित भोटो पनि कर्कोटक नागराजकै हो भने किंवदन्ती पाइन्छ । आफ्नी रानीको दुःखेको आँखा निको पारिदिने एक ज्यापू वैद्यलाई कर्कोटक नागराजले उक्त भोटो उपहार दिएको, ज्यापू खेतमा काम गरिरहेका बेला एउटा भूत आएर उक्त भोटो चोरेको र जावलाखेलमा मच्छिन्द्रनाथको जात्रा हेर्न आउँदा ज्यापू र भूतबीच भोटोको विषयमा झगडा हुँदा प्रमाणसहित लिन नआउन्जेल भोटोलाई मछिन्द्रनाथकै जिम्मामा राख्न दिइएको किंवदन्ती पाइन्छ । अहिले हरेक वर्ष जावलाखेलमा यो भोटो कसको हो प्रमाण भए लिन आउनु भनी सार्वजनिक रूपमा प्रदर्शन गरिने जात्रालाई नै ‘भोटो जात्रा’ भनिएको हो ।  

हरेक वर्ष बुंगद्यःको जात्रा सुरु हुनुअघि टौदहमा गई जात्रामा सहभागी हुन आउनु भनी कर्कोटक नागराजलाई निमन्त्रणा गर्ने चलन अहिले पनि कायम छ । यसका लागि बुंगमतीका पाञ्जु (मच्छिन्द्रनाथका पुजारी)हरू टौदह गई एउटा पातको टपरीमा चामल र सानो सुपारीसहित नेपालभाषामा लेखिएको निमन्त्रणापत्र राखेर टौदहमा बगाउने गरिन्छ । टौदहका स्थानीयवासीका अनुसार अहिले पनि हरेक वर्ष जावलाखेलमा भोटो देखाइने दिन अरुतिर पानी नपरे पनि टौदह क्षेत्रमा भने सिमसिम भए पनि पानी पर्ने गर्छ । कर्कोटक नागराज आफ्नो भोटो हेर्न दहबाट निस्किने भएकाले त्यसरी पानी परेको विश्वास गरिन्छ ।

देवता एक, मन्दिर दुई
नेपालको धार्मिक सांस्कृतिक परम्परामा बुंगद्यः जतिको विशिष्ट र मौलिक देवता अरु पाइँदैन । बुंगद्यः हरेक वर्ष ६ महिना बुंगमतीमा विराजमान हुन्छन् भने बाँकी ६ महिना पाटनको तःबहाःस्थित मन्दिरमा । एउटै देवता यसरी दुइटा मन्दिरमा विराजमान हुने परम्परा अरु कुनै देवतामा छैन । 

बुंगद्यःलाई कामारुकामाक्षबाट नेपाल ल्याउँदा उनकी आमा लगायत अन्य धेरै राक्षस पनि उनलाई फर्काउन सकिन्छ कि भनेर पछिपछि आएका थिए । ती आमालाई आचार्य बन्धुदत्तले ललितपुरको लगनखेलमै तान्त्रिक शक्तिले रोकिदिए । त्यहाँ अझै पनि बुंगद्यःकी आमाको प्रतीकात्मक मूर्ति रहेको पाइन्छ । 

बुंगद्यःकै लागि भनेर राजा नरेन्द्रदेवले भक्तपुरमा पनि एउटा मन्दिर बनाएको किंवदन्ती पाइन्छ । तर बुंगद्यः ललितपुरमा रहने भएपछि भक्तपुरको उक्त मन्दिर खाली रहन गयो । हाल भक्तपुरको इताछेँ क्षेत्रतिर रहेको उक्त मन्दिरलाई स्थानीयवासी ‘लस्कःद्यः’ भन्ने गर्छन् । ‘लोकेश्वर द्यः’ नै अपभ्रंश हुँदै ‘लस्कःद्यः’ हुन गएको हो ।

त्यस्तै, बुंगद्यःको मूर्ति राखिएको एउटा सानो मन्दिर काठमाडौंको तेबहालमा पनि रहेको छ । बन्धुदत्त वज्राचार्यले बुंगद्यःकै प्रतिलिपिका रूपमा उक्त मन्दिर र मूर्ति राख्न लगाएको किंवदन्ती पाइन्छ ।  

बुंगद्यःको रथ तानेर जात्रा गर्ने परम्परा दोलखामा पनि पाइन्छ । दोलखामा हरेक वर्ष चैतमा बुंगद्यःको रथ जात्रा हुन्छ । त्यहाँ बनाइने रथको आकार भने ललितपुरको भन्दा सानो हुन्छ । रथको पांग्रा भने गोलो हुँदैन, दाँती सहितको हुन्छ, जसले गर्दा भीरपाखामा पनि रथ तानेर चढाउन सकिन्छ । एउटै जात्रा यसरी दुई ठाउँमा मनाउने चलन पनि अरु देवताका हकमा पाउन सकिँदैन ।

तीनै सहरको जात्रा
बुंगद्यःको जात्रा ललितपुरमा चलाउने भए पनि यो वास्तवमा काठमाडौं र भक्तपुरको पनि जात्रा हो । बुंगद्यःको रथ जात्रा पुल्चोकबाट सुरु गरी जब गाबहाल पु-याइन्छ, त्यसलाई काठमाडौंको जात्रा भनिन्छ । गाबहालबाट सुन्धारा पुगेपछि त्यसलाई भक्तपुरको जात्रा भनिन्छ । सुन्धाराबाट लगनखेल पु¥याएपछि ललितपुरको जात्रा हुन्छ । लगनखेलबाट जावलाखेल पु-याएपछि सारा नेपालमण्डलको जात्रा हुन्छ । रथलाई जावलाखेलमा पु¥याएपछि तीन दिनपछि मात्रै भोटोजात्रा गर्नुको कारण टाढा–टाढाका मानिस पनि जात्रामा सहभागी हुन सकून् भनेर हो ।

बुंगद्यःको रथ लगनखेलको थति टोलमा अलि लामै समय रोक्ने गरिन्छ । त्यसरी रथ रोकिराखेका बेला बुंगद्यः राति रथबाट ओर्लेर छेवैको पोडे टोलमा जाने र त्यहाँका स्थानीय युवतीसँग सुत्ने गर्छन् भन्ने पनि कथन छ । एकपटक त्यसरी युवती खोज्दै जाँदा बुंगद्यः कीर्तिपुर पुगेछन् र त्यहीँकै एक युवतीसँग लसपस भएछन् भनिन्छ । त्यसैले अहिले पनि उक्त युवतीलाई बुंगद्यःको प्रसाद दिनलाई थति टोलमा रथ तान्ने एक दिनअघि पाञ्जुहरू कीर्तिपुर पुग्ने गर्छन् ।  

इतिहासमा पनि बुंगद्यःको रथ जात्रालाई तीनै नगरका राजा र नागरिक मिलेर मनाएको पाइन्छ । बुंगद्यःको रथ जात्रा हुँदा ललितपुरका राजाहरू श्रीनिवास मल्ल, सिद्धिनरसिंह मल्ल, ऋद्धिनरसिंह मल्ल आदि आफैँ रथ तान्न जान्थे । श्रीनिवास मल्लले कान्तिपुरका राजा प्रताप मल्ललाई रथ जात्रा हेर्न निमन्त्रणा गरेका थिए । उक्त वर्ष भक्तपुरसँग ललितपुरको सम्बन्ध बिग्रेका कारण भक्तपुरका राजा जगतप्रकाश मल्ललाई भने बोलाइएको थिएन ।  

काठमाडौं उपत्यका एउटै राज्य भएका बेला पनि राजधानी भक्तपुरमा बस्ने राजाहरू ललितपुरसम्म आई जात्रामा सहभागी हुने गर्थे । भक्तपुरबाट राजा उपस्थित नभएसम्म जात्रा अघि बढाउन नमिल्ने नियम थियो । ने.सं. ४५७ मा राज्यसत्ता देवलदेवीले सञ्चालन गरिरहेका बेला उनले दरबारको प्रतिनिधिका रूपमा आफ्ना छोरा जगत् सिंहलाई जात्रामा सहभागी गराएका थिए । त्यसपछि राजा भएका जगत् सिंहका छोरीज्वाइँ जयस्थिति मल्ल पनि ललितपुरमा १४ दिनसम्म बसी बुंगद्यः जात्रामा सहभागी भएका थिए, (रवि शाक्य, बुंगदेवया घटनावली) ।

रथ जात्रा गर्नुअघि बुंगद्यःलाई लगनखेलको ‘न्हवं दबू’ मा ल्याई स्नान गराउनुपर्छ । यसलाई ‘न्हवं यायेगु’ भनिन्छ । न्हवं कार्यका लागि बुंगद्यःलाई तःबहालदेखि खटमा राखी लगनखेल ल्याइन्छ । त्यसपछि बुंगद्यःलाई पञ्चामृतबाट स्नान गराइन्छ । अनि, रथ कहीँ बिग्रेको वा रंग खुइलिएको छ भने रंगरोगन गर्ने कार्य गरिन्छ, जसलाई ‘लंपुं छायेगु’ भनिन्छ । यो जम्मै कार्य भक्तपुरबाट आउने नेकू जातिका मानिसले गर्नुपर्छ । नेकू जातिलाई राजा नरेन्द्रदेवका कान्छा छोराका सन्तान भन्ने गरिन्छ । ने.सं. ७७४ मा ललितपुर र भक्तपुरको सम्बन्ध बिग्रिरहेको अवस्था थियो, बुंगद्यःको स्नान गराउन भक्तपुरबाट नेकूहरू आएनन् । फलतः जात्रा चलाउनै ढिलो भयो । अहिले यी नेकूहरू ललितपुरमै बस्ने गरेको पाइन्छ ।

मल्लकालपछि शाह–राणा शासकहरू पनि बुंगद्यः जात्रामा सहभागी हुने गर्थे । तर मल्ल राजाहरू रथ तान्ने कार्यमै सहभागी हुने गर्थे भने शाह राजाहरू गरगहनाले सुसज्जित भई हात्ती घोडामा चढेर रथको पछिपछि मात्रै सहभागी हुन थाले । पछिल्लो समय राजाहरू भोटो जात्रामा मात्रै सरिक हुने चलन भयो । अहिले राष्ट्रप्रमुखको नाताले राष्ट्रपति भोटो जात्रामा सहभागी हुने गरिएको छ ।  

रथ र रथ यात्रा
बुंगद्यःको रथ जात्रा हरेक वर्ष चलाइन्छ । यो पुल्चोकबाट तानेर ललितपुरका विभिन्न स्थान परिक्रमा गरी जावलाखेलमा समापन हुन्छ । ठाउँठाउँमा साइत हेर्दै रथ तान्नुपर्ने भएकाले यो जात्रा सुरु हुने दिन मात्र भन्न सकिन्छ, समापनको दिन भन्न सकिँदैन । जात्रा कहिले डेढ महिना चल्छ, कहिले दुई महिना पनि चल्न सक्छ । त्यसैले बुंगद्यःको जात्रालाई नेपालकै सबैभन्दा लामो जात्रा भनिन्छ ।  

१२ वर्षमा एकपटक भने बुंगमतीदेखि नै रथ तानेर ललितपुर ल्याइन्छ । ललितपुर पुगेपछि साबिक रुटमा जात्रा गरिन्छ । जावलाखेलमा भोटो देखाइसकेपछि रथलाई पुनः बुंगमतीमै तानेर लगिन्छ । र, त्यहाँ पनि जावलाखेलमै भोटो देखाएर जात्रा समापन गरिन्छ, (त्यहाँ पनि जावलाखेल भन्ने ठाउँ छ) । १२ वर्षमा आयोजना हुने जात्रा तीनदेखि चार महिनासम्म चल्न सक्छ । उक्त साल बुंगद्यःलाई ६ महिनाका लागि ललितपुरमा ल्याएर राख्ने कार्य पनि गरिँदैन । पहिलेपहिले बुंगद्यःको रथ हरेक वर्ष बुंगमतीदेखि नै तानेर ललितपुर ल्याउने र जात्रा सकाएर पुनः बुंगमती नै फर्काउने गरिन्थ्यो भन्ने पनि कथन पाइन्छ । कहिलेकाहीँ बाढी आएर नख्खु खोला तर्न गाह्रो हुने भएकाले बुंगद्यःलाई वर्षा सुरु हुनुअघि नै ललितपुरमा ल्याएर राख्ने र जात्रा सकिएपछि पुनः बुंगमती फर्काउने चलन थियो । यसको ठोस प्रमाण भने भेटिएको छैन ।  

६० फिट अग्लो हुने बुंगद्यःको रथ बनाउँदा किलाकाँटा जस्ता धातुका कुनै पनि सामान प्रयोग गरिँदैन । काठ, बेत, डोरी मात्रै प्रयोग गरी रथ बनाउने भएकाले यो रथ अत्यन्त भारी हुन्छ । साथै तान्दा सन्तुलन बिग्रिएर रथका अंग भाँच्चिने वा रथै ढल्ने पनि हुन्छ । बुंगद्यःबारे विद्यावारिधि गरेका विज्ञ ब्रुस ओवेन्सका अनुसार बुंगद्यःको रथ दक्षिण एसियामै नमुना हो । यस्तो रथ यो क्षेत्रमा कहीँ पनि पाइँदैन ।  

१२ वर्षको जात्रा गर्दा बुंगद्यःको रथ पनि पूर्ण रूपमा नयाँ बनाउने गरिन्छ । रथ बनाउँदा यसमा पाँच प्रकारका काठको प्रयोग गरिन्छ, जस्तोः  

१) सान्दान  
नेपालभाषामा यसलाई ‘नःसिँ’ भनिन्छ । विशेषतः रथको चक्का बनाउन यसको प्रयोग गरिन्छ ।  

२) फलाँट  
यसलाई नेपालभाषामा ‘सँुसिँ’ भनिन्छ । रथको नौतले रहने अग्लो भाग बनाउन यो काठ प्रयोग गरिन्छ ।  

३) लाकुरे  
यसलाई नेपालभाषामा ‘तुंसिँ’ भनिन्छ । मछिन्द्रनाथको रथमा मुख्य मूर्ति रहने स्थानको चारैतिर चारवटा खम्बा रहेको हुन्छ । त्यो खम्बा यो काठबाट बनाइन्छ ।  

४) मयल  
नेपालभाषामा यसको नाम ‘नसिँ’ हो । रथ तान्दा रथलाई नियन्त्रण गर्न ह्यान्डिल जस्तो बनाइएको हुन्छ, जसलाई ‘घःकू’ भनिन्छ । त्यो ह्यान्डिल बनाउने काठ मयल हो ।  

५) सौर  
यसलाई नेपालभाषामा ‘नागबसि’ भनिन्छ । रातो मछिन्द्रनाथ रथको अर्को महत्वपूर्ण अंग ‘घःमाः’ हो । रथको अगाडि नै रहने यो ‘घःमाः’ ३२ हात लामो हुन्छ । यसको सबैभन्दा अगाडिको भागमा ह्यंग्रीव भैरवको मुखौटा राखिएको हुन्छ । अत्यन्त लामो र बलियो यो ‘घःमाः’ सौर काठबाट बनाइन्छ ।

बुंगद्यःको रथ काठैकाठले बनाइए पनि सिंगो रथमा भने विभिन्न देवीदेवताको वास रहेको हुन्छ । रथ तान्नुअघि यसमा स्वयम्भू भगवान् विराजमान गराउनुपर्छ । त्यसैले रथको पछाडिको भागमा बोधिसत्वको मूर्ति राखिएको हुन्छ, जसलाई भीमश्वर तथागत भनिन्छ । रथको घःमाःलाई कर्कोटक नागराजको प्रतीक मानिन्छ । घःमाःको अगाडि ह्यंग्रीव भैरवको मुकुण्डो राखिएको हुन्छ, जसलाई रथको अनुहार भनिन्छ । रथका चारवटा चक्कालाई चार भैरवको प्रतीक मानिन्छ, जस्तोः अगाडिको दायाँ चक्का हरिसिद्धि भैरव वा बायाँ चक्का टीका भैरव, पछाडिको दायाँ चक्का लुबु भैरव र बायाँ चक्का इखालखु भैरव । यी भैरव सधँै यथास्थानमै रहने गर्छन् । अगाडिपछाडि गर्नु हुँदैन । चक्काहरूका बीचमा ‘चाक्सुकामुनि’ नामक देवता रहेको हुन्छ ।  

रथ निर्माणदेखि जात्रा सञ्चालन र समापनसम्मको कार्यमा ललितपुरमा रहेका विभिन्न १९ वटा स्थानीय नेवार जातीय समुदायको सहभागिता रहेको हुन्छ ।

भक्तपुर फर्काउने किंवदन्ती  
बुंगद्यःको रथ जात्रा जतिसुकै लामो चले पनि असोज महिनासम्म जात्रा नसकिएर बुंगद्यः रथभित्रै रहे भने बुंगद्यःलाई भक्तपुरवासीले लैजान्छन् भन्ने किंवदन्ती पाइन्छ । गएको साता बुंगद्यःको रथ जात्रा सम्पन्न गर्न केही युवाले जो हतारो गरे, त्यसको पछाडि पनि यही मनोविज्ञान लुकेको ठानिन्छ । यसबारे लेखिएको कुनै ऐतिहासिक दस्तावेज पाइँदैन । तर लेखक जोन के. लकले आफ्नो पुस्तक ‘करुणामय’मा लेखेका छन्, ‘असोजसम्म पनि बुंगद्यः रथमै रहे भक्तपुरमा लगिनेछ । लैजाँदा खटमा राखेर लगिन्छ । त्यहाँको एउटा मन्दिरमा उनलाई राखिन्छ । उनको पूजाआजा बुंगमतीकै पाञ्जुहरू गएर सम्पन्न गर्नुपर्छ । बुंगद्यःलाई ललितपुरको तःबहालमा लैजाने समय नभएसम्म भक्तपुरमै राख्ने गरिन्छ । आजभन्दा सय वर्षअघि पनि एकपटक बुंगद्यःलाई भक्तपुर लगिएको थियो ।’

लकका अनुसार, ‘सन् १९७६ को जात्रामा पनि रथ धेरै समयसम्म लगनखेलमै रह्यो । पछि तानेर जावलाखेलतिर लैजाँदा पनि खाल्डोमा खसेर रथ क्षतिग्रस्त भयो । त्यसपछि हतारहतार बुंगद्यःलाई रथबाट निकाली खटमा राखेर जात्रा सम्पन्न गरिएको थियो । जात्रा सम्पन्न गर्न यदि पाञ्जुहरूले ढिलाइ गरे भने बुंगद्यःलाई भक्तपुर लैजाने अधिकार ‘नरेन्द्रदेव’लाई छ ।’

त्यसो त बुंगद्यःलाई भक्तपुर मात्र होइन, कामारुकामाक्ष नै फर्काउने प्रयास पनि हरेक वर्ष भइरहेको विश्वास गरिन्छ । बुंगद्यःलाई कामारुकामाक्षबाट नेपाल ल्याउँदा उनकी आमा लगायत अन्य धेरै राक्षस पनि उनलाई फर्काउन सकिन्छ कि भनेर पछिपछि आएका थिए । ती आमालाई आचार्य बन्धुदत्तले ललितपुरको लगनखेलमै तान्त्रिक शक्तिले रोकिदिए । त्यहाँ अझै पनि बुंगद्यःकी आमाको प्रतीकात्मक मूर्ति रहेको पाइन्छ । अन्य राक्षस, भूतप्रेत, पिशाच भने ‘बुंगद्यःलाई नलिई फर्कन्नौँ’ भनी अझै पनि प्रयासरत रहेको मानिन्छ । ‘बुंगद्यःको जात्रा समापन हुनेबित्तिकै उनलाई लिएर जान्छौँ’ भनी जात्राको अन्तिम दिन भूतप्रेतहरू जावलाखेल वरपर घुमिरहेका हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले जात्रा सुरु हुनुअघि नै ती भूतप्रेतलाई पन्छाउन त्यहाँ तान्त्रिक विधिद्वारा पकाइएको विशेषखाले भात चारैतिर छर्कने चलन छ । त्यसलाई नेपालभाषामा ‘जा ह्वलेगु’ भनिन्छ । त्यसरी भात छर्कने उक्त चउरलाई नेपालभाषामा ‘जा ह्वलेगु ख्यः’ भनिन्छ । त्यही ‘जा ह्वलेगु ख्यः’ अपभ्रंश हुँदै अहिले ‘जावलाखेल’ हुन गएको हो ।

बुंगद्यःको क्वारेन्टिन
जावलाखेलमा भोटो प्रदर्शन सकिनेबित्तिकै बुंगद्यःको रथ जात्रा समापन हुन्छ । सोही दिन बुंगद्यःलाई रथबाट निकाली खटमा राखेर बुंगमतीतिर फर्काइन्छ । त्यतिबेला बाटोभरि छ्वालीको राँको बाली बाजा बजाउँदै बुंगद्यःको जात्रा हुन्छ । बुंगमती लिएर जाँदा बुंगमतीका स्थानीय मानिसले बुंगद्यःलाई बाटोभरि गाली गर्दै लैजाने गर्छन् । धेरै दिनसम्म घरबाट टाढा गएको, युवतीहरूसँग लसपस गरेको, बाहिर जथाभावी खाएको आदि भन्दै उनलाई गाली गर्ने रहेछन् । बुंगमती पुगेपछि पनि उनलाई एकैचोटि मन्दिरमा विराजमान गराउँदैनन् । उनलाई अर्कै एउटा कोठामा चार दिनसम्म राखेर विशेष पूजाआजा गरिन्छ । उक्त समयमा उनको सार्वजनिक दर्शन पनि वर्जित हुन्छ । धेरै दिनसम्म बाहिर बसी विभिन्न मानिसको पूजा ग्रहण गरेको, विभिन्न मानिसलाई छोएको आदि कारणले गर्दा अशुद्ध मानी बुंगद्यःलाई चार दिनसम्म छुट्टै राख्ने यो विधिलाई हालको भाषामा ‘क्वारेन्टिनमा राखेको’ भन्न सकिन्छ । चार दिनपछि उनी शुद्ध भएको मानिन्छ र त्यसपछि मात्रै मन्दिरमा विराजमान गराइन्छ । मन्दिरमा विराजमान गरेको दिन ‘प्यन्हु बिचाः’ जाने भनी उपत्यकाभरिका मानिस बुंगमती पुग्छन् । उक्त दिन त्यहाँ मेला नै लाग्ने गर्छ ।
०००
यस वर्ष कोरोना महामारीका कारण रोकिएको जात्रा सम्पन्न गर्नुप-यो भनी केही युवाले बिना कुनै तयारी पुल्चोकमा रथ तान्ने प्रयास गरेपछि प्रहरीसँग झडप भयो । केही अभियन्ता समातिए । उक्त घटनाका कारण स्थानीय संस्कृतिप्रेमीबीच विभाजनको स्थिति समेत उत्पन्न भयो । अत्यन्त विधिपूर्वक तानिनुपर्ने बुंगद्यःको रथ त्यसरी आक्रोशको भरमा तान्न खोज्नु अवश्य पनि गल्ती थियो । मानिसलाई अराजक, उच्छृंखल र आक्रोशित बन्नबाट रोक्नका लागि नै हाम्रा पुर्खाले विभिन्न दर्शनले ओतप्रोत संस्कृति निर्माण गरेर गएका हुन् । संस्कृति नै अराजकतापूर्वक मनाउने हो भने भोलि त्यसले संस्कृतिलाई बचाउने होइन, बिलाउने बनाइदिन्छ । तथापि, पुल्चोकमा उक्त दिन स्थानीय संस्कृतिप्रेमीले जुन आक्रोश पोखे, त्यो केवल बुंगद्यःको जात्रा समयमै सम्पन्न नहुनुको मात्रै आक्रोश थिएन । अहिले विकास र निर्माणका नाममा राज्यद्वारा उपत्यकाका रैथानेको घर, जग्गा, खेत लुटेसरी अधिकरण गर्ने जुन सुनियोजित अभियान अगाडि बढाइरहेको छ, त्यसविरुद्धको पनि आक्रोश हो यो । श्री बुग्मलोकेश्वर (हाल फ्रान्सको पेरिसमा पुगिसकेको बुंगद्यः सम्बन्धी सबैभन्दा पुरानो पुस्तकमा अंकित मूर्ति) ले राज्यलाई यति कुरा बुझ्ने सद्बुद्धि देओस् ।  
००० 

प्रकाशित: २७ भाद्र २०७७ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App