२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

उज्यालो जिन्दगी

कथा

मन गहिरे

प्रकाश मस्त निद्रामा सुतिरहेको थियो । झ्यालबाट आएको घामको किरणले प्रकाशको अनुहार अझै उज्यालो भयो । म उसको अनुहारमा हेरिरहन्छु, मायाको भेल फुट्छ , म  उसको निधारमा चुम्छु । उसको कपाल सुमसुम्याउँछु । ऊ कति मिठो निद्रामा छ । प्रकाशलाई न उसको इतिहास थाहा छ न त वर्तमान, ऊ अन्जान छ । उसलाई के थाहा? आजसम्म त उसले केही बुझेको  छैन । ऊ जतिजति बुझ्दै जानेछ । उसले हजारौ प्रश्न सोध्नेछ । जसको कुनै उत्तर छैन मसँग । अनुत्तरित प्रश्नहको झटारो आउँदा म के गरुला....? उसको बालहृदयमा पीडा दिन र सुनाउन चाहन्न म यही सोच्दै थिएँ । बिहानको सात बजिसकेको छ । छिटोछिटो खाना पकाएँ अनि प्रकाशलाई उठाएर  हामी दुवै खाना खाई तयार भयौँ ।

खुला मञ्चको स्टेज निकै तामझामका साथ सजाएको  थियो । धमाधम अतिथिहरू आउँदै  थिए ।  म छोरो प्रकाशलाई लिएर त्यही कार्यक्रमस्थलमा पुग्छु । जहाँ मेरो सानो छोरा पुरस्कृत हुँदै थियो । शिक्षा दिवसको अवसरमा स्टुडेन्ट क्वालिटी सर्कलमा प्रथमलाई त्यही कार्यक्रममा पुरस्कार लिन बोलाइएको थियो । 

प्रमुख अतिथि आएपछि  उद्घोषकले कार्यक्रम अगाडि बढाए । जुन वर्षौ पहिलेको त्यो अनुहार आज फेरि देख्दै छु । म उसलाई देख्नासाथ आगो हुन्छु । त्यही मञ्चमा गएर उसलाइ झापड हाँनू ? उसको कठालु समातूँ या के गरुँ ?

चिटचिट पसीना आउँछ । म बाध्य छु । छोराको पुरस्कार आज त्यही मान्छेको हातबाट थाप्नु छ । हे भगवान् तिमी यो कस्तो परीक्षा लिदैँ छौ ? आज आठ वर्षपछि म त्यही मान्छेको सामना कसरी गरूँ ? म हिम्मत जुटाउने सोचमा हुन्छु । त्यत्तिकैमा उद्घोषकले नाम बोलाउँछ । स्टुडेन्ट क्वालिटी सर्कलमा प्रथम प्रकाश पुञ्जलाई पुरस्कार ग्रहण गर्न हार्दिक अनुरोध  गर्दछौँ ।  प्रकाश पुञ्ज ! मेरो सानो छोरो स्टेजमा पुग्छ । त्यही प्रमुख अतिथिको हातबाट पुरस्कार लिन्छ । छोराको प्रशंसा हुन्छ । तर त्यही प्रमुख अतिथि भनाउँदोले—बाबु तिम्रो बाको नाम के हो ?

मेरो बाबा छैन’ प्रकाश सहज उत्तर दिन्छ ।

हा...हा...हा...हाँसोको फोहरा छुट्छ ।

तिम्रो थर पुञ्ज ?

गाइँगुइँ चल्न थाल्छ , ‘यो त बिनाबाबुको छोरा बतासे पो रै छ ।’

यसकी आमा कस्ती चरित्रहीन आइमाई होली ? 

मलाई असह्य हुन्छ । ठीक त्यहीबेला उद्घोषकले  प्रकाश पुञ्जका अभिभावकलाई मञ्चमा आई आफ्ना भनाइ राख्न अनुरोध गर्छ । म स्टेजतर्फ मोडिँदा सविन शर्माको होस् उडिसकेको थियो । ऊ छट्पटिदँै थियो । म आज मुख खोलूँ कि के गरूँ ? उसका घरमा पनि स्वास्नी छोराछोरी छन् । उनीहरूको के होला ? तर जे भए पनि आज म बोल्नैपर्छ । म कति अरूका लागि बाँचूँ ? आज मैले सत्य कुरा बोल्नै पर्छ । म बोल्छु । मेरो मनले निर्देश गर्छ ।

म माइक्रोफोन लिएर दर्शक श्रोता माझमा उभिन्छु । मेरो सानो छोराले मेरो अनुहार हेरिरहेको छ । म आगो उकेल्न खोज्दै छु, कतिलाई अपच्य होला कतिलाई के ...?

अध्यक्ष महोदय, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू ! म आठ वर्षसम्म मौन थिएँ । आजको  दिन म बाध्य भएकी छु, केही भन्न केही तीता यर्थाथ, तीता अनुभूति भोगाइका ती पराकाष्ठा भन्दै छु ।

हो, आज यो मेरो छोरा बिनाबाबुको भएको छ । त्यसैले यसको नाम प्रकाश पुञ्ज राखिदिएँ आज यो समाजमा चरित्रहीन आइमाई भएँ समाजकी अपराधी बनँे...? योबेध बालक बतासे भयो ...? हो, तर यो समाज सोह्र वर्षीय किशोरीलाई बिहे भएको मान्छेले ढाँटेर बिहे गर्ने वाचा गर्दै गर्भवती बनाएर भाग्ने त्यो भद्र पुरुषलाई केही भन्दैन...!

उसको उपाधि के ...? 

आज शहरका गल्लीगल्लीदेखि होटलका कोठासम्म शरीर बेच्ने महिला वेश्या कहलिन्छन् । तर तिनै वेश्याको सम्पर्कमा आउने पुरुषहरू जसले पैसा दिएर इच्छा पूरा गर्छन् तर  उनीहरु पुरुष वेश्या कहलिँदैनन् किन ?

हो सुन्नुहुन्छ ? प्रकाश पुञ्जको बाबु आज यहीँ छ मेरो अगाडि धैर्य गर्नुस् । सुन्नुस् यो रामकहानी !

आठ वर्ष पहिले म कक्षा बार पास हुँदा बाबाले मोवाइल उपहार दिनुभयो । मोवाइलमा फेसबुक आइडी खोलेपछि परदेशी कान्छाको फे्रन्ड रिक्वेस्ट आउँछ । ऊ प्रतिष्ठित संस्थाको नाम चलेको मान्छे थियो । फेक आइडी परदेशी कान्छा बनाएको रहेछ । मैले  उसलाई साथी बनाएँ । त्यसपछि च्याटमा कुरा हुन थाल्यो । उसले तिम्रै चाहमा डुबेँ तिमीलाई मात्र रोजेँ फूलपातका रङ्गहरूमा तिमीलाई नै खोजेँ जस्ता प्रेमिल स्टाटसहरू मलाई पठाउने गथ्र्याै । राम्राराम्रा मीठामीठा कुरा, जीवन सङ्घर्षका कुरामै लामो समय बिताउँथ्यो । परदेशी कान्छा मेरो नशा बन्दै गयो । न त मैले परदेशीलाई भेटेकी थिएँ । न त देखिकी नै ....। जीवनभर साथ दिने सँगसँगै अघि बढ्ने वाचा ग¥यो । कैले मोवाइलमा कैले च्याटमा हाम्रो कुराकानी हुन्थ्यो । भ्यालेन्टाइन डे को दिनमा उसले मलाई आइ लभ यु  भन्यो म त्यसै दिनदेखि साँचो माया गर्न थाले ।

माया –पिरतीका गफ हुन थालेको झन्डै सात महिना हुन लागेको थियो । परदेशीले छिटो भेटम् भनेर प्रस्ताव राख्यो, ‘प्रिया तिमी शुक्रबारको दिन नारायणघाटदेखि कुरिनटार आऊ । म पनि काठमाडौंदेखि त्यहीँ आउँछु, जसरी पनि आज म तिमीबिना बाँच्नै सक्दिनँ । तिमीसँग भेट्न आतुर छु ।”

सोहीबमोजिम मनकामना दर्शन गर्न जान्छु भनी म घरबाट शुक्रबार बिहानै कुरिनटार हिँडे । एघार बजे बस कुरिनटार रोकियो । परदेशी पनि काठमाडौंबाट कुरिनटार आइसकेको रहेछ । हामी एक अर्कालाई फोन गरी भेट्टौँ । म उसलाई देखेर खुशी भए । गोरो अग्लो परदेशी देखेर मेरो मनमा उसको माया झनै गाढा भयो ।

जति हाम्रो च्याटमा कुराकानी हुन्थ्यो । त्यति म भेटमा बोल्न सकिन । परदेशी कान्छाले एउटा घर देखाउँदै ऊ त्यो मेरो रिलेटिभको घर हो, उनीहरू सबै पोखरा गएका छन् । त्यहाँ अरू कोही छैनन्, हामी त्यहीँ बसौँ, भन्दै त्यतै पुग्यौँ । सुनसान घरको एकान्त कोठामा लग्यो । म उसकै पछि लागे । कता कता डर, त्रास र सङ्कोचले म मौन थिएँ । हामी दुवैको मुटु जोडजोडले धड्किएको थियो । उसले मेरो हात चुम्यो । जिन्दगीभर नछोड्ने वाचा ग¥यो ।  

‘प्रिया, तिमी मेरो प्राण हौ । यो मुटुको धड्कन सुन्, तिमीबिनाको यो जिन्दगी सम्भव छैन । अब यहाँबाट फर्केपछि म तिम्रो घरमा तिमीलाई माग्न आउनेछु अनि हाम्रो बिहे हुनेछ ।’

प्रिया किन चूपचाप....?

बोल न मेरी प्रिया....?

म ऊप्रति विश्वस्त हुँदै गएँ । ऊ मेरो सर्वस्व हो भन्ने लाग्यो । परदेशी कान्छाको न्यानो स्पर्शसँग म पनि रापिँदै गएँ, श्वासमा श्वास मुटुको धड्कन एक हुँदै गयो । मैले पनि कुनै नाइँनास्ति गर्न सकिनँ । उसले अँगालोमा बाँध्यो अनि आफ्नो तिर्खा मेट्यो । करीब दुई घण्टाको बसाईपछि हामी त्यहाँबाट फक्यौँ । त्यहाँबाट फर्किदा एउटा नयाँ सपना सजाएर फर्किएकी थिएँ । सुखद मिलनको अनुभूति गर्दै उसमा मैले आफ्नो भविष्य देखेकी थिएँ । यसैगरी परदेशी कान्छासँग तिन पटकसम्म भेट गरे तर, के थाहा ? मेरो मनको राजकुमार, मेरो भविष्यको सपना, कल्पना त्यसपछि कहिल्यै अनलाइन आउँदैन भनेर । उसले फोन नम्बर समेत फेरिसकेको रहेछ । मैले फेसबुक च्याट खोलेँ । ऊ अफलाइन भयो । पछि उसले मलाई ब्लक ग¥यो । म उसको आवाज सुन्न आतुर थिएँ। उसको फोनको पर्खाइमा थिए, जुन कहिल्यै आएन ।

मैले सोचेँ ऊ बिरामी प¥यो होला । हप्ता दिन बित्यो, महिना दिन बित्यो । उसको न फोन आयो न कुनै खबर म उसको यादमा तड्पिन थाले । सम्झनाका छालहरूले म भक्कानिँदै गएँ । उसले दिएको धोकाले मेरो म मस्तिष्क बिथोल्यो । हाँस्ने खेल्ने उमेरको जवानी बिथोल्यो । परदेशी क्षणिक आवेशको पर्खाइमा रहेछ । मैले सोचेजस्तो प्रेम प्रेमिल नभएर जालझेल र कुटिल रहेछ । म चाहन्थेँ त उसको घरसम्म पुग्न सक्थेँ । मैले बुझ्दा पछि बल्ल थाहा पाएँ । ऊ विवाहित रहेछ । छोराछोरीको बाबु उसले मलाई ढाँटेको थाहा पाएपछि मैले उसलाई भेट्ने आशा मारेँ ।

अनिँदा रातहरूले म पूर्णतया अस्वस्थ्य हुँदै गए । एकोहोरो धोकेबाज प्रेमीको यादमा तड्पिँदातड्पिँदै चार महिना बितेछ । मेरो मासिक धर्मको पनि ख्याल नै गरिनछु । बेला घर्किएछ चार महिन पछि मलाई बान्ता भयो बल्ल म झस्किएँ । ओहो, हे भगवान् अब म के गरुँ ? कहाँ जाँऊ ? एकातिर एउटा पीडा थियो । त्यहीमाथि अर्को पीडा थपियो।

उफ् ! कस्तो मान्छेको फेला परेछु, जिन्दगी नै अभिशाप हुने भयो, घरमा भनूँ त सौतेनी आमालाई कसरी भनूँ ? बाबुलाई कुन मुखले भनूँ ? रातभर विकल्प खोज्ने प्रयत्न गरेँ । आँखा नजोरीकन रात छिप्पिँदै थियो । एउटा झोलामा लुगा हाले, घरबाट सुटुक्क निस्किएँ । एउटा कठोर निर्णयका साथ यो बच्चालाई जन्म दिने आत्मविश्वास तट नजिकको त्यो बस्तीदेखि पर हाइवेमा गएर काठमाडौं जाने रात्रिबस चढेँ । भोलिपल्ट काठमाडौं झरेँ । यात्राको थकान अनि भोकले शरीर भारी हुँदै थियो ।  

कहाँ जाने...? के गर्ने...? यही सोच्दै थिएँ । दिन ढलेर अँध्यारोको आगमन हुँदै थियो । म हिँडिरहेको बाटादेखि पारि एउटा मन्दिर देखेँ । म तेतै जान लम्किए तर बीच बाटामा एउटा कार आएर मलाई ठक्कर दियो । म ढलेछु । होस् आउँदा म हस्पिटलको बेडमा थिएँ ।

संयोगले कारमा आफ्नी आमालाई हस्पिटल दौडाएर लैजाने क्रममा मलाई ठक्कर दिने त्यो भाइ सुजन केसी अनि उसकी ती वृद्धा आमाले नै मेरो अवस्था थाहा पाएपछि उनीहरूले मलाई आश्रय दिए । म उनीहरूसँग बस्ने थाले । आजसम्म पनि म त्यही छु । अनेकौँ दुःखकष्ट बेहोर्दै आठ वर्ष बिताएँ ।

हो, प्रकाश पुञ्जको बाबु समाजसेवी प्रतिष्ठित घरपरिवारको मान्छे । ऊ आज समाजको अगुवा छ । ल सुन्न चाहनुहुन्छ ? मेरो जीवन बर्बाद पार्ने परदेशी कान्छाको वास्तविक नाम नै सविन शर्मा, आजको यो भव्य कार्यक्रमको प्रमुख अतिथि ...।

हो., ऊ नै मेरो छोरा प्रकाश पुञ्जको बाबु हो ।

यति भन्दाभन्दै मञ्चबाट प्रमुख अतिथिले उठेर भाग्ने प्रयास ग¥यो । दर्शकहरूले उसलाई छोपेर फेरि मञ्चमा उभ्याए ।

‘के यो सही हो? हो भने आज यही दर्शक माझ प्रिया माथि गरेको अन्याय स्वीकार गर । प्रकाश पुञ्जलाई आफ्नो छोरा स्वीकार गर । होइन भने यी जनताले छोड्ने छैनन्....।’ सबैको आवाज उठ्छ ।

– हो, म नै हुँ प्रियाको धोकेबाज प्रेमी । मैले गर्दा नै आज ऊ चरित्रहीन आइमाई कहलिई । मैले ढाँटेर उसलाई छक्याएँ, प्रकाश मेरै छोरा हो । आज यो सम्पूर्ण दर्शकमाझ म माफी माग्छु ।

प्रकाशलाई काखमा राख्दै उसले भन्यो, ‘यो मेरो छोरा हो । म उसको बाबु हो...।’

आठ वर्षीय छोरो प्रकाश उसको काखबाट फुत्किएर म भएको ठाउँमा आउँछ र निर्धक्कसित भन्छ, ‘मेरो आमा भने पनि बाबा भने पनि मेरो मामु हो ।’

धैर्यको साथ लडेको युद्ध जितेको महसुस गर्दै म आफ्नो छोरो बोकेर त्यहाँबाट बाहिरिन्छु ।

प्रकाशित: १ भाद्र २०७७ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App