गोम विक्रम
१
छोइ नसक्नु तरकारी भो, तोलातोलामा किन्नुपर्ला
पहिले खल्ती नछामे त, आफै उठेर हिन्नुपर्ला
नून नभई निलिदैन, भाउमा फेरि मिलिदैन
सबको चित्त बुझाउन, खै कस्तो उधिन्नुपर्ला ।
२
आफै जस्तो बुझ्नू तिम्लाई, मेरै रैछ भुल हजुर
आफ्नै ठानी हातमै दिनू, पिरतीको फूल हजूर
यो मन जस्तै त्यो मन भए, त्यो मनजस्तै यो मन रहे
किन हुन्थ्यौं र वारिपारि छुटाएर पुल हजूर ।
३
नजिक थियौ मिल्दासम्म, अनायासै बाटै फेरयौ
कसले कान फुक्यो कुन्नि , जिन्दगीको नि पाटै फेरयौ
आफ्नै स्रले चल्छु भन्थें, बेइमानीलाई छल्छु भन्थें
हेर्नूसम्म त बाटो हेरयौ कुन रिसले हो साटै फेरयौ।
४
जति तिम्लाई सम्झाए नि, मन फेरेनौ रति पनि
लुकाइराख्न सक्छौ दोष, भ्रम छरेर जति पनि
सबै कुरा बिग्रिरहून, मतलब छैन जेसुकै हुन
माछा पार्न जाल त फेरयौ, बुद्धि फेरेनौ कति पनि ।
५
तिम्रा कोसेली पनि अब, झुक्क्याउने त्यो पासो लाग्छ
दुनियाँ उस्तै शंका गर्छ, कान थाप्छन् र चासो लाग्छ
कतै विश्वास गर्नै हुन्न, निर्धक्क भर पर्नै हुन्न
अमृतसित विष साट्छौ, सत्यता खुल्दा हाँसो लाग्छ ।
प्रकाशित: २१ भाद्र २०७७ ११:०० आइतबार