२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

बन्दाबन्दी

निबन्ध

ज्ञानेन्द्र विवश

तीन महिना लामो बन्दीबन्दी खुल्यो । खुकुलो भयो । तर सङ्क्रमणको जोखिमलाई टार्न सकिँदैन । झन् भयानक परिस्थिति निम्तिने निश्चित छ । यो खुलापन हर्ष न विष्मातको हो । अब खतरा हाम्रो सन्निकट आइसकेको छ । मानिसको भीड बढ्नुसँगै मृत्युको निम्तो पनि छ । जोगिनु, जोगाउनु र बाँच्नु, बचाउनुको विकल्प छैन । तथापि जिन्दगी जत्तिको प्यारो अरू के हुन सक्छ र ! त्यसैले यो जोखिम र यो महामारीको संकटबाट सहजै मुक्त हुनु छ । सावधानीमा सचेत हुनु पहिलो जीवन प्राप्ति हुने छ ।

खै कुन बिहानी अन्तिम हुने हो । खै कुन भेट अन्तिम हुने हो । खै कुन बोली अन्तिम हुने हो  । थाहा छैन । तथापि सम्झनेका लागि दूरी टाढा हुँदैन । याद गर्नलाई बन्धन बाधा हुँदैन । यति केही नगर्नेलाई कुनै वास्ता हुँदैन । कुनै वास्ता नगर्ने साथी पनि हुँदैन ।

सिकेर सकिँदैन कहिल्यै । सिकेर सकियो भने त बर्बादै हुन्छ । त्यसमाथि रङहरूसँग संवाद गर्दै रङहरूलाई फकाइफुल्याइ आँखालाई शीतल हुने स्वरूप उतार्नु पो उतार्नु । तर फुर्सद भएर मात्र हुँदैन रहेछ । अहिलेको फुर्सद भन्नु मानसिक अस्तव्यस्तता । सडक र शहरी शून्यता । यस्तोमा जति समय धेरै भए पनि स्वतन्त्र रूपले कुनै काम गर्न सकिँदैन रहेछ । यो फुर्सद भन्नु बन्धन हो । त्यो बन्धन पनि पलप्रतिपल त्रासदीले त्राहिमाम हुँदै । धेरै फुर्सदले आलस्य निम्त्याउँदो रहेछ । अधकल्चो बनाउँदो रहेछ । अलच्छिनी जगाएर मधौरो पार्ने रहेछ ।

तनावका बीच पनि चूपचाप बस्न नसकिएपछि मान्छेले घरबन्दीमा के मात्र गरेका छैनन् । स्वादे जिब्रोलाई अल्छे तिघ्रो होइन अब पकाइतुल्याइमा जाँगरिला बनेका छन् । घरमा बसेर सबै फुर्सदिला भए । पुराना दिन खोज्दै वर्तमानलाई बिर्सिने भए ।

सुतौं कति सुतौं ? सुतिरहेकै हो । सुतेर नथाक्ने ज्यान अब सुत्दासुत्दा, ओल्टेकोल्टे फर्किदा जीउज्यान दुखेर आलस्य थपिँदै छ । सपनाको के कुरा, विपनाको के कुरा कोरोना भाइरसको आतंक छँदै छ ।  

एकान्तबासलाई यस्तै कलाकारितामा रमेर बिताऔं । यसले मनलाई कति शान्ति र शीतलता अनि आनन्द दिन्छ आफैं महसुस गर्न सकिन्छ । दिनमा दिन बितेको पत्तै हुँदैन । रातमा मीठो सपनाले लुटुपुटु गराएर बिहान भइसकेको पनि थाहै हुँदैन ।

एकान्तबास एकतमासको नहोस् कसैको । आफैंभित्र पसेर चिनौं जीवन हामी सबैको । जय लकडाउन ! जय एकान्तबासको शरण ! तर निराशामा आशा सँगालौं ! त्यही आशामा आनन्दले जिन्दगी बिताऊ ।

मान्छेको जातै बैगुनी । स्वभावै निष्ठुरी ! जे गर्दा पनि हुँदैन, चित्त बुझाउनै गाह्रो । पानी पर्दा घाम चाहिने, घाम लाग्दा पानी । मान्छेको स्वभावै सन्की । रिसाउन पनि बहाना चाहिँदैन । खुसी हुन, हाँस्न, हँसाउन पनि जानेको । फकाउन, घुकर््याउन, धमक्याउन सबै जानेको छ । अनि जे नगर्नुपर्ने त्यही गरिहाल्नुपर्ने । जे गर्नुपर्ने तर त्यो मरेकाटे नि नगर्ने । माया गर्दा मान खोज्ने । घृणा त गर्नै भएन । सारै असन्तोषी । सारै लोभी जात । सित्तै पाए अलकत्रै खाइदिने । फुर्सदै भएन भनी गुनासो गर्ने तर घरभित्रै बस्नु भनेर सरकारले आराम गर्न आदेश दिँदा पनि उलङ्घन गरी अटेरी भएर सडक, बजार डुलिहिँड्ने । महामारी फैलिरहेको बेला मरिन्छ है भनिरहँदासम्म पनि सुन्यानसुन्यै गर्ने, गरिरहने । अचम्मकै छ, मानिसको जात ? खोलाले बगाएर लगे खोलातिर होइन, मुहानतिर खोज्न जानुपर्ने ।

कपडा भए जिन्दगी धोइपखाली सुकाइदिन्थें । दुःख र तनावहरू सुकाएर सफा, सुन्दर, सुगन्धित बनिदिन्थें । यसैगरी लकडाउन र कोरोना भाइरसले दिएको तनावलाई चटक्कै बिर्सिदिन्थें । कञ्चन कायाकलेवर बासनादार बनेर जिन्दगी खुसीखुसी आनन्दले बिताइदिन्थें ।

कोरोना भाइरस मजाक होइन । यतिबेला पूरै विश्व रोइरहेको छ । कोरोना आफै घरसम्म आउँदैन, यसलाई लिन तपाईं घर बाहिर जानुभयो भने घरभित्रै मृत्यु निम्तिन्छ । त्यसैले लकडाउनको अवधिभर घरमै बसौं । अब घरमै रमाऊ । घरमै हराऊ । घरभित्रै गम्भीर बनेर आफूले अहिलेसम्म गरेका राम्रो र नराम्रो कामको लेखाजोखा गरौं । घरबाहिर निस्केर भाइरसलाई नभित्रियाऊ । अकालमा काललाई नपल्काऊ ।

मान्छेहरू तर्सिदै भागिरहेछन् । मान्छेहरू घरभित्रै लुकिरहेछन् । आखिर जिन्दगी खरानी हुने नै हो तैपनि सबैलाई प्यारो हुँदोरहेछ आफ्नो जिन्दगी । अनि जिन्दगी र जवानी होस् कहिल्यै खरानी ।

कति समय । कति फुर्सद । यता हेरयो, उता हेरयो । टहलियो, बहलियो, बरालियो । अलिकति लेख्यो । अलिकति पढ्यो । कहिले शब्दलाई जिस्क्यायो, केरमेट गरयो । कहिले रङलाई फकाइफुल्याई क्यानभासमा खेलायो । खायो, पियो । अझै समय बाँकी छ । बाफ रे कति समय हो यो ? दिन पनि रात झन् कति लामो हो ! हैन, यो लकडाउनमा साँच्चै घडी घुम्दैन ? दिन  ढल्दैन ?

हामी उलङ्घन, उपद्रो र उत्पात मच्चाउन माहिर छौं । जे गर्नु हुँदैन त्यही गर्न अग्रसर । जहाँ जान निषेध छ त्यहीं जान मरिहत्ते तर जानुपर्ने ठाउँ जाँदैनौं । खोज्नुपर्ने कुरा खोजतलास गर्दैनौं । चाहिने काममा चौचौ हुँदैन । नचाहिने कुरामा चुरीफुरी बढी । सम्मानभन्दा अपमान । अपनत्वभन्दा पराईपन । माया र प्रेमभन्दा घृणा र द्वेष । आफूबाहेक अरू सबै दोषी देख्ने । दया, मायाभन्दा स्वार्थी स्वभाव ।  

गाउँघर, बाल्यकाल, बाआमा, साथीसंगी सबैलाई सम्झिने फुर्सद पाएका छन् । वर्तमानको तनावलाई व्यवस्थापनको एक उपाय यो । यदि फेसबुक, युट्युव, म्यासेन्जर आदि केही हुन्नथ्यो भने समय बिताउने कसरी ? मान्छेले कति किताब पढ्थे होलान् ?

सडक र शहर त सुनसान भयो नै गाउँघरमा पनि चकमन्नता । त्यसैले त भनेको यस्तो घरमा लकडाउनको समयभरि घरमै रमाएर बसौं ।

अब अहिले लकडाउनमा धेरै कुरा निषेध छ तर मानिस हूल बाँधेर हिँडिरहेछन् । तथापि हात मिलाउने र गला मिलाउने खतरा छ भन्दाभन्दै म्वाइँ खानसमेत बाँकी राखेनन् । पाइला–पदचापमा हामी आफैंले खतरा निम्त्याएका छौं । घरबाहिर गएर मृत्यु आफैंले भित्रियाउँदै छौं ।

सिर्जनात्मक लेखनका लागि ऊर्जा चाहिन्छ । त्यो ऊर्जा संवेदनशील मनका लागि जता, जहाँ र जहिले पनि भेटिन्छ । त्यसका लागि प्रथमतः ऊर्जा ग्रहण गर्ने मानसिकता हुनुपर्दछ । अनि त्यसलाई अनुभूतिको आयतनमा तौलिएर अभिव्यक्तिको आलेखनमा उतार्न सक्ने क्षमता चाहिन्छ । समयको सदुपयोग पनि कति मात्रै गर्नु ? अब अर्कै मानसिक रोगले कतिको ज्यान परमधाम जाने हो भन्न सकिन्न ।

प्रकाशित: ९ श्रावण २०७७ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App