ज्ञानुवाकर पौडेल
(१) नदुखेको कपाल दुखाएर के फाइदा ?
बेकारमा बिवाद बढाएर के फाइदा ?
जोसित कहिले ग्रह मिल्दैन आफ्नो -
उसैसंग हात हात मिलाएर के फाइदा ?
(२) कागजकै फूल सही फूलमा सुगंध चाहियो
गद्यमय भो जिन्दगी तिम्रो छन्द चाहियो
भन्दिउन् कसैले हाम्रा कविजीलाई सुनाईदिउन्
बेदना हैन तिम्रो कवितामा आनन्द चाहियो !
(३) कोही चै हुन्छन् नारामा बम्किने कवि
कोही चै हुन्छन् भावनामा बहकिने कवि
कोही हुन्छन् उज्यालोमा'नि अंध्यारो अनुहारका
कोही चैं हुन्छन् अँध्यारोमा पनि चम्किने कवि !
(४) फर्निचर बनाउन रूख नढाली हुन्न
गहना बनाउन रूख नढाली हुन्न
बन्नु छ भने तिम्लाई पनि राम्रो कवि
दु:ख-दर्द यो दिलमा नपाली हुन्न !
(५) टल्किदैमा पहेंलो सबै सुन कहाँ हुन्छ र ?
हरेक बाजामा उस्तै धून कहाँ हुन्छ र !
उही माटो उही हावापानीमा हुर्केको भन्दैमा
सबै मान्छेहरूमा उस्तै गुन कहाँ हुन्छ र ?
प्रकाशित: १६ श्रावण २०७७ ०६:०१ शुक्रबार