११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

अतिवाद

नीतिकथा

  कमल रिजाल

 

संसारमा मानिस निरन्तर आइरहेका पनि छन् । गइरहेका पनि छन् तर कहाँबाट आइएको हो र कहाँ जाने हो भन्ने कुरा भने कसैले पनि भन्न सक्दैन वा कसैलार्ई पनि थाहा छैन । बाबुआमा गएका र छोराछोरी आएका देखेर सबैले आफ्नो पनि आउने र जानेक्रमको अनुमानसम्म लगाउन त सक्छन् तर कसैले पनि आइएको स्थान र जाने स्थानबारे भने यसै भन्न सक्दैनन्, सकेका छैनन् । यद्यपि संसारमा आउनेहरू सबै आफू खुशी आएका हुन्छन् । अहिलेसम्म कसैले पनि दरखास्त हालेर आएको उदाहरण पनि भेटिएको छैन । कसैले टिप्पणी सदर गरेर पठाएको उदाहरण पनि भेटिको छैन । जति आएका छन् सबै अनायासै आएका छन् । अनायासै आएकाले सबै आफू खुशी नै आएका हुन् तर जादा भने कोही पनि आफू खुशी जान चाहदैनन्, गएका हुँदैनन् ।  

कोही पनि सितिमिति जान चाहदैनन् । सबैका सबै सकेसम्म यतै बस्न खोज्छन् । यसका लागि देवीदेवता भाक्नेदेखि धामीझाँक्री डाक्नेसम्म र डाक्टर वैद्य खोज्नेदेखि राहु, केतु पुज्ने आदि यावत् कार्य गर्न पुगिरहेका हुन्छन् । कोही पनि आफू खुशी जाँदैनन्, जान चाहदैनन् वा जान सक्दैनन् । कदाचित कसैले त्यस्तो बाटो अप्नायो भने उसलाई समाजले कि मानसिक सन्तुलन गुमेको स्थितिमा चित्रण गर्छ कि समयसित सम्झौता गरेर चल्न नसक्ने पानी मरुवाको संज्ञा दिने गर्छ । धार्मिक कानूनले त यसै पनि उहिल्यै जघन्य अपराध संज्ञा दिसकेको छ ।  

धेरै पहिलेको कुरा हो एकपटक नारदलाई सुँगुरको दुःख देखेर दया लागेछ र भनेछन्–  

‘सुुँगुर भाइ, कति बस्छौ यस्तो दिसापिसापको घिनलाग्दो नरककुण्डमा । हिँड् जाउँ स्वर्गमा, के जान चाहन्छौ ?’  

नारदको कुरा सुनेर ऊ एकछिन अकमकियो । जान्न भनौं भने त्यति ठूला ऋषिले भनिसके कसरी जान्न भन्ने । हुन्छ भनौं भने यति प्यारो संसार, जहान, परिवार सबै छाडेर कसरी हुन्छ भन्ने । उसलाई के भनौ के भनौ भयो । अन्ततः जान त जाने हो तर श्रीमती विरामी छिन्, बच्चाबच्ची सानै छन्, उनीहरूको विवाह वा घरजम भएको छैन आदि बाहना बनाई ऋषिलार्ई टार्दै गयो । जब टार्ने बाहना पनि सकिएर हैरान भयो त्यसपछि चाहिं भनेछ–  

‘ऋषिवर,तपाईंले भन्नुभएको ठीकै हो । म स्वर्ग जान तत्पर छु तर पहिले यो भन्नुस कि गएर पनि यसैगरी विष्टा खान पाउँछु कि पाउन्न ?’  

धेरै पहिलेदेखि गुरुजनहरूबाट सुन्दै आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर संसार छाड्ने अवस्थामा मानिसको स्थिति पनि योभन्दा खासै भिन्न छैन । जतिसुकै ठूलो दुःखको सागरमा डुबेको भए पनि र रोग, उमेर वा अन्य यस्तै कुनै कारणवश गलेर एउटै थालमा परेको भए पनि उसले समेत कसैले आएर दुःख पायौ, हिँड् जाउँ स्वर्ग भन्यो भने पक्कै कि केही भन्नेछ । कि केही सोच्नेछ । भलै उसले ‘हे हरि यस अभागीलाई कति दुःख दिन्छौ, चाँडै आएर लैजाऊ’ भनेर निरन्तर फलाक्दै आएको नै किन नहोस् ।  

तैपनि यथार्थ के हो भने जसले जे जति प्रयास गरे पनि र जसको जे जस्तो चाहना भए पनि सबैले एकपटक जानैपर्छ, गइरहेका छन् । जसरी अज्ञात स्थानमा गइरहेका छन् त्यसैगरी अज्ञात स्थानबाट आइरहेका पनि छन् । एकथरी आफ्नै आँखाले देखे जस्तो गरी सबैको आउने वा आएको स्थान पनि भट्याइरहेका छन्, गएको वा जाने स्थान पनि देखाइरहेका छन् भने अर्का थरी कोही कहींबाट आएको पनि होइन र जाने पनि होइन, सबै आगोको फिलिङ्गो जस्तो यहीं उठ्छ र यहीं बिलाउँछन् भनिरहेका छन् । वास्तवमा यी दुवै अतिवाद हुन् । न कहींबाट आएको र कहीं गइरहेको भन्नेहरूले नै त्यस्तो स्थान देखेका छन् । न कहींबाट आएको पनि होइन र कहीं गएको पनि छैन भन्नेहरूले नै त्यस किसिमको अनुभव गरेका छन् । यसलाई हामी निम्न उदाहरणबाट अझ बढी प्रष्ट हुन सक्छौं ।

गैराघरे गजेन्द्रप्रसाद गाउँका निकै जानेमाने पण्डित हुन् । गाउँठाउँमा उनको राम्रै धाकरवााफ छ । सबै पण्डित बा भन्छन् र गाउँका शुभाशुभ कार्यमा उनको उपस्थिति अनिवार्य मानिंदै आएको छ । सानैदेखि गाउँमा कथा पुराण भन्दै आएकाले कथा त कति भने कति । निरन्तर कथा भने, भनी नै रहे । मानौं उनको जन्म नै कथा भन्नका लागि भएको थियो तर उनले जतिपटक कथा भने पनि सबै अरूले भनेकै भने, त्यसमा रतिभर पनि आफ्नो भन्ने थिएन । उनी कथा भन्थे । स्वर मिलाएरै भन्थे । बिस्तारै उनका कथा सङ्गीतमय समेत हुँदै गएका थिए तर अवस्था भने दिनभरि दालमा डुबेर रहेको डाडुको भन्दा फरक थिएन । जसरी दिनभरि दालमा डुबेर रहे पनि डाडुले दालको स्वाद पाउँदैन त्यसैगरी उनले पनि कथाको मर्म बुझ्न सकिरहेका थिएनन् । उल्लिखित दुवै अतिवादीहरूको अवस्था पनि योभन्दा भिन्न छैन । उनीहरूले जे भनेका छन् त्यो उनीहरू आफैले देखेका होइनन् । जे भने अरूले भनेकै भनिरहेका छन्, त्यसैमा मपाईंपन प्रस्तुत गरिरहेका छन् । उनीहरू आफैलाई भने यसबारे किञ्चित पत्तोसम्म छैन ।  

संसारमा निरन्तर आउनेक्रम चली नै रहेको छ । पछिल्ला दिनहरूमा आउनेहरूको संख्या झन्झन् बढ्दै गएको छ । यसैले प्रष्ट पार्छ कि कतै न कतै यसको स्रोत हुनुपर्छ । अन्यथा स्रोतको अभावमा अहिलेसम्म आउनेक्रम नै बन्द भइसक्नुपर्ने हो । निरन्तर खर्च मात्र भइरहने हो, थपिनेचाहिं कतैबाट पनि होइन भने एकदिन समुद्रको पानी त सकिन्छ भने अरूको के कुरा भयो र तर यहाँ त त्यस्तो छैन । आउनेक्रम नरोकिएको मात्र होइन बढ्नेक्रम समेत जारी छ । जुन मात्रामा आउनेक्रम बढिरहेका छन् सोही मात्रामा जानेक्रम पनि बढ्दै गएका छन् । यसबाट जो जसले कहींबाट आएको पनि छैन र कहीं गएको पनि छैन भनिरहका छन् उनीहरूको मत त आफै खण्डित हुन पुगेको छ तर जो जसले आउने र जानेकाक्रम र स्थान बताइरहका छन् त्यसको स्रोतबारे भने अनुसन्धान आवश्यक देखिन्छ । हालसम्म मानिसले बाह्य संसारको अनुसन्धानमा त निकै प्रगति गरिसकेका छन् । आशा गरौ भोलि यसैगरी कसैले आन्तरिक अवस्थामा पनि अनुसन्धान शुरू गर्लान् कि ।  

प्रकाशित: २२ भाद्र २०७७ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App