२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नवराज रिजालका पाँच लघुकथा

लघुकथा

नवराज रिजाल

 

            नियति

कसैको बालीमा वस्तु पस्यो है, सखाप पार्ला नि । आफुलाई त के मतलब ?” कतैबाट सुरिलो आवाज आयो । गाउँले सबै आआफ्ना काममा व्यस्त थिए ।  खेतिपातिको समय थियो । पहिलो आवाजतिर कसैको त्यस आवाजतर्फ ध्यान जान सकेन ।

 “लौ अहिलेसम्म कोही आएको छैन ?  कसरी निर्धक्क बस्न सक्या होला ? छक्कै परेँ ।” दोस्रो आवाज एकछिन पछि आयो । यसले अघिको भन्दा केही बढी मानिसको ध्यान खिच्यो । सुन्नेहरूको आँखा वरिपरिको परिवेशमा घुम्न लाग्यो । तर कसैले कुराको भेउ बुझेन । अघिको स्वर बिस्तारै मलिन बन्दै गयो । सबै पुनः आआफ्नो पूर्व कर्ममा लागे ।

“हैन, त्यो घरमा कोही छैन ? बाहिर यत्रो होहल्ला छ, कतै चालचुल पो देखिन्न त ।” तेस्रो आवाज अलि धेरैले सुने । मानिसहरू एकएक गर्दै घरबाट निस्कने क्रम चल्यो । खैलाबैलाले अधिकांशको ध्यान खिचियो ।  

“कस्को बाली कस्को वस्तुले चरेछ ?” चौतारामा उपस्थित धेरैका आँखाले एक अर्कोलाई पालैपालो सोधे ।

“अहिले हो र भन्या ? मैले त धेरै पहिल्यै देखेको । कोही सुन्दैन त ।” चौथो स्वर उपस्थिहरूतिर  फर्कदै मुस्कुरायो ।

“कस्तो कुम्भकर्णे सुताई ? ओछ्यान भेटेपछि सुतेको सुत्यै । त्यसो गर्नुहुन्छ ?” अघिल्लाहरूको तुलनामा अझ चर्को स्वरले बोल्यो पाचौँ । उसको बोलीमा सबैको ध्यान खिचियो । त्यतिबेलासम्म त्यहाँ मानिसको बाक्लो उपस्थिती भैसकेको थियो । सबैले बालीसम्म पुग्ने निर्णय गरे ।  

बालीधनी पनि टुप्लुक्क आइपुगे ।बाली चर्ने पल्लो घरेको बहर त्यहीँ उभिएर उघ्राइरहेको थियो । बूढालाई रीस उठ्यो । लठ्ठीले दुई सोड्का लगाए । अनि पुर्पुरोमा हात राखेर खुइय गर्दै थुचुक्क भुईमा बसे ।  

“धत् पशुलाई त्यसरी पिट्न हुन्छ ? अरमल लिए भैहाल्यो नि !” उपस्थित मध्येका एक बुज्रुगले सुझ्याए ।  

“हो नि ! पशुमाथि अनाहकमा हातपात गर्नहुन्न ?” बाली खायो भन्दै चिच्याउने पाँचैजनाले एकै अवाजमा भने । बहर मालिक पल्लोघरेको अझैँ अत्तोपत्तो थिएन । ती पाँचैजना बूढाका पाँच भाइ  छोरा थिए ।

 

                      बोली

 

बाढीले गाउँ क्षतविक्षत बनायो ।केहीको ज्यानै पनि गुम्यो । गाउँमा खोलै पसेकाले खाद्यान्न वा लत्ताकपडा कसैसँग बचेन ।  

गाउँमा नयाँ अनुहार देखिने बित्तिकै आशाको सञ्चार जागृत हुन्थ्यो । “केही ल्याएको हुनुपर्छ ।” ती अड्कल काट्थे । सबै गुमाएकाहरूका सोचलाई अन्यथा ठान्न सकिने स्थिति पनि थिएन । सरकार प्रतिको धारणा राम्रो थिएन । तर प्रतिपक्षप्रति सकारात्मक थिए । “रे मरदवा प्रधानमन्त्री न आइलबाडन् चल स्वागत करे ।” राम्दुलारीले बिसुनदयालतिर फर्केर भनी । “धत् नचाहिने कुरा कहाँ आउँछन् प्रधानमन्त्री ?” उसले प्रतिवादमा भन्यो । रामदुलारी मान्ने पक्षमा थिइन । “अरे हम् झुठ बोलेवाला ना बानी ।” प्रत्युतरमा भनी ।  

ऊ अकमकियोे, तर अडान छाडेन । चुनाउपछि मुखियाजी समेत झरी बादलमा हिँड्दैनन् । कसरी आउलान् प्रधानमन्त्री ? मनमा तर्कना चले ।

 “अभियो विश्वास नै खे का, मजाक करतानी ?”उसले पुनः अडान दोहो¥याई । अकमक्क प¥यो ऊ । पोहोर प्रधानमन्त्रीले चिलगाडीबाट निरीक्षण गरेका थिए । अहिले गाडीबाटै ! सहानुभूति पलायो । यी फरक रहेछन, मनमनै सोच्यो । “म पनि जान्छु” त्यसपछि भन्यो । रामदुलारी हर्षित भई । ‘थोरा रुक, दु चार जनाके कहेके अभी भी बाकी बा ।’ हाँस्दै भनी । पोहोरको विपतमा प्रतिपक्षी नेता आएका थिए । सरकारको खुबै आलोचना गरेका्े, उसले बिस्तारै सम्झियो ।  

“प्रधानमन्त्री नै आउँदै छन् भने केही हुन्छ कि !” मनमा बिभिन्न कुरा खेलाउँदै तोकिएको ठाउँमा पुग्यो । भाषण चालु थियो । जनताले पाएको दुःख, सरकारको लाचारीपन र हरेक वर्षको बाढीले पु¥याइरहेको क्षति भाषणको विषय थियो । ताली राम्रै बज्यो ।

“कुरा गर्नेले काम किन नगरेको होलान् ? यी पनि पुर्व प्रधानमन्त्री नै हुन क्यारे ।” छेउमा रहेको भजनलालले रामचन्द्रको कानमा खुसुक्क भन्यो । त्यो हाँस्यो मात्र ।  

“पोहोर  यी सत्तामै थिए ।’ गोवर्धनले थप्यो ।

“खेल हो, अहिले प्रतिपक्षमा छन् । उनको भाषा यस्तै हुन्छ ।” रामदयालले थप्यो । बिसुनदयाल र रामदुलारी तिनीहरूको नजिकै उभिइरहेका थिए । उनीहरूले प्रधानमन्त्रीको कुरो बुझे तर अरू केही पनि बुझेनन् ।

 

निन्द्रा

 

सावित्रीको आँखा घडीमा प¥यो । बिहान आठ बजेको सूचना दिईरहेको थियो त्यो ।तरसत्यावान उठेका थिएनन् ।समयले सीमा मिचिएको जानकारी गराइरहेको थियो । उनको बक फुटेन तर अकमक्क बन्यो मनमस्तिष्क ।

“किन होला त ?” मनमा विविध प्रश्नहरू उब्जे । साविकमा छ बजे उठ्ने उनी विगत केही समयदेखि पाँचै बजे उठ्न थालेका थिए ।छबजे देखि त भेट्घाटमै व्यस्त रहन्थे । तर आज यतिबेला सम्म पनि उठिरहेका थिएनन् । बिरामी परेको कुनै जानकारीछैन । तीनघण्टा अगाडिसम्म सँगै थिए ।

देश बन्दाबन्दीमा परे पनि बिहानैदेखि घरमा अनेकौँ मानिस भेटघाटका लागि आउँथे । उनी पनि जान्थे ।फर्कने निश्चित समय हँदैनथ्यो । पतिको दैनिकीमा उनलाई खासै चासो पनि लाग्दैनथ्यो । बीस वर्षको जीवन यात्रामा यस्ता धेरै गतिविधि देखेकी र भोगेकी थिइन् ।

आज हिजो अस्तिझै हुलका हुल मानिसहरू भेट्न आएका पनि छैनन् ।पति पनि निश्चिन्त भावमा सुतिरहेका छन् ।ओछ्यानमै चिया पिउने स्वभावका उनलाई सवित्रीले ल्याएको तीन कप चिया सेलाएको कुनै हेक्का छैन । छक्क परिन् तर पनि उठाउने साहस गर्न सकिनन् ।                                                    

बिहान दशबजे खाना खाँदै गर्दा अलिकति अप्ठेरो मान्दै सावित्रीले जिज्ञासा राखिन् । सत्यवान पहिलेत बोलेनन् ।मुसुक्क हाँसे मात्र । सावित्रीले पुनःजिज्ञासा राख्दै भनिन् “तपाईं यति आनन्द मानेर सुतेको मैले कहिल्यै देखेकी थिइनँ ।सधैँजसो तनावमा देखिनु हुन्थ्यो । खुला राजनीतिमा आएपछि तपाईको तनाव अझ बढेको मेरो अनुमान छ ।  तर आज राती त निन्द्रामा हाँस्तै पनि हुनुहुन्थ्यो ।”  

 “हिजो देखि त मेरो लागि पनि व्यबस्था भएछ क्या ! तिमी पनि भाग्यमानी रहिछौ ।”हातको गाँस हातमै राकेर सत्यवानले मुस्कुराउँदै भने ।सावित्रीले पहिले कुरो बुझिनन् ।एकटकले पतिलाई हेरिरहिन मात्र । कुरो यतिमै अडियो ।

दिउँसो घरमा पत्रिका आयो  । “अध्यक्षलाई कुर्सीको व्यवस्था ।” मुख्य समाचारमा लेखिएको थियो । त्यसपछि साबित्रीले विस्तारै सत्यवानको निन्द्रा र हाँसोको रहस्य बुझिन् ।

 

       राहत

 

सुखदुख गर्दै एक खालको जीवन धानिरहेका थिए । बूढाको बोली सबैको शिरमा थियो । सम्पत्ति धेरै नभए पनि परिश्रम गर्दा परिवारलाई जीवन धान्न  कुनै कठिन थिएन ।

“कति दुख ःगर्नु सधैँ ? जहिले पनि यस्तै हो । मीठो मसिनो खान चाड्बाड नै कुर्नुपर्छ ।” एकदिन छोरोले एकाएक मुख खोल्यो ।  बुढाको कानमा कुरो  च्वास्स प¥यो तर सुनेको नसुन्यै गरे ।  

“मलाई पनि त्यस्तै लागिरहेछ क्या । कति सुन्नु बाको कुरा ? जहिले पनि त्यही कुरा दोहो¥याई रहनुहुन्छ । उहीआफ्नो गरअनि आफँै गर । परिश्रमी र स्वावलम्बी बन । कहिलेकाहीँ त केही न केही नयाँ भन्नु नि, सधैँ उही पुरानो, उही थाङ्नो “छोरीले थपी ।  

उनी भान्छामा थिए । छोराछोरीको खाने काम अघि नै सकिएको थियो । तिनीहरूले गरेका गफका शब्द कानमा प्रस्टसँग ठोकिए ।  श्रीमतिले मुखमा पुलुक्क हेरिन् । दुवैको आँखा एकआपसमा जुधे ।गाउँका अधिकाश युवा परदेशमा थिए । उनको घरमा त्यो अनुमति थिएन । “जे गर्नु छ यहीँ गर् साधन र श्रोतको कमी हुने छैन ।” बारम्बार भन्ने गर्थे । तर ती उनको विचारसँग पुरापुर असन्तुष्ट थिए तर प्रतिकार गर्ने हैसियत राख्दैनथे । मनमनै जति मुर्मुरिए पनि बाउले सुन्ने गरी अभिव्यक्त  पनि दिँदैनथे । अघिको कुरा पनि दाजु बहिनीको बिचमा मात्र भएको थियो ।

श्रीमती समेत विपक्षमा उभिएपछि अन्त्यमा उनको जोडबल फिक्का भयो । छताछुल्ल वर्तमान निर्वस्त्र बनेको ठाने । वर्तमान मानसिक सन्तुलन गुमाएको बिरामीझैँ डुलिरहे जस्तो लाग्यो । मनमनै अबदेखि अवरोध नगर्ने अठोट गरे । कतिपय आफन्तको सल्लाह पनि यस्तै थियो । ती कल्पनाको फुलबारी मनमा गोड्दै आकाशमा उडे । त्यसपछि जीवनयापनमा सहज मात्र होइन, शैली परिवर्तन पनि भयो । छिमेकीको आड्मा परदेसिएका उनीहरू पिताको देहान्तपछि स्वदेश फिरे । ती फर्कँदा पारिवारिक स्थिति क्षीण त थियो नै जायजेथा सावाँव्याजमा परिणत भैसकेको थियो ।

 

          बहादुर

 

“हामी बहादुर हौँ । विश्वले बहादुरकै रूपमा लिएको छ । यसका निम्ति पूर्खाप्रति कृतज्ञ हुनु आवश्यक छ ।” एकले हाँसोमा अलिकति मुस्कान मिसाएर भन्यो ।  

“हो त हामीले कहिल्यै अरूको दासत्व स्वीकार्नु परेको छैन । यस्तो भन्न पाउँदा छाती गर्वले प्रफुल्लित बन्छ । यो अवसर विश्वका कतिपय देशलाई छैन । हामी त बहादुर पुर्खाका सन्तान पो हौँ त ।” दुईले थप्यो ।  

“पुर्खाले साह्रै ठूलो गुन लगाए नि । हाम्रो शिर अहिलेसम्म कसैको अघि निहुरिएको छैन । वर्तमानमा बलिया ठानिएका कैयौँ मुलुकले पराधिनता स्वीकार्नु परेको थियो । तर हामी जोगियौँ।” तीनले पनि स्वविचार प्रस्तुत ग¥यो ।  

“कुनै समयका कमजोर र पराधिनहरू समेत यतिखेर बलशाली भैसके तर हाम्रो स्थिति अहिलेसम्म कमजोर छ । किन त ?” चार तिनीहरूतिर फर्कियो ।  

त्यसले चारै जनाको कुरो सुनेको थियो । ती चिया पिइरहेका थिए । बोलँु कि नबोलुँ बालुको मन दोधारमा प¥यो । एकछिन घोरियो र सोच्यो “बोल्छु” अन्त्यमा निर्णय ग¥यो  ।

 “छ न त अहिले पनि हामी बहादुर नै छौँ । तर पराया इशारामा चल्ने बहादुर । त्यो बहादुरीले  अरूलाई नै लाभ भैरहेको छ । हामी आँखामा पट्टि बाँधेर इतिहास बेचिरहेछौं । यसलाई कुनै पनि अर्थमा सानो भन्न मिल्दैन ।” बालुले पालैपालो चारै जनाको आँखा हे¥यो  । कोही पनि बोलेनन । एक्टकले हेरिरहे ।  

“आफ्नो लागि हैन, अर्काको लागि काम गर्ने हामी भाडाका बहादुर “ उसले  थप्यो ।  तिनीहरूसँग आखा जुधाउन खोज्यो तर कसैले पनि बालुसँग आँखा जुधाउने आँट गरेनन् ।

प्रकाशित: २४ भाद्र २०७७ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App