श्रद्धा भट्टराई
आमा, तिमीले कहिले भनिनौ
आफ्नो दुख हामीलाई कहिले सुनाइनौ
तिम्रो मुहारमा सधंै हाँसो हुन्थ्यो
हाम्रो लागि सधै मुस्काइरन्थेउ ।
आज आफू आमा भएपछि आभास हुन्छ
आमा,
तिमीलाई पनि त दुख हुन्थ्यो होला
रातभर हाम्रो हात समातेर सुत्दा,
तिम्रो पनि त निन्द्रा बिग्रिन्थ्यो होला
बाटाको कुकुर देखेर
हामी तिम्रै पछ्यौरा पछाडि लुक्थ्यौ
आमा, तिमीलाई पनि डर लाग्थ्यो कि ?
आमा,
तिमीलाई पनि हामी जस्तै रुन मन लाग्थ्यो कि ?
तर, तिमीले हाम्रा लागि कहिले आँसु झारेनौ
आमा भोक त तिमीलाई पनि लाग्थ्यो होला
हाम्रो पेट नभरी आफूलाई कहिले सोचिनौ
हामी लड़लाउ कि भनेर आफ्नो आँखा झप्पकै पारिनौ
आमा तिम्रो पनि त मन आत्तिन्थ्यो होला
जिन्दगीका अफ्ठ्याराहरूमा
के गर्ने भनेर डर लाग्थ्यो होला
तर, तिमीले कहिले भनिनौ
आफ्नो दुख कहिले पोखिनौ
आमा,
के म तिमीजस्तै हुन सक्छु त ?
आफ्नो बच्चालाई तिमीले जस्तै हेर्न सक्छु त ?
तिमीभन्दा म स्वार्थी पो हुन्छु कि ?
कहिलेकाहीं आफूलाई मात्र सोचेर पो अघि बढ्छु कि ?
आमा,
केही गलत गरें भने मलाई रोक्नु है
बाटो बिगारें भने भन्नु है
केही पाउने चाहनामा
आफ्नो सन्तानको साथ पो गुमाउँछु कि ?
आकाशमा उड्ने रहरले धर्ती पो खस्छु कि ?
आमा,
म लडें भने उठाऊ है
मैले बाटो बिराएँ भने सिकाऊ है
तिमीलाई दुख भयो भने भन है
आफ्नो मनको बह पोख है
अब त म बुझ्छु नि,
तिमीलाई साथ दिन्छु नि।
आमा,
तिमीलाई दुख भयो भने भन है
आफ्नो मनको बह पोख है ।
प्रकाशित: १६ श्रावण २०७७ ०७:३२ शुक्रबार