(१) बाका फोटाहरू
फेसबुकभरि छरिएका थिए बाका फोटाहरू । धनी, गरीब, जवान, बूढा थरिथरिका बाहरू ।
कतिपयले लेखिरहेका थिए, “मबा र मेरा बा ।” त्यस फोटोमा आफ्ना बा, आफू र आफ्ना शाखासन्तानका फोटाहरू छरिएका थिए ।
वृद्धाश्रममा केही बाहरू दिउँसोको घाम तापिरहेका थिए । अचानक त्यहाँ रहेका कर्मचारीले आएर फोटो देखाए, “हेनोर्स त बाहरू । तपाईहरूका फोटाहरू ।”
बा नं १ ले फोटो हेर्दै भने, “ओहो, छोराले राखेका रहेछ ।”
बा नं २ ले फोटो हेर्दै भने, “ओहो, छोराबुहारीले राखेका रहेछन् ।”
बा नं ३ ले फोटो हेर्दै भने, “ओहो, छोराले कसरी आज मलाई सम्झेछ ।”
बा नं १ ले छोराले बूढो भएपछि सबै सम्पति हात लिई घरबाट निकालेर अलपत्र पारेको सम्झे, बा नं २ ले रोगी भएपछि पैसा दिएर अन्य मानिस कहाँ छोडेको र त्यस मानिसले पनि हेला गर्न थालेपछि आफै वृद्धाश्रम आएको सम्झे अनि बा न. ३ ले छोराले सारा सम्पति रित्याएर विदेश गएको, वर्षौँसम्म वास्ता नगरेको सम्झे ।
त्यहाँ भएका बाहरूमा एक कुरामा भने समानता थियो –आँसुको वर्षा निरन्तर चलिरहेको थियो ।
एकजना बाले रुँदै भनेछन्, “हामीलाई सम्झिने दिन पनि आउने रहेछ ।”
(२) सम्झनामा बा
कुनै समय थियो, उसलाई आफ्ना बा मन पर्दैनथ्यो ।
आफ्नो कमजोर अवस्था हुनुमा बालाई दोष दिन्थ्यो ।
“बाले मलाई बोर्डिङमा पढाएनन् । मेरो अंग्रेजी कमजोर भयो । मैले सोचेजस्तो प्रगति गर्न सकेन ।”
“बाले इमानदारी र आदर्शको नाममा आफू पनि विपन्नतामा बाँचे र हामीलाई पनि विपन्न बनाए ।”
“बाले राम्रो घर बनाएनन् ।”
“बाले धेरै धनसम्पति जोडेनन् ।”
“बा जीवनभर धार्मिक संस्थामा लागिरहे, परिवारप्रति कुनै ध्यान दिएनन् ।”
ऊ बाका असफलताका अनेक उदाहरण प्रस्तुत गरिरहन्थ्यो । मानौं बाले नै सबथोक गर्नुपर्दथ्यो र उसले त्यसको उपभोग गर्नुपर्दथ्यो ।
आज उसले हेरिरहेको छ–
“ऊ बाले बनाएको घरमा बसेको छ ।”
“ऊ बाले किनिदिएको लुगा लगाइरहेको छ ।”
“बाले जोडेको अन्नबाट गुजारा चलाइरहेको छ ।”
“उसको विवाह पनि त बा ले गरिदिएका थिए ।”
एक विपन्न परिवारमा जन्मेर सामान्य शिक्षा पाएका बाले उसका लागि के कति गरे ? आज उसलाई अनुभव भइरहेछ । उच्च शिक्षा पाएर पनि बेरोजगार जीवन बाँच्नु कति कष्टकर हुन्छ, बोध गरिरहेछ आज ।
बाको अनुपस्थितिमा धेरै सम्झना आइरहेछ उसलाई ।
उसलाई आजकल बा मन पर्न थालेको छ ।
(३) मृत सम्वेदना
कोरोनाको कहरबाट सन्त्रस्त छ समय र सन्त्रस्त छन् मान्छेहरू । कामको क्रममा अर्काको देश गएका कामदार भागिरहेछन् निरन्तर । हिजो रहरले गइन्थ्यो, आज बाध्यताले फर्किरहेको छ ऊ ।
“घर छोडेर नजाऊ छोरा । जे जति छ, यसैमा रमाउँला । हामी बूढाबूढीलाई छोडेर नजाऊ । मानिसको जीवन कति बेला के हो ?” उसलाई आज बाले भनेको शब्द सम्झनामा आइरहेका छन् ।
अरू मानिसजस्तै ऊ पनि दौडिरहेछ, दौडिरहेछ ।
“कति चाँडो घर पुग्न पाए हुने ?” यही चिन्ता छ मनमा । चार दिन भइसक्यो हिँडिरहेको । गन्तव्य अझै टाढा छ ।
हिजोका माायालु मानिस आज क्रुर भएका छन् ।
“हामीलाई खानको संकट आउन थालिसक्यो । अब तिमीहरूको जिम्मा लिन सक्दैनौं । भाग...भाग...जहाँ जान्छौं, जाऊ ।”
अचानक बज्रपात भयो मनमस्तिष्कमा । कता जाने, के गर्ने ? हुलकाहुल मानिस दौडिरहेछन् निरन्तर ।
सात दिनको यात्रापछि टेक्यो जमिन, उठायो माटो र लगायो टाउकोमा ।
अचानक भीडमा खैलाबैला मच्चियो, ‘मानिस जमिनमा ढलिरहेछ ।’
नाडी छामियो, मृत रहेछ ।
भयको साम्राज्य फैलियो चारैतिर ।
मेडिकल जाँचपछि रिर्पोट आयो, “लगातारको हिँडाइले कमजोर भएर मृत्यु । कोरोना नभएको प्रमाणित ।”
चारैतिरका मानिस खुसी देखिए कोरोना नभएकोमा । उनीहरू बल्ल बाँचियो भनेर खुशी बाँडिरहेका थिए ।
(४) कोरोनापीडितको घर
डाक्टर साबको दिनचर्या फेरिएको छ । अब हरसमय एउटै चिन्ता हुन्छ –महामारीबाट मानिसलाई कसरी बचाउने ?
अस्पतालमा दिनहुँ बिरामी थपिएका छन्, तिनको चेकजाँच गर्नुछ, रोग लागे नलागेको पत्ता लगाउनु छ, रोग लागेकालाई क्यारेन्टिनमा पठाउनु छ, रोग नलागेकालाई घर पठाउनु छ ।
जीवनले व्यस्तताको सीमा खोजिरहेछ ।
“आफ्नो पनि ख्याल गर्नुपर्ला हजुर ! कति दौडिरहनु हुन्छ ।” श्रीमती सचेत गराइरहन्थिन् ।
“यो बेला हामीले आफ्ना लागि हैन, अरूका लागि बाँच्नुपर्छ ।” डाक्टर साहब भनिरहन्थे ।
डाक्टर साहबले आफ्नो घर वरिपर मात्र नभएर त्यस क्षेत्रका धेरै मानिसको सेवा गरेका थिए ।
अचानक डाक्टर साब बिरामी देखिए । चेकजाँचमा कोरोना पोजेटिभ देखियो ।
“ओहो, म त अरूको ख्याल गर्दागर्दै आफै पो समस्यामा पो परेछु ।”
“लौन के गर्ने होला ? पहिला मैले भनेकै थिएँ, मान्नुभएन ।”
“चिन्ता नगर न, होम क्वारेन्टिनमा बस्छु ।”
श्रीमानश्रीमती बीचमा वार्तालाप चलिरहेको थियो । डाक्टर पत्नीेले एकाएक देखिन्, एक हुल मानिस उनीहरूको घरतिर आइरहेका थिए । उनले प्रस्टै देखिन्, त्यस समूहमा टोलका मानिसहरू धेरै थियो । ती मानिस आए, कसैसँग केही नसोधी मुख्य गेटमा एक बोर्ड झुन्डाए । डाक्टर पत्नीले बोर्डमा लेखिएको अक्षर पढिन् । त्यसमा लेखिएको थियो –कोरोनापीडितको घर ।
(५) आफ्ना मान्छेको खोजी
“यसपालि छोरा पनि घरमा छैन, चैत्रको महिना छोरी भेट्न जानुपर्ने, चलन त मान्नैप¥यो, के गर्ने होला ?” मानमती चिन्तामा परिन् ।
“मधेस नगएको पनि धेरै भइसक्यो । यसपालि आफै जान्छु ।” अचानक उनले अठोट गरिन् ।
उनी नयाँ लुगाकपडा लाएर छोरीका लागि कोसेली तयार गरेर चार घन्टा उकालो हिँडेर बसपार्क पुगिन् । बाटामा पल्ला गाउँका कमलकान्तसित भेट भयो ।
“बजार धेरै कम आउने मान्छे, आज त खूब ठाँटिएर आउनुभएको छ ?” कमलकान्तले सोधिहाल्यो ।
“छोरीका घर जाँदैछु, चैतालो लिएर ।” उनले फुरुङ्ङ हुँदै भनिन् ।
उनी मधेस पुगिन् । बजार हेर्दा पहिलेभन्दा धेरै राम्रो भइसकेछ । घरैघर, पसलैपसल । पहिले त छाप्रा मात्र थिए ।
भर्खरभर्खर कोरोनाको सन्त्रास फैलिएको थियो । मानिस त्रसित थिए । उनी साँझ पर्नुभन्दा पहिले छोरीको घर पुगिन् ।
“कहाँबाट आउनुभयो ?” घर नपुग्दै बाटैमा एक मानिसले सोध्यो ।
“पहाडबाट छोरी भेटन आएकी हुँ ।” उनले पनि स्पष्टीकरण दिइन् ।
उनी त्यहाँ पुग्दासम्म छोरीका घरपरिवार एवं टोलभरिका मानिस जम्मा भइसकेका थिए । त्यहाँ भएका मानिस उनलाई अनौठो जन्तुजस्तै ठानेर हेरिरहेका थिए ।
“यस्तो कोरोनाको महामारीको हल्ला चल्या बेला तपाईं यहाँ रहन सक्नुहुन्छ ।” सम्धी र त्यहाँ भएका अन्य मानिसले धम्क्याए ।
उनले त्यहाँ भएकी आफ्नी छोरीको मुखमा हेरिन् । छोरीको अनुहारबाट विवशता झल्किरहेको थियो । उनी त्यहाँबाट हिँडिन् । हिँडदाहिँडदै बजारमा रहेको एक चौतारीमा बसिन् ।
बीच बजारको चौतारामा मानिसहरूले देखे, एक वृद्धा चार, पाँच दिनदेखि चौतारामा बसिरहेकी छिन् । उनी अशक्त देखिन्छिन् ।
कसैले एक समाजसेवी संस्थाका मानिसलाई खबर गरे । समाजसेवी संस्थाका मानिसले उनलाई आफूसँग जान कर गरे ।
“मलाई बस्न दिए तपाईहरूलाई पनि रोग सर्ला नि ।” उनले चिन्ता व्यक्त गरिन् ।
“केही सर्दैन । तपाईँको चेकजाँच गराउँला । रोग लागे पनि डाक्टर छँदै छन् । तपाईँको हामी ख्याल खबर गरौँला ।”
उनी ती मानिसहरुको पछिपछि लागिन् । त्यहाँ भएकी एक महिलाले देखिन्, उनी आँखाबाट बगेका आँसु पुछिरहेकी थिइन ।
प्रकाशित: ५ भाद्र २०७७ ०५:४६ शुक्रबार