शेखरकुमार श्रेष्ठ
रविन सात वर्षको थियो । आमाले मामाघर जानका लागि उसलाई तयार पार्नुभयो । रविनले बुबा र आमासँगै बाइक चढ्यो । गाउँबाट अठार किलोमिटर जत्तिको यात्रा कटेपछि अलि ठूलो शहर आयो । छोराले आमालाई भन्यो, ‘आमा , मलाई सुसु आयो ।’
आमाले श्रीमान्लाई भन्नुभयो, ‘बाबुलाई सुसु आयो रे ।’
‘शहरमा शौचालय भेटिँदैन । यसो कतै सार्वजनिक शौचालय देख्यौ भने रोक न । बजारमा यसो छेउकुनो पारेर गर्न लगाउन पनि भएन क्यारे । कि गर्ने बाबु ?”
‘नाइँ, मान्छेहरू भएको ठाउँमा नगर्ने ।’, छोराले जवाफ दियो ।
‘शहरमा शौचालय कहाँ हुन्छ र बाबु ?’, आमाले भन्नुभयो ।
‘किन आमा शहरका मान्छेलाई दिसा र सुसु आउँदैन ?’
आउँछ । सबैको घरमा शौचालय हुन्छ तर सार्वजनिक ठाउँमा भेटिँदैन ।
‘त्यसो भए सहरमा आउन गाह्रो रहेछ ।’, छोराले भन्यो ।
कुरा गर्दागर्दै जंगल आयो । बुबाले बाइक रोक्नुभयो । आमाले छोरालाई बाइकबाट झार्नुभयो । रविन सुसु गर्न पानी बगिरहेको खोल्सातिर लाग्यो र जिपर खोल्न थाल्यो । बाबुले देखे अनि भने, रविन, पानीको खोल्सामा पिसाप नफेर । अलि पानी नभएको ठाउँमा फेर ।”
बाबुको कुरा रविनले मान्यो । रविन फर्केर आयो । रविनलाई आमाले बाइकमा राख्नुभयो । अर्को एक घण्टापछि रविन मामाघरमा पुग्यो । मामाघरमा मामाका छोराहरूसँग रविन खेल्नका लागि अलि परको चौरतिर गयो । एक घण्टा खेलेपछि मामाका छोरा उचाइले पिसाप फेर्न जाने आऊ भनी रविनलाई पानी बगेको कुलोतिर लग्यो । रविनले भन्यो, ‘पानीमा पिसाप फेर्नु हुँदैन ।’
‘किन, के हुन्छ र ?’
‘खोई, बुबाले भन्नुभएको हुँदैन रे ।’
रविन मामाको छोरासँग फर्कियो । बुबा मामाघरको हजुरबासँग कुरा गर्दै हुनुहुन्थ्यो । उसले बाबुसँग सोध्यो, ‘पानीमा किन पिसाप गर्नुहुन्न, बाबा ?’
हजुरबा नजिकै हुनुहुन्थ्यो । हजुरबाले भन्नुभयो, ‘पानीमा भगवान् हुन्छन् त्यसैले ।’
बुबाले भन्नुभयो, ‘हजुरबाले भन्नुभएको ठीक हो । हामी पानीलाई पूजा गर्छौँ । देवताको पूजा गर्ने बेलामा पनि पानी नै चाहिन्छ । त्यसैले पानीलाई सफा राख्न पिसाप फेर्ने र फोहर गर्ने काम गर्नु हुँदैन ।’
‘त्यति मात्र होइन बाबु, पानी बग्दैबग्दै जान्छ । पानीमा पिसाप फेरयो भने पिसाप पनि बग्दै जान्छ । मानिसले पानी खाँदा पिसाप खान्छन् । सबैले नुहाउन र लुगाभाँडा धुन पनि पानीकै प्रयोग गर्छन् । त्यसैले पानी फोहर हुँदा रोगले हामीलाई सिधै बिरामी बनाउँछ । यसैका कारण पनि पानीमा जथाभावी फोहर गर्नु हुँदैन ।’, रविनकी आमाले कुरा थप्दै भन्नुभयो ।
‘साँच्चै पानी बगेर कहाँ जान्छ दिजु ।’, उचाइले साध्यो ।
‘ल, ऊ त्यो ल्यापटप झिकेर ल्याऊ त ।’ रविनकी आमाले भन्नुभयो । रविनकी आमा शिक्षिका थिइन् । उचाइले ल्यापटप ल्याएर रविनकी आमालाई दिँदै भन्यो, ‘लिनुस् दिजू ।’
रविनकी आमाले ल्यापटप खोल्नुभयो र सोध्नुभयो, ‘बुबा, यसमा वाइफाइ जोडेको छ ।’
‘छ, छोरी ।’, हजुरबुबाले भन्नुभयो ।
आमाले गुगलमा खोजी गाउँ निकाल्नुभयो । ‘ल तिमीहरू दुवै जना हेर त । यो कहाँको ठाउँ हो ?’
‘अलि देखिएन । ए, यो त माथि डाँडाको मन्दिर पो हो त ।’, उचाइले भन्यो ।
‘यो मन्दिर । ... मन्दिरभन्दा मुनिको यो अहिले हामी रहेको घर । यस छेउमा घरको धारा छ । होइन त ?’
‘हो ।’, उचाइ र रविन दुवैले भने ।
‘ल हेर । यो धाराको पानी बग्दै तल गयो । यहाँ पनि धारा रहेछ । यो धाराको पानी मिसियो । अब यो पानी कुलोबाट बग्दै गई खोलामा पुग्छ । यस खोलामा हेर त कोको केके गर्दै छन् ?’
‘गाईभैँसी पानी खाँदै छन् । लुगा धुने मानिस छन् । कोही मानिस पानी लिएर घर जाँदै छन् त कोही नुहाउँदै छन् ।’, रविन र उचाइले पालैपालो भने ।
‘यसरी हामीले हाम्रै घरको पानी कुलेसोबाट कुलो र कुलोबाट खोलामा पानी पुगेको देख्यौँ, होइन त ? अब भन खोलाको पानी के के गर्न लागेका देख्यौ ?’, आमाले सोध्नुभयो ।
‘कसैले खान, कसैले नुहाउन, कसैले भगवान्लाई चढाउन अनि तरकारी बारीमा लगाउन लागेको देख्यौँ ।’, रविनले भन्यो ।
‘अनि पानी तिर्खा लाग्दा खाएन भने के हुन्छ ? त्यो पनि थाहा होला नि ?’, आमाले सोध्नुभयो ।
‘घाँटी सुकेर गाह्रो हुन्छ । पानी नखाई बाँच्न सकिँदैन ।’, उचाइले भन्यो ।
‘हो । पानी नै मान्छेको जीवन हो । यो नखाई बाँच्न सकिँदैन । पानी फेरि सिधै हाम्रो पेटमा जान्छ ।’, आमाले सुनाउनुभयो ।
‘ए, यसैकारण पो पानी फोहोर गर्न नहुने रहेछ । बल्ल मैले कुरा बुझेँ ।’, रविनले भन्यो ।
‘मैले पनि बुझेँ । आज त हामीले नयाँ कुरा पो सिक्यौँ हगि । ल फेरि खेल्न जाऔँ ।’, उचाइले भन्यो ।
त्यसैबेला कोठामा माइजू आइपुग्नुभयो र भन्नुभयो, ‘होइनहोइन खाजा खाएर जानुपर्छ ।’
दुवै जनाले खाजा खाए अनि चौरतिर खेल्न गए ।
प्रकाशित: १८ भाद्र २०७७ ०८:४५ बिहीबार