राधिका गुरागाई
सम्झनाको बलेसीबाट
तप्पतप्प चुहुन्छ जब
स्वादिलो विगत र घमाइलो बाल्यकाल
परेलीभरि अल्झन थाल्छन्
माइतीघरकोे आँगन र मेहदीका हरिया पातहरू
आफैसँग आफू एक्लिएको बेला
मनको सारंगी रेटिएर
जब निचोरिन्छ
तीजको गीत
अधैर्य बनिदिन्छ चेलीको मन
आमाहरूले गाउने सँगिनी र
छोरीहरूले नाच्ने मारुनी
संकटको बादलभित्रै गुटमुटिएको
यो कहालीलाग्दो क्षणमा
कहाँ भित्रिन सक्छ र पर्वको उजेलो
नआउनू माइती र नगाउनू लयबद्ध गीतहरू यसपटक
तिमीले छमछमी नाच्ने आँगन नै
छोइछिटोको त्रासमा
शोक बारेर बसेको बेला
नबजाउनु मादल र छङछङी चुराहरू
तिमीले मनको भारी बिसाउने
माइतीघरका बार्दली र
भरेङका खुड्किलाहरू नै
पर सरेर बसेको बेला
यसपटककको तीजमा
सामाजिक दूरी कायम राख्दै
होम क्वारेन्टिनभित्रै तिमीले
साँझपख ब्रतको दियो बालिरहँदा
यो कहरले खोसेर लगेकाहरूमा श्रद्धाञ्जली चढाउनू
आइसोलेसन र भेन्टिलेटरमा रहेकाहरूमा दीर्घजीवनको कामना गर्नू
तिमी हामीजस्तै अहिलेसम्म सग्लै बाँचिरहेकाहरूलाई
अब केही नहोस् भन्दै
आफ्नो श्रद्धाको भगवानसँगै
सारा मानव समुदायलाई हृदयभित्र सजाउनू ।
प्रकाशित: ४ भाद्र २०७७ ०७:०० बिहीबार