डा.मतिप्रसाद ढकाल
नगरे पनि विश्वास
भूत त वास्तवमा हुँदो रहेछ
भूत बनेर कोरोनाले वर्तमानलाई सताइरहेछ ।
हुनुहुँदैन छुवाछूत भने पनि
छुवाछूत त कहिलेकाहीँ गर्नैपर्दो रहेछ
वर्तमानले छुवाछूतलाई सहर्ष अङ्कमाल गरिरहेछ ।
पन्छिँदैनथे पुरुषहरू कहिल्यै पनि
पुरुष र बालबच्चाहरूसमेत पन्छिँदा रहेछन्
वर्तमानले सबै मान्छेलाई पन्छिन सिकाएको छ ।
गर्नुहुँदैन काजक्रिया भन्ने पनि सुनिन्थ्यो
काजक्रिया त वास्तवमा गर्नैपर्ने कर्म रहेछ
वर्तमानले कोरा बारेर सबैलाई
निष्ठापूर्वक काजक्रिया गर्न सिकाएको छ ।
गरिन्थ्यो अतिथिलाई सेवा–सत्कार सधैँ
अतिथिलाई समेत कहिलेकाहीँ सत्कार गर्न नसकिँदो रहेछ
वर्तमानले अतिथिसँग पनि सतर्क हुन सिकाएको छ ।
जपिन्थ्यो ‘चरैवेति’को मन्त्र सधैँ
महिनौँ दिनसम्म पनि एकान्तमा बसिरहनुपर्दो रहेछ
वर्तमानले कामै नपरी कहीँकतै नहिँड्न आदेश दिइरहेछ ।
सारा संसार चिन्न खोजियो हिजोसम्म
सम्पूर्ण संसार त आफैंभित्र पो रहेछ
वर्तमानले सबै मान्छेलाई
आफैंभित्रको संसार खोज्ने पाठ पढाएको छ ।
प्रकाशित: १६ श्रावण २०७७ ०८:०२ शुक्रबार