डिल्लीरमण सुवेदी
‘ए पङ्खा लेलो, पङ्खा !’ अघिदेखि पङ्खा व्यापारी सडकमा कराइरहेको थियो ।
दरबारभित्रबाट राजाले सुनेछन् ।
ए ! द्वारे हेर् – हेर्, अघिदेखि बाटामा कराइरहेको छ ? राजाले आदेश दिए ।
‘पङ्खा व्यापारी महाराज’ द्वारेले जवाफ दियो ।
‘ए ! हट् ! यहाँनकरा हाम्रो महाराजलाई मन पर्दैन !’ उसले पङ्खा व्यापारीलाई धपाउन खोज्यो ।
‘ए ! पख् पख् त्यसलाई भित्र बोला त’ राजाले आदेश दिए ।
पङ्खा व्यापारी भित्र पस्यो । राजा सामुन्ने पुगेर साष्टाङ्ग दण्डवत् ग¥यो ।
‘के बेच्न ल्याइछस् ए ?’ राजाले सोधे ।
‘पङ्खा महाराज ! अच्छा खास्सावाला पङ्खा छ हजुर, कहिल्यै नफाट्ने, कहिल्यै नबिग्रने’ पङ्खा व्यापारीले आफ्नो सामानको विशेषतासहित बतायो ।
हेर्दा सामान्य कागजको पङ्खा थियो ।
‘कति पैसा हो यसको ? राजाले सोधे ।
‘जम्मा बिस रुपैयाँ हजुर !’ उसले जवाफ दियो ।
‘ए यसलाई २ सय रुपैयाँ दिएर पठा’ राजाले कागजको पङ्खा राखे र खजाञ्चीलाई पैसा दिन आदेश दिए ।
‘हजुर राम्रोसँग चलाइबक्सेला, म सात दिनमा आइहाल्छु’ भन्दै व्यापारी पैसा लिएर बाहिरियो ।
राजाले यसो हम्किन खोजे, पङ्खा त च्यातिइहाल्यो ।
‘हैट ! मोरो व्यापारीले नराम्ररी ठगेछ’ राजा रिसाए । ‘त्यो व्यापारी के आउला र !’ मनमनै सोचे ।
सातौं दिनका दिन त्यो पङ्खा व्यापारी टुप्लुक्क दरबारमा आइपुग्यो ।
राजा छक्क परे । ‘कहिल्यै नबिग्रिने पङ्खा भन्थिस् त ? मेरो त तुरुन्तै बिग्रियो । यसरी ठग्ने ?’ राजाले झपारे ।
‘हैन हजुर, हजुरले चलाउन जानिबक्सेन होला’व्यापारीले भन्यो ।
‘अनि कसरी चलाउने त ?’ राजाले सोधे ।
‘इ यो लिइबक्स्योस् हजुर’ अर्को पङ्खा दिँदै व्यापारीले भन्यो ‘पङ्खा सीधा राख्ने र टाउको दायाँ, बायाँ हल्लाउने हजुर, कहिल्यै बिग्रदैन ।’
प्रकाशित: ५ भाद्र २०७७ ०६:२८ शुक्रबार