२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

जली आइन

संस्मरण

  टङ्क भट्टराई

मान्छेको बाल्य अवस्था औधी प्यारो हुन्छ । सललल बग्ने निश्चल खोला जस्तो पवित्र, पारि क्षितिजबाट बिहानै झुल्केको अरुण कान्ति जस्तो सुन्दर, हिमशैलमा चमचमाइरहेका असंख्य सेताम्मे हिमकिरणका लहरजस्तो निर्मल । आजको स्वार्थ, कपट, जालझेल, षड्यन्त्रको घीनलाग्दो संसारबाट मुक्त भएर कुनै व्यक्तिलाई तँ के चाहन्छस् भनेर कसैले सोध्यो भने उसले सायदै भन्दैन होला– म बालक हुन चाहन्छु । हो, म पनि चाहन्छु बालक हुन किनकि म बालक हुन पाए सानामा घरको पेटीमा सँगै गट्टी र सिन्कीधूलो खेल्ने मेरी प्यारी बैनी ‘जली’ अर्को लोकबाट बुचे जामा लगाएर मलाई भेट्न आउँथी कि।  

समय विसं ०३२, ३३ तिरको हो । त्यस बेला मेरी बैनी जली चार वर्षकी थिई । म छ वर्षको । आमाको कोखबाट जन्मेका हामी सात सन्तानमध्ये जली ममुनिकी थिई । त्यसैले म उसको जीवनको केही अंश राम्रो थाहा पाउँछु । मभन्दा माथिका दुई सन्तान खेर गएछन् । तिनका बारेमा म केही थाहा पाउँदिनँ । ‘ती कस्ता थिए आमा, जलीजस्तै थिए कि ?’ भनेर कहिलेकाहीं आमालाई सोध्न खोज्दा आमाका आँखाभरि आँसु टिलपिलाउँथे, बोल्न सक्नुहुन्नथ्यो । बरु पारितिर हेरेर टोलाउनुहुन्थ्यो । आजकल पनि त्यसै गर्नुहुन्छ । त्यसैले म नमीठो विगत कोट्याएर उहाँको वृद्ध हृदयमा घाउ बल्झाउन चाहन्नँ । सोध्ने जमर्को गर्दिनँ ।

बाउनले उसको न्वारान गर्दा नाम ‘जली’ राखिदिएछन् । ‘ज’ बाट उठेकाले जली राखेका हुन् क्यारे  ‘जमुना’ पनि त हुन सक्थ्यो नि उसको नाम । बाउन अलि पुराना खालका रहेछन् । त्यसैले जबाट जली राखिहाले ‘ब’ बाट बच्चीजस्तै । अचेलका बाउनचाहिं अलि मिलाएर राख्छन्– ‘ज’ बाट जमुना, ‘ब’ बाट बबिता। अझ योभन्दा पनि विदेशी नाम जुराउँछन् । ठीकै छ, मलाई बाउनप्रति कुनै गुनासो छैन । मलाई जली नाम नै प्यारो छ, आत्मीय छ । आखिर  आफू  पनि जली र अरूको मनलाई पनि जलाई ।

जली भुन्टीभुन्टी थिई । म पनि भुन्टेभुन्टे । जली लामो गोजी भएको छोटो घाँघर (जामा) लाउँथी । म पनि दुईतिर गोजी भएको छोटो भोटो लाउँथे । कट्टु म पनि लाउँदिनथें, ऊ पनि लाउँदिनथी किनकि सानामा कट्टु लाउने चलन त्यतिखेर अहिलेको जस्तो थिएन । बुबा जागिरमा, आमादिदी मेलापात, हजुरआमा मात्र घरमा बस्नुहन्थ्यो । हजुरआमाले हामीलाई भोकाए भनेर मकै भुटिदिनुहुन्थ्यो । ऊ जामाका गोजीभरि मकै हाल्थी, म भोटाका गोजीभरि । अनि मुठी पारेर जोरबिजोर खेल्थ्यौं मकैको ।

साँच्चै, बालहृदय कति चञ्चल हुन्छ, कति कोमल हुन्छ र जिज्ञासु पनि त्यत्तिकै । हामी पुछारको गरा, बाटे गरा, माचे गरा जस्ता बारीका साँघुरा र फराकिला गराहरूमा फुत्रुङफुत्रुङ गर्दै हिंड्थ्यौं । फेदमा फलेका खन्यूका दाना माटैसँग चबाउँथ्यौं । मकैका ढोड खान्थ्यौं, कोदाका नल खान्थ्यौं । बारीमा खनेर छोडेका सुठुनी तिस्कौलाले निकालेर माटैसँग काँचै खान्थ्यौं । घरको आँगनमा हात चिमेटेर चीं मुसी चीं खेल्थ्यौं । कपडाका ससाना टाला बटुलेर बेहुली बनाई खेल्थ्यौं । कहिलेकाहीं त यस्तो पनि हुन्थ्यो कि हामी भात खानै आउँदैनथ्यौं । बिहान उठेदेखि खेल्दाखेल्दै पारि बसेरीको डाँडाबाट घाम राता भएर ओर्लिन्थे । अनि घरमुनिको बाँस झ्याङमा रुपीहरू करयाङ–करयाङ गरेर कोकोहोलो मच्चाउँथे । सायद बास बसेको सूचना दिएका होलान् तिनीहरूले ।  धूलोमैलोले ध्वाँसे–ध्वाँसे भएर हामी अबेर घर आएपछि आमा मारसँग गाली गर्नुहन्थ्यो । कहिलेकाहीं पिट्नु पनि हुन्थ्यो । हामी रुन थाल्थ्यौं तर आमाको मन न हो कति चाँडै पग्लिहाल्ने । एकछिनमै हामीलाई वात्सल्य प्रेमले काखमा राखेर सुमसुम्याउनु हुन्थ्यो ।

संसार आज एक्काइसौं शताब्दीको वैज्ञानिक र चमत्कारी युगमा तँछाडमछाड गरेर फाल हान्दै छ । नेपाल अभैm पुरानै रुढिबादी र अशिक्षाको भुमरीमा रुमल्लिरहेकै छ । गरीबीको दलदलमा पौडी खेल्दै छ । आज त यस्तो छ भने झन् हिजो कस्तो थियो होला नेपाल । यस्तै छ नेपाली हुनुको नियति, नेपाली हुनुको पहिचान ।  

हामी आँगनमा खेल्दाखेल्दै एकदिन बहिनीलाई गिलो दिसा लाग्यो । एकपटक होइन, दुईपटक होइन, तारतार लाग्न थाल्यो । हेर्दाहेर्दै बहिनीका आँखा नराम्ररी भासिन थाले । जीउ सुकेको रुखझैं सर्लङ्गै भयो । दिनरात दिसाबाट लगातार पानी मात्र बगेकाले ऊ तिर्खाले व्याकुल हुन्थी र पानीपानी भनेर कराउँथी । त्यतिखेर पल्लाघरकी आमोई घरीघरी हाम्रामा आउँथिन् । पखाला लागेका बेला पानी खान दिन हँुदैन, झन् पखाला लाग्छ भन्थिन् । आमा पनि त्यसै भन्नुहुन्थ्यो । बरु धामी खोज्न जानुहुन्थ्यो । तलबाट सिमलबोटेका बा फुक्न आउँथे। कटुवाका र भोर्लाबोटेका बाहरू पनि आउँथे । उनीहरू पनि बैनीलाई पानी खान दिनु हुँदैन भन्थे । ‘लगान लागेको छ । साप्सू (खोला) लाई एकजोर परेवाले पूजा गर्नुपर्छ । पारितिरको (जागित्र) लाई पनि परेवाको भाकल गर्नुपर्छ । भञ्ज्याङे (जागित्र)  र वनको (बाँदर देउता) लाई कुखुराको भाले चढाउनुपर्छ । पानी खान दियो भने सा¥हो पार्छ, पानी दिंदै नदिनू’ भन्थे । आमा पनि मायाले आहत भएर होला उनीहरूले जसोजसो भन्थे त्यसै गनुहुन्थ्यो । देवीदेवताको भाकल गर्नुहुन्थ्यो । त्यतिबेला जिल्लामा अस्पताल थिएन । भए पनि डाक्टरी औषधिको कुनै चेतना थिएन । त्यो बालशरीर प्यासले व्याकुल भएर ‘पा...नी...पा...नी’ भनेर चिच्याउँथ्यो । तर, गाउँकाहरू कसैले उसको मर्म बुझ्दैनथे, पीडा थाहा पाउँदैनथे । ऊ शिथिल र पीडाले ग्रस्त भएर मलाई निरीह आँखाले हेर्थी । मैले पनि के गर्नु र ? मलाई के थाहा ? म पनि बालकै थिएँ । अज्ञानी थिएँ । बैनीको आहतले मलाई पनि घरीघरी मुटुमा घोच्थ्यो । पीडाको शूल रोपिन्थ्यो ।

भोलिपल्ट अपरान्ह चारपाँच बजेतिर हाम्रो घरमा निकै मान्छे जम्मा भए । आमा भित्र मझेरीमा बेहोस भएर लडिरहनुभएको थियो । अर्को कुनामा बैनी आँआँ गरेर मुख बाइरहेकी । सायद चिसो पानी मागेकी होला । एकछिनपछि दुईचार जनाले बहिनीलाई बोकेर दलानमा निकाले । जलीले एकपटक निरीह आँखाले मलाई हेरी र आँखा चिम्ली । मलाई निकै दिनपछि मात्र थाहा भयो,  उसले सधैंका निम्ति आँखा चिम्लेकी रहिछ । यो अँध्यारो संसारकी त्यो अभागिनी अबोध बालिकाले दुनियाँबाट एक्कासि बिदा लिई । घरमा रुवाबासी चल्यो । आमालाई त दुईचार जनाले अँठयाउनै परयो । मैले त के भएको भनेर थाहै पाइनँ ।

एकछिनपछि गाउँका निकै जना घरमा जम्मा भए । जम्मा हुने सबैका आँखामा बर्सात छाएको थियो । त्यसपछि तुरुन्तै मैले देखें– उनीहरूमध्ये केही जनाले हतारहतार गर्दै उसलाई हातमा बोकेर पर कतै लगिरहेको दृश्य । त्यो देखेर मेरो बाल मनले ठम्यायो कि बैनीलाई निको पार्न उनीहरूले कतै धामीकामा लगेको हुनुपर्छ ।

निकै बेर भो बैनीलाई लिएर कोही आएनन् । अब म पनि अत्तालिन थालें । तर, मलाई त्यो उमेरसम्म थाहा थिएन कि मान्छे मर्छ भनेर ।  

रात परयो, सन्नाटा छायो, घर पूरै अँध्यारो र सुनसान भयो । आमालाई गाउँका बूढापाकाले संसार यस्तै हो भनेर सम्झाइरहेका थिए । आमा बौरिनुभएको थिएन । कुन आमाको मन छियाछिया नहुँदो हो, विक्षिप्त नहुँदो  हो आफ्नो मुुटुलाई दैवले चटक्क चुँडेर लौजाँदा । दैव पनि कति निठुरी  !

अघि गएका मान्छेहरू हातमा कोदालो बोकेर रित्तै फर्के । मैले सोधें, ‘जली खोइ त ?’ ‘जली आउँछे बाबू  माथ्लाघरकी आमैले मायालु भावले मुटु गाँठो पारेर भनिन् । म रातभर निदाइनँ जलीको मायाले । शून्य भयो मेरो बालहृदय । उदासउदास लाग्न थाल्यो । बिहान ‘कुखुरी – काँ’ गरेर भाले बास्यो । अब त उज्यालो भयो जली आउँछे कि भनेर खुसी भएँ । बिहान पारि खानडाँडाबाट घाम भुल्कियो । जलीसँग खेल्न भनेर मैले गट्टी ठीक पारें । सिन्कीधूलो खेल्न घरको पेटीमा माटो मिलाइराखें । बिहा गरी खेल्न कपडाका पुराना टालाहरू बटुलेर बेहुली बनाई राखें । धान कुट्न भनेर लट्टेका डाँक्लाको ढिकी बनाई राखें । त्यति मात्र होइन, तल बारीमा गएर दुई गोजी खन्यूका दाना ऊ आएपछि खाने भनेर ठीक पारी राखें तर ऊ आइन । पर्खें, निकैबेर पर्खिरहें । ऊ आइन । घाम सदाझैं पारि बसेरीको डाँडाबाट निस्तेज भएर ओर्लियो । म सा¥है नियाँस्रो बनें, एक्लो बनें र उसलाई मान्छेले बोकेर लगेको मतानको घर पर्तिरको बाटोतिर हेरिरहें । त्यो बुचे जामा लगाएर फुत्रुङफुत्रुङ गर्दै मसँग खेल्न कतै त्यो निष्ठुरी आउँछे कि भनेर पर्खिरहें । तर ऊ मलाई सम्झेर आइन । मेरी बालसखा त्यो प्यारी बैनी जली आउँदै आइन ।  

मैले केही दिनपछि मात्र थाहा पाएँ ‘जली मरी, अब ऊ आउँदिन’ भनेर । अब म पूरै एक्लो बनें । निरीह बनें । त्यसको केही दिनसम्म पनि उसकै झल्को आइरह्यो । सम्झनाले मलाई झन्–झन् पिरोलिरह्यो ।

 म अलि ठूलो भएपछि पल्लाघरका बासँग वस्तु चराउन जान्थें । वस्तु चराउँदै जाँदा हामी कैलेकाहीं सेरा खोलानिर धुलौटेसम्म पुग्थ्यौं । धुलौटे खेतको गराबीचमा एउटा ठूलो ढुंगा थियो । ढुंगामुनि ओढार थियो । ओढार छेवैमा एउटा चिलाउनेको रुख थियो । एक दिन पल्लाघरका बाले भने, ‘तेरी बुइनी जलीलाई हामीले यही ढुंगाको ओढारमा खनेर पुरेका थियौं ।’ बाको कुरा सुनेर मलाई भाउन्न भयो । पृथ्वी पूरै घुमेजस्तो भयो । म केही बोलिनँ । यसलाई पीर पर्छ भनेर मेरो मनोदशा बुझी बाले अरू कुरा केही गरेनन् ।

मलाई आमासँग धुलौटेसम्म सँगै जाने कुनै काम त परेन । यदि आमासँगै त्यहाँ गएको भए उहाँलाई चोट पर्छ भनेर म जलीको बारेमा केही त सोध्दिनथें होला । तर उहाँको विक्षिप्त मनोदशा भने गहिरोसँग नियाल्थें कि । आमा एक्लै घाँस काट्न त्यो ठाउँ कतिचोटि पुग्नुभयो होला । अनि जली राखेको त्यो धुलौटेको ढुंगामा बसेर पुत्री शोकले कति रुनुभो होला । वात्सल्यले मुटु कति छियाछिया भयो होला । अनि डोको त्यतै कतै छेउमा राखेर आँखामा उसको झझल्को ल्याई पछिसम्म कति गाउनुभो होला विरहका गीत । कल्पना गरी साध्य छैन ।  

तिर्पालीको धारो हुँदै पारि सेरा जाने माथ्लो बाटामुनि माथ्लाघरको धुलौटे खेतको बीचको त्यो ठूलो ढुंगामा फलाँटे स्कूल जाने आउने क्रममा बेलाबेला गएर म त्यत्तिकै बस्थें । तलतिरको ओढार हेर्थे । ओढारैनिर एउटा चिलाउनेको बोट । त्यही चिलाउनेको बोटमा बसेर जलीले मलाई हेरेजस्तो लाग्थ्यो । छेउमा सेरा खोलो कलकल बगिरहेको । त्यही खोलाछेउमा बसेर जली खोलासँगै सुसाइरहेजस्तो । त्यो एकान्तस्थलमा मेरी प्रिय बैनी जलीलाई सम्झेर म एकाएक द्रवीभूत हुन्थें ।  ऊसँगको बालापन आँखैअघि आएर नाच्थ्यो । म त्यसैत्यसै तन्द्रामा पर्थे–

जली आउँथी फुत्रुङफुत्रुङ गर्दै उही बुचे जामा लगाएर । यो ओढारमा मलाई किन एक्लै छोडेको भनेर जोडसँग रुन्थी । मलाई अँगालो हाल्थी । एकछिनमा फेरि फुलिन्थी । अनि ‘खेलौं है दाइ’ भनेर गोजीबाट गट्टी ढुंगा निकाल्थी । हामी खुट्टा पसारेर गट्टी खेल्थ्यौं । त्यसपछि म भोटाको गोजीबाट खन्यूका दाना निकालेर उसलाई दिन्थें । ऊ खुसी भएर खान्थी ।

म तन्द्राबाट एकाएक बिउँझेपछि जली गायब सेरा खोलाछेउमा बगिरहेको । चिलाउनेका हाँगाहरू बताससँगै झुत्ती खेलिरहेका । उत्तीसका रुखमा चराचुरुङ्गी कराइरहेका । साँझ पर्न आँटेपछि म उदास मन लिएर घरतर्फ लाग्थें ।

अहिले म काठमाडौं शहरमा छु । धेरै भो म धुलौटे नपुगेको र त्यो ढुंगामाथि चढेर नबसेको । तर पनि बेलाबेला उसको सम्झनाले सताइरहन्छ । उसको यादले पिरोलिरहन्छ ।

आज पनि त्यो ढुंगा उसैगरी गजधम्म बसेकै होला । ढुंगामुनिको ओढारमा उस्तै गरी सन्नाटा छाएकै होला। ओढारनिरको चिलाउनेको रुख ढल्यो कि छँदैछ ? सेरा खोला उसैगरी बगिरहेकै होला । अनि मेरी त्यो अभागिनी बैनी जली त्यही धुलौटे ढुंगामा बसेर छेवैको सेरा खोलासँगै उदास भावले अपूरो जिन्दगीको गीत गाइरहेकी होली । अनि घरीघरी ढुंगामुनिको कालो ओढारमा सुतेर अन्धविश्वासका नाममा भविष्यका नक्षत्रहरू मार्ने त्यो अँध्यारो जुगका अँध्यारा मान्छेहरूलाई धिक्कारिरहेकी होली ।

प्रकाशित: १९ श्रावण २०७७ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App