गोम विक्रम
मुक्तक – १
बल बैसमा डोल्यौ सबै, आफू सबैको ‘शेरै’ भन्यौ
चित्तै बुझेन भने फेरि, चाहिन्न सस्ता ‘धेरै’ भन्यौ
चर्चा र जेजे गरून् चियो, ‘प्रीति’ मै बडो ‘कीर्ति’ थियो
दाँत झर्दै र आँत मर्दै गो, ‘असल’ छे बूढी ‘मेरै’ भन्यौ ।
मुक्तक – २
मान्छेहरूको मन किन, राजनीतिले खण्डित हुन्छ
शक्तिको दोषी जोगिएर, निर्दोष सोझो दण्डित हुन्छ
भाषण छाँट्छन् बर्कतका, रेकर्ड तोड्छन् हर्कतका
जसको इतिहास पचेको छ, उहीँ ‘नम्बरी पण्डित’ हुन्छ ।
मुक्तक – ३
बिर्सिदैन कसै गरी, आफूलाई ‘दुःखमा टार्ने’लाई
गाह्रै छ सायद भुल्न, आफूलाई ‘दुःखमा पार्ने’लाई
घुम्छ जीवन चर्खासरी, बाँचे देखिन्छ घरी– घरी
मनमै राख्नू सधैभरी, आफूलाई ‘दुःखमा तार्ने’लाई ।
मुक्तक – ४
आदर्शका गफै गफले, रल्लै पार्ने चल्ती हजुर
रल्ल पारे आफ्नो सुरमा, भरिहाल्ने खल्ती हजुर
उल्टै तिन्लाई अघि लगाई,नपुगेर माथि चढाई
ढाडै मर्काइ नमन गर्नु, हाम्रै हो कि गल्ती हजुर ?
मुक्तक – ५
सधै आँखामा छारो हाल्छौ, र पनि प्रिय बानी अरे
घातबाहेक गर्ने होइनौ, तर नि आँखाको नानी अरे
तिनचित खान्छु सुन्दा पनि, भित्री मनले गुन्दा पनि
हजार रूपियाँ खर्च गराइ, सय दिएर दानी अरे ।
प्रकाशित: ३० श्रावण २०७७ ०८:५३ शुक्रबार