२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

उपरा

कथा

खेमराज पोखरेल

केही घण्टा पहिलेको त कुरा हो, म चावेलको एउटा उच्चस्तरीय यौनअड्डामा शान्त भएर चोकैको चिया दोकानमा सुस्ताउँदै थिएँ । अर्को टेबुलमा चिया कुरिरहेकी एउटी चिनेचिनेझैं लाग्ने महिलालाई मैले अनायासै सोधेको थिएँ  ‘तिमी ठाइँली हौ ?’

ऊ त खुसी भएर उफ्रेकी थिई । खाँदै गरेको चिया झण्डै सर्किएको थियो ।  

उसले भनिथी, ‘मर्यो है यो बाहुन काठा त, यतिका वर्षपछि यहाँ कहाँ मर्न आएको, आमाम्मा !’

म सम्झिरहेको छु ती दिन ।  रम्भुवा खोलामा ठाइँली र म नुहाउँथ्यौँ । बगिरहेको सङ्लो पानीमा ऊ निकै अप्सरा लाग्थी । उसको गोरो तिघ्राले मलाई सधैं काउकुती लगाउँथ्यो । ऊ कहिले मलाई गुन्यूमाथि सारेर जिस्क्याउँथी । कहिले चोलाको एउटा तुना जानीजानी खोलेर जिस्क्याउँथी ।  

‘किन छिल्लिन्छेस् ए ठाइँली’ भन्थें । ऊ झन् उर्लीउर्ली मलाई जिस्क्याउँथी । किनकि ठाइँली मेरी दामल थिई । म अविवाहित थिएँ । उरन्ठयौलो केटो थिएँ । अलमस्त फुच्चे थिएँ । तर ऊ विवाहित संसार भोग्दै थिई । ऊ कलिली भए पनि अनुभवी थिई । मेरो पनि उमेरले कुरकुरे  बैंसका अलमस्त झिल्काहरू दिन थालेका थिए । अल्लारे थिएँ । वस्तुभाउ चराउन जंगल जाँदा, मेला, पँधेरा, जात्रापर्वमा र उसको घरतिर जाँदा भेट हुन्थ्यो । मौका मिल्यो कि ऊ मसँग छिल्लिहाल्थी   ।  

ऊ त्यो बेला मलाई जिस्क्याउँथी   

– हामी त मतवाली, जति पोइला गए पनि हुन्छ । कति राम्रीराम्री भनेर जिस्क्याउँछौ ए बाहुन काठा ! कि आँट गरेर लान्छौ त राम्री लाग्यो भने !

– तर हाहा ! यो बाहुन काठाको यत्रो हुती कहाँ पाउनु ?’

– यो पटुका ओछ्याएकी छु । यसमा सुत्ने हुती छ काठा ?

– पोइले सौता ल्याइहाल्यो । अब के गर्छु भन्नु नि ? पोइला जान्छु नि पाए । लुम्रे बाहुन कि लैजान्छौ शहरमा ? हाहाहाहा ।’

मैले उसलाई एकोहोरिएर हेरें । ऊ अलि पाकीजस्ती देखिएकी थिई तर उसमा चमक उस्तै थियो । हाँस्ता ऊ मीठो डिम्पल बनाएर हाँस्थी ।  ऊ निकै तरुनी देखिन्थी । हामी बीच उसले र मैले सामूहिक र बेगलबेगल भोगेका जीवनका बारेमा धेरै कुरा गर्यौं । अहिलेको अवस्थाबारे पनि धेरै कुराकानीहरू भए । मेरा बग्रेल्ती प्रश्नहरूमा अहिले ऊ मेरा प्रश्नहरूको जवाफ यसरी दिएकी थिई —

– पोइले सौता ल्याएपछि बिचल्ली भयो नि हौ गाँठे । राँडले ओछ्यान खोसिहाली । त्यसपछि त सुरु भयो महाभारत । त्यो राँडसँग बेस्सरी जुधें । त्यो पोइ भनाउँदो मुर्दार त उतैपट्टि लाग्यो र मेरा साँप्रामा पुन्यूले बजायो । मोराले मेरो त हुर्मतै लिइहाल्यो नि  । अनि मैले पनि यसै भएन, उसै भएन भनेर मुर्दारको राजखानी जोडले अँठ्याएर न्वारानदेखिको बल निकालेर बजियालाई बजारें । अइया भनेर एकपल्ट त भुतुक्क भयो नि मुर्दार । झण्डै मरेन नि ।’

– अहिलेको बूढालाई त बालाचतुर्दशीको रम्भुवा दोभान मेलामा भेटेको नि हौ । गाउँका साथीहरूसँग मेला भर्न गएकी थिएँ । अहिलेको बूढो, त्यसका दिन बिग्रेका त्यो पनि आएको रै’छ मेलामा । पुलिस रहेछ त्यो । मेलामा कतै अशान्त भइहाल्छ कि भनेर आएको रे असत्ती । आएपछि त जतिबेला पनि मेरै छेउछेउ पो आउँछ त मुर्दार । मलाई जोडजोडले फकाउन थाल्यो । आकाशपाताल देखाउन थाल्यो । डाँडा काटेर भागौं भन्न थाल्यो । उसलाई मजाले हेरें । कालोकालो धुर्मुस थियो अभागी । जागिरे भएकाले शहर लैजान्छ, राम्रोसँग पाल्छ, कालो भएर के भो र भनेझैं लाग्यो । म पनि त आखिर सौताका कहालीलाग्दा वचन र पोइको हेला र कुटाइ खाएर कति बस्नु त हौ गाँठे । जम्मा एउटा जुनी पाएको छ मान्छेले, जे त होला भनेर आँट गरें । यस्तै मध्यरात थियो होला, उसले एउटा गैँडा चुरोट झिकेर दियो । मैले सल्काएँ । अनि मेरो ठूटो चुरोट पो तान्छ असत्ती त । बजियाले मेरो मनपेट पाएछ र अनि मेरो गोरो नाडीमा कालो हातले च्याप्प समायो डाम्नाले र मैले पनि पाटे लुङ्गी छोटो पारेर पटुकाले बाँधेँ । हामी दुवैले एकएक डबका जाँड खायौँ । हामी दुवैलाई अलिअलि तीनपानेको मात पनि लागेकै थियो । भाले बास्दा त हामीले तिनजुरे काटिसकेका थियौं । घाम झुल्किँदा त कटारी बजार पुगिसकेका थियौं, लौ खा त । यत्रैसिति ।’

– उही हो नि, हन कताको फेर्नु नि हौ पोइ ! मोरो त गतिलो रहेछ नि । असत्तीले मलाई झुक्याएर ल्याएको रहेछ । एक छोरा भएको स्वास्नी पोइल हिँडेर बेवारिस भएको अर्धो पो रहेछ मुर्दार । अब के गर्नु हामफालिहालियो, भए ठिकै छ, सौता त बेहोरेकी थिएँ भने त्यो एउटा चिचिलो न हो भनेझैं लाग्यो । भएन भने छोडिदिउँला त्यो मुर्दारलाई र फेरि पोइला जाऊँला भनेझैं पनि लाग्यो । ‘कि खान्छ ढाँटले कि आँटले’ भन्ने सुनेको थिएँ अनि हामफालें ।’

– अनि के नि, उहिले गाउँमा भन्थे छोरी अर्धालाई दिनु, चाटेर पाल्छ । हो रहेछ । अहिलेको मेरो पोइ त यस्तो गतिलो परेछ कि मलाई त ल्याप्ल्याप्ती चाट्छ हौ । लाजै पचाएर चाट्छ । गाली गर्ने, कुट्ने त परै जावस् । त्यसका दिन बिग्रिएका, मलाई त मालिक्नी बनाएर राखेको छ । मनकी मालिक्नी भएकी छु । मायाको मालिक्नी मै हुँ उसको । आखिर जीवन भनेको माया त रहेछ नि । एक मानो खानु, एकधरो लाउनु र एक ओछ्यान सुत्नु त जसले पनि गरेकै छ नि । मुख्य कुरा त गतिलो माया रहेछ । अनि यस्तो गतिलो पोइ किन छाड्नु र !

– त्यो उसको छोराले त मलाई आफ्नै सहोदर आमाभन्दा पनि आगर गर्छ नि । बिचरा आमाविनाको टुहुरो । मलाई आमा पाएपछि त छोरो पनि यति मायालु छ कि के भन्नु ! त्यसको अनुहार नदेखुञ्जेल मलाई सन्तोकै हुँदैन । अहिले त तरुनी खेलाउने जुँगामुठे लाठे भइसक्यो नि । मैले उसलाई पाइनँ, लाम्टा चुसाउन पाइनँ त के भयो र ! ऊ मेरै छोरो हो । आमा भन्नु पनि जन्मले मात्र हुँदो रहेनछ । कर्म दिने आमा झन् आगर हुँदो रहेछ बाबै ।’

– पोइल आएको एक वर्षमै छोरी पनि पाएँ नि । छोरीको रङ भने म गोत गएकी छे । गोरी । अनुहार र बेहोरा भने ठ्याक्कै त्यसकै धुर्मुसे बाउजस्तै छे । इमानदार र असल । एउटा छोरो भइहाल्यो । छोरी पनि पाएपछि त परिवार पुगिहाल्यो नि हौ यो महँगीमा ।’

– १५ वर्ष भयो नि काठमाडौँमा बसेको ।’  

–पुलिसबाट जागिर छोडेर ऊ अचेल गार्डको काम गर्छ । जिन्दगी चलेकै छ ।’  

– काम गर्छु नि काठमाडौंमा बसेर खान पाइन्छ ? कति लोग्नेको मात्रै हाड घोट्नु ए !’  

–‘छन् नि मुर्दारहरू, बाबुसाहेबबाबुसाहेबनी भन्छन् आफूलाई । उनीहरूकै ढोके, बगैँचे, सुसारे आदि भएर काम गर्छु नि । बिहानदेखि बेलुका अँध्यारो नहुञ्जेल काम गर्नुपर्छ ।’

‘काठमाडौंको महँगी भनेर के गर्नु ! जीवन नचलेर के गर्नु ? काम नगरे कसैले भाँडामा चामल हालिदिँदैन क्यारे !’  

– तलब के हुन्छ र हामी नपढेका मान्छेको ? कामचलाउ नभए अर्काको घरको चुल्होचम्को, भाँडा–रछ्यान किन पो सम्हाल्नु त ? तलब त खासै छैन तर उपरा दिन्छन् । मरिलानु पो के छ र ! मरेका भोलिपल्ट दुई दिन भइहाल्छ ।  

–‘तिमीले पनि मैले लगाएको सुन देख्यौ हगि बाहुन ! यो सुन त मैले तलबले होइन, उपराले लगाएकी हुँ ।

–‘असत्ती नामर्द बाहुन, उहिले पटुका ओछ्याउँदा भाग्थ्यौ  । अहिले भालुको मन खन्यूमाथि पापिष्ट बाहुन । अब त भेटे पटुका पनि ओछ्याउनु पर्दैन होला हगि ! भो मलाई भन्नु पर्दैन । तिमीहरू जस्ता ठूला मान्छेको आँतभेउ पाइसकेकी छु मैले ।  

– पोइ गतिलो भेटेपछि बाटाको मादल पो किन हुनु ए ! मुख्य कुरो गतिलो र माया गर्ने पोइ हो, बुझ्यौ बाहुन । तिम्री बाहुनी गतिली परिनन् कि क्या हो !’

–मालिकमालिक्नी कस्ता छन् भन्नु हौ ? अलच्छिनी छन् । असत्ती छन् । धोकेवाज छन्  तर मेरा लागि दानी छन् । मेरा लागि भावी छन् ।  

–आफू मात्र कति बकबक गरिरहन्छौ ए काठा ! मेरा कुरा सुन न । महाराजगञ्जमा छन् मेरा मालिकमालिक्नी । ठूलो दरवारजस्तो घर छ । घर के भन्नु महल छ नि । कुकुर मात्र पाँचवटा छन् । मालिकको छुट्टै गाडी, मालिक्नीको छुट्टै गाडी छ । छोराछोरी विदेशिएका छन् । फूलबारी नै लोभलाग्दो छ ।  

–खोई मालिकको के काम छ मलाई के थाहा ! अर्काको चासो पो किन लिनु ! बिहानै निस्कन्छन् । बेलुका आउँछन् । कति दिन त घरमै आउन्नन् । कहिले साँझमा आउँछन् ।  

– पार्टी भइरहन्छ । मान्छे आइरहन्छन् । रक्सी मात्रै त कति धोक्छन्धोक्छन् असत्तीहरू । पैसाको त खोला नै बगाउँछन् । भगवान् पनि असत्ती छ । ‘हुनेलाई माथैमाथ, नहुनेलाई पुर्परामा हात’ भनेको यही हो बुझ्यौ ।

–उपरावाला काम पनि छ नि । त्यही उपराले जिन्दगी अलि सजिलो भएको छ । यो सुन, छोराछोरीको पाकेट मनी र रामरउसचाहिँ तिनै मुर्दारहरूले दिएको उपराले चल्छ ।’

–ए तिमीलाई मैले पाउने उपराको कथा चाहियो हैन ? अर्काको रछ्यान किन खोतल्छौ ए बाहुन ! यो बाहुन त जातै कुरौटे, कप्टी,   हुती  नभएको, झेली ।

–कति जिद्धी गछौं बाहुन ? भनें त तलबभन्दा धेरै हुन्छ उपरा भनेर ।

–कसरी भन्नु नि, एकदिन काम सकेर घर आउन थालेकी थिएँ, गेटैमा मालिक भन्ने मुर्दार आइपुग्यो र मलाई ‘ठाइँली अलिकति तातो पानी तताइदेन’ भन्यो । पानी तताउन किचेनमा गएको त मुर्दारले आएर पछाडिबाट च्याप्पै छातीमै अँठ्यायो । म त आत्तिएँ नि ।   मातेर लरबरिँदै थियो । अनि उही रम्भुवा खोलाको चिसो पानीको जोस झिकेर एक लात हानेको त भुँडे मालिक भुइँमा पछारियो । खलाँतीजस्तो ह्याकार पो गर्न थाल्यो । अनि मलाई ‘ठाइँली, यो कुरा कसैलाई नभन्’ भन्दै हजार रुपियाँ पो दियो । त्यो दिन मैले पैसा लिइनँ र सरासर घरतिर लागें ।  

–भने नि लोग्नेलाई । लोग्नेलाई छिपाउने कुरा हुन्छ ! लोग्नेस्वास्नीका बीचमा कुरा छिपाउन खोज्यो भने त घर कसरी चल्छ ! माया कसरी बस्छ ! माया नै नभएपछि यत्राको लोग्नेस्वास्नी !  

– के भन्नु नि लोग्नेलाई, भोलिदेखि काममा जान्न भनें नि ।  

–के भन्छ नि त्यो लोग्ने भन्ने गोबर ग्वाँजले । मायालु भएर यत्रो मुख लगाएर ‘भयो त नजाऊ, दुःखसुख गरौंला’ पो भन्छ ए । मैले यसो सोचें बल्लबल्ल पाएको काम । बजियाले फेरिफेरि त्यसो गर्यो भने चिर्पटाले त्यसका टाउकामा हानेर हुर्मत लिन्छु भन्ने मनमा लागेर आयो अनि पहिलेझैं काममा गएँ नि ।  

–के भन्नु नि त्यो मालिक भन्ने मुर्दारले । बजियाले ‘मालिक्नीलाई पनि नभन्नु, कसैलाई पनि नभन्नु है’ भनेर दुई हजार पो दियो त । मेरो पालो पैसा गुटमुटाएर बुलोजका चेपमा हुलें अनि ‘हुन्छ’ भनें ।  

–फेरि लोग्नेलाई भनें नि । ‘तिमीलाई जे गर्न मन छ गर’ पो भन्छ  त । कम्तीको मायालु र विश्वासी छ र मेरो लोग्ने !

–अनि सुन न बाहुन, कति प्यारप्यार गरेको ? अर्को दिन झन् गजब भयो । दिउँसो थियो । त्यो मालिक भनाउँदो काममा भनेर विराटनगर गएको थियो । घरमा एकजना पाहुना आएको थियो । किचेनको काम सकेर फूलबारीमा पानी हाल्दै थिएँ । असाध्य प्यास लाग्यो र पानी खान किचेनमा गएको त गेस्टरुममा मालिक्नी त त्यही पाहुनासँग जिप्टिएको आँखैले देखें । दुवै नकच्चरानकच्चर्नी जुरुक्कै उठे ।  

–अनि के भन्नु नि, तैँ चुप मै चुप भए नि । अनि मालिक्नी भन्ने किचकन्नीले पल्लो कोठामा लगेर मलाई ५ हजार दिएर ‘यो कुरा कसैलाई नभन है’ पो भनिन् ।  

–भने नि लोग्नेलाई । ऊ हाँसेर मुर्छा । मलाई त ‘लौ लैनो गाई भेट्यौ तिम्ले’ पो भन्छ ।

–कस्तो कुरा गर्छौ हौ बाहुन ? हामी त मनमा कुरा खेलाएर बनावटी कुरा गर्ने ठूला मान्छे जस्तो होइन नि । जे छ खुलस्त भन्ने हो । लोग्नेस्वास्नीका बीचमा विश्वास भनेकै यही हो । विश्वासमा अडेको छ संसार । बिचरा मेरो लोग्ने !

–अनि त्यति मात्र कहाँ हो र ! ती मालिक्नी भन्ने मुर्दारनीले पनि लोग्ने बाहिर जाँदा नाठा खेलाउन थाली, स्वास्नी बाहिर कतै गयो भने लोग्नेले बेस्से बटुल्न थाल्यो । यो कुरा चूपचाप लागेर कसैको कुरा कसैलाई नभनेको  पनि उपरा पाउन थालें नि ।  

–हाहाहा, ए बाहुन सुन । हुँदाहुँदा त नाठानाठीलाई खाजा बनाउन पो लगाउन थाले । दोकानबाट कोक, बियर, रक्सी, चुरोट किन्न पो पठाउन थाले । यसरी उपरा बढ्न थाल्यो ।  

–फेरि यो झेक्ने बाहुन मैलाई पो शंका गर्छ ए ! फटाहा बाहुन ।  

–तिम्रो उपरा र मेरो उपरामा फरक छ । तिमी ठूला मान्छे, ठूला कर्मचारी मान्छेलाई बाध्य पारेर लिन्छौ । काम अड्काएर लिन्छौ । ‘हलो अड्काएर गोरु चुट्छौ’ । म उनीहरूले राजीखुसीले दिएको लिन्छु । तिम्रो उपरा पाप हो । मेरो उपरा कर्म हो ।  

–के गर्नु त्यो काम छोडें भने मैले अर्को काम पाउन्न । अनि त रत्नपार्ककै रेलिङ समाउने चेलीको जस्तो हुँदैन त मेरो हालत !

–आफूले जिल्लामा हाकिम हुँदा कतिकति सुताएँ भन्छौ । स्वास्नी काम लागेन भने बरु फेर्नु नि । कानुनले दिएकै छ क्यारे । कताको चाहार्नु ! तिमी पनि पातकी लोग्ने मान्छे त हौ नि । पैसा कमाएपछि मति बिग्रँदो रहेछ मान्छेको । पैसा भएपछि लोग्नेमान्छेले मात्र होइन स्वास्नी मानिसले पनि मति बिगार्ने रहेछन् । बराबर पो रहेछ । न उन्नाइस न बीस । कोही रहरमा, कोही बहमा बिग्रन्छन् भन्थे, हो रहेछ ।

–अनि त्यति मात्र कहाँ हो र ! पछि पो थाहा पाएँ, जोडाजोडी भएर फुँडाफुँडी आउँदा रहेछन् । कारमा आउने हौ फुँडाफुँडी पनि । हाम्री मालिकमालिक्नीको त त्यो धन्दा पो रहेछ । एकजोडा जोडीको ५ हजारभन्दा बढी लिँदा रहेछन् । यस्ता फुँडाफुँडी बाक्लै आउन थाले । तास खेल्ने बहाना हुने रहेछ । मैले जतिजति चाल पाउँदै गएँ उतिउति मेरो उपरा बढ्दै गयो ।  

–तिनीहरूलाई खाजा बनाऊ, दोकानबाट किनेर ल्याऊ, बजियाबजिनीले जुठ्याएको लुगा लगेर वासिङ मेसिनमा हाल । खाएको जुठाभाँडा माझ र यो कुरा गोप्य राख । फुर्सद भएमा  फूलमा पानी हाल । यत्ति छ मेरो काम । यसैमा बिहानदेखि साँझ पर्छ ।

–पुलिसका बाउको के पिताम ! ठूलो कम्पाउण्ड छ । कुकुर छन् । सम्पत्ति छ । पाउर छ । पुलिसको हाकिम आफैं आउँछ ।

–विश्वास गर, पैसा खाने आइमाई मात्र हुँदा रहेनछन् । लोग्नेमान्छे पनि हुँदा रहेछन् । लोग्नेमान्छे पनि वेश्या हुँदोरहेछ । त्यही घरमा गएर चाल पाएँ ।  

–यत्राको फसाउँछन् ? तिनीहरूको फोटो पनि सुटुक्क खिचेर राखेकी छु नि । नत्र त यी ठूला मान्छेको भर हुन्न । कुनै दिन मैलाई खाल्डामा पार्न सक्छन् नि मुर्दारहरूले । फोटो छ । केही भने भने त्यही फोटाले जोगाउँछ । त्यही फोटाले उपरा कमाउँछ ।  

–यही मोबाइलमा राखेकी छु नि ! हेर्छौ ?

–चिन्यौ भने कसैलाई पनि नभन नि । चूपचाप बस । मेरो कसम । नत्र मेरो जागिर धरापमा पर्छ । विश्वासघात गर्नु पनि हुँदैन । अहिलेको संसार नै त्यस्तै छ । के गर्ने !

–हेर यी मेरा मालिक हुन् । यो नकच्चरी उनकी गर्लफ्रेण्ड हो ।  

–हेरी यी मेरी मालिक्नी र यो नकटो उनको ब्वायफ्रेण्ड हो ।  

–तिमीलाई अचम्म लाग्ला, हेरी यो ६० वर्षकी आइमाई हो, यसको केटो यो हो, जम्मा २५ वर्षको छ । त्यो आइमाईबाट पैसा खूव कमाउँछ रे केटाले।

– योचाहिँ अलि महँगी खालकी अरे । मन्त्री, व्यापारी, सचिव जस्ता ठूला मान्छेसँग आउँछे । पालैपालो फेरिफेरि आउँछे । राम्री पनि बिछट्टै छे । तेल्ले पो दिन्छे त उपरा । आफू त के दिँदी हो र ! उनीहरूलाई नै दिन लाउँछे ।

मैले उसले देखाएको फोटो हेरिरहेथें । फोटोमा मन्त्री तथा सचिव उही थिए, जसले मेरो सरुवा जिल्लाको मालवाला अफिसमा गराइरहन्थे हरेकपटक । फोटोको व्यापारी उही थियो जसले मलाई घर बनाउन ठूलो सहयोग गरेको थियो । त्यसपछि मेरो अनुहार एकाएक उदाश भयो । महँगी खालकीमा मेरी आफ्नै श्रीमतीको फोटो थियो ।

प्रकाशित: ४ श्रावण २०७७ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App