१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

आफ्नै लयमा भक्तपुर

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भक्तपुरको भयावह अवस्था देखेर लागेको थियो– अब कम्तीमा पनि एक दशक हामी यस्तै माटोको ढिस्को र भग्नावशेषसँगै अभ्यस्त हुुनुपर्नेछ । भूकम्पले ज्यान गुमाएकाको शव र आफन्तका ओसिला आँखा देख्दा लागेको थियो– कम्तीमा अब केही वर्षसम्म भक्तपुरमा धिमे र बाँसुरीका धुन सुन्न पाइनेछैन । हरेक वर्ष गाईजात्रामा एक साता चल्ने रात्रिकालीन सांस्कृतिक उत्सव शून्य–शून्य हुनेछ । देवीनाच, भैरवनाच, कंकाल नाच, कुकुर नाच, शेरसिंह नाच, राधाकृष्णको प्रणय नाच, गाइने नाच, फाकंदली नाच अब भक्तपुरले कम्तीमा केही वर्ष देख्न पाउनेछैन– यस्तै लागेको थियो ।

भूकम्पले पूर्णतः भत्काउन नसकेको तर बस्न नहुने घरका भयावह रूप देख्दा वर्षौंसम्म तर्केर हिँड्न बाध्य हुने कल्पना थियो । अस्थायी शिविरमा पाल टा“गेर बसेका परिवारका सदस्य आकाश ढाकेको पालको छानाबाट झरेको शीतका थोपाबाट जोगिन कुचुक्क परेर बसेको देख्दा समय सामान्य लयमा फर्किन धेरै समय लाग्ने अनुमान थियो । यी सबै परिकल्पना र अनुमान सम्झँदा लाग्छ, सायद त्यतिबेलाको परिस्थितिले हामीलाई अलि बढी नै निराश बनाएको रहेछ । त्यस्तो निराशा एक प्रकारले उचित नै थियो । किनभने त्यतिबेला बाटोमा हिँडेका बटुवाका शुष्क आँखामा कुनै जाँगर देखिँदैनथ्यो । सा“गुरा गल्ली भग्नावशेषका भीमकाय थुप्रोभित्र पुरिएका थिए । बाटा हराएका थिए । चोकहरू हराएका थिए । इनारहरू पुरिएका थिए ।  

भूकम्प पछिका धेरै महिना पुरानो बस्ती लगभग सुनसान थिए । एकाध घरमा मात्र पिलपिल बत्ती बलेको देखिन्थ्यो । भूकम्पले भत्केको घर कति बेला बनाउने भन्ने तनावले रक्सी खाएर छिमेकसंग बाझाबाझ पर्दा छुटाउने अर्को मान्छे भेटाउन मुस्किल थियो । 

भूकम्पपछि भक्तपुर देखिने गरी परिवर्तन भयो । परिवर्तनको आयातन भौतिक निर्माणमा मात्र सीमित छैन । भक्तपुरको आर्थिक, सामाजिक र सांस्कृतिक कोणबाट पनि यो प्राचीन सहर बदलिएको छ । त्यसो त समयसँगै सबै कुरामा परिवर्तन प्राकृतिक नियम हो । भक्तपुर पनि सुस्त–सुस्त परिवर्तनको नियमित लयमा हिँडिरहेकै थियो । तथापि भूकम्पले यो नियमिततामा छलाङ मार्यो । देखिने गरी धेरै परिवर्तन भूकम्पपछि भक्तपुरले देख्यो ।  

सबभन्दा टड्कारो देखिएको परिवर्तन त आज भक्तपुरको आकार फैलिएको छ । भूकम्पमा बस्दै आएको घर भत्केपछि पुर्खाको निधिलाई मन मारेर धेरै मानिस मूलबस्तीभन्दा वरपरका क्षेत्रमा बसोबास गर्न थाले । भक्तपुरको पुरानो बस्तीभन्दा बाहिरका खुला फाँटमा घर बन्न थालेको त भूकम्पभन्दा धेरै अघिदेखि हो । भूकम्पपछि भने ती फाँट दू्रततर गतिमा भरिए, ब्लक भिडियो गेममा स्क्रिन भरिँदै गएजस्तै । फैलिएका ती नयाँ बस्ती गुल्जार बनेका छन् । पसल थपिएका छन् । चमेनागृह, भट्टी, मःमःचा पसल, कफी पसल, स्टेसनरी पसल, विद्यालय, जिमखाना आदि नयाँ बस्तीमा सरेका छन् । अथवा त्यहाँ नयाँ–नयाँ यस्ता सामाजिक अन्तर्क्रियाका ठाउँ खुलेका छन् ।  

प्रकृति, संस्कृतिदेखि मानिसको जीवनमा परिवर्तन अनिवार्य नियम हो । प्राचीन सहर भक्तपुर स्वाभाविक परिवर्तनको नियमित गतिमा अघि बढिरहेको छ । परिवर्तनको गति अँगाल्दै चार वर्षअघिको भूकम्पले थचारेको यो सहर अहिले पुनः ऊर्जाशील भएर अघि बढ्न खोजिरहेको भान हुन्छ ।

विस्तारित नयाँ बस्तीमा नयाँ नामका चोक र मार्ग बनेका छन् । नयाँ मन्दिर र देवता स्थापना भएका छन् । मानिसका छिमेकी फेरिएका छन् । झगडिने, आपसमा साट्ने कुरा फेरिएका छन् । ऐँचोपैँचो गर्ने सामान फेरिएका छन् । छोराछोरीका साथी फेरिएका छन् । नयाँ घरमा सरेसँग मानिसका आवश्यकता, चासो र सोख फेरिएका छन् । नयाँ–नयाँ भजनमण्डली, महिला समूह, बचत समूह, टोल समितिहरू विकास भएका छन् । ती सबै समूहमा आज पुरानो बस्तीका विभिन्न टोलका रैथाने मात्र होइनन्, विभिन्न जिल्लाबाट बसाइँ सरेका मानिस पनि सामेल छन् ।

पुरानो बस्तीबाट नयाँ बस्ती सरेका रैथानेको सामाजिक अनुकूलनको प्रक्रियासँगै विविध सामाजिक र सांस्कृतिक पृष्ठभूमिबाट आए मानिसबीच त्यही अर्को तहको सामाजिक अनुकूलको प्रक्रिया पनि चलिरहेको छ । भक्तपुरका पुरानो बस्तीका निश्चित भेगका मानिसको जग्गा–जमिन नगर वरपरका निश्चित भेगमै केन्द्रित छ । एउटा टोलका अधिकांश मानिसका जग्गाजमिन पनि एकै ठाउँमा हुने गरेको छ । त्यही जग्गा–जमिनमा अहिले बस्न घर बनाउँदा नयाँ बसेका बस्तीमा पनि पहिलेकै बस्तीको परावर्तन महसुस गर्न सकिन्छ । त्यस्तो बस्ती पूर्णतः सबै पहिलेकै फोटोकपी भने होइन । त्यहाँ केही अन्यत्र टोल र जिल्लामा मानिसको बसोबास पनि समावेश भएको छ । नयाँ बस्तीमा बाक्लो विभिन्न पृष्ठभूमिका डेरावालले पनि सामाजिक अनुकूलको अर्को तह थपिएको छ । यसकारण नयाँ बस्ती पुरानो बस्तीको अवशेष बोकेका नयाँ रूप र किसिमका समुदाय बनेका छन् ।  

चार वर्षको अन्तरालमा भूकम्पको भग्नावशेषबाट पुरानो बस्ती लगभग उम्किसकेको छ । पुरानो बस्तीमा आज हिँड्दाहिँड्दै बाटो हराउने अवस्था छैन । चोकहरूका चार किल्ला खुट्ट्याउन सकिने भएको छ । इनारमा पानी होला–नहोला, तर इनारले पुरानो आकार पाइसकेको छ । पुरानो बस्तीले फेरि जीवन पाउन थालेको छ । बिहान झन्डै ७–८ बजे पुराना बस्तीका अधिकांश टोल र गल्लीमा नगरको महिमा गाइएको गीत बजाउँदै फोहोर उठाउने विद्युतीय गाडी गुडेको सुनिन्छ । मानिसहरू घर–घरमा थुप्रिएको फोहोर तिनै वाहनमा थुपार्छन् । ज्येष्ठ नागरिक र केटाकेटी फोहोर फाल्ने गाडीको आगमनसँगै समयको मेसो पाउन थालेका छन् । फोहोर उठाउन नगरपालिकाले चलाएका यस्ता गाडी दैनिक दुईपटक यसरी नै गीत बजाउँदै र सूचना फुक्दै गुड्ने गरेको छ ।  

भूकम्पपछि बन्दै गरेको भक्तपुरको पुरानो बस्ती पनि अब हिजोभन्दा भिन्न रूपको बन्दैछ । हिजो टाउको ठोकिने गल्लीहरू आजभोलि अग्ला–अग्ला बन्दै छन् । अब सायद कुनै गल्लीमा पस्दा दिमाग घुमाउने गरी कसैको टाउको ठोकिने छैन । घाम नपर्दा ओसिलो बनेका हिजोका गल्लीमा आजभोलि पारिलो घाम लाग्छ । सहरको आउट स्कर्टमा ढलानका रंगीन घर बने पनि पुरानो बस्तीमा बनेका अधिकांश घरले भने सकेसम्म परम्परागत शैलीकै फ्लेबर दिन खोजेको भान हुन्छ । माटोजडित घर भेटाउन मुस्किल छ । भित्री आधार ढलान गरिए पनि बाहिरी कलेवर भने परम्परागत शैलीकै दिन खोजिँदैछ । ती घर बाहिर जति परम्परागत शैलीका छन्, भित्र त्यति नै आधुनिक सुविधा सम्पन्न बन्दै छन् । नयाँ बनेका त्यस्ता घरमा भान्छा, कोठा र शौचालय भने आकर्षक बनाइएका छन् । आजभन्दा झन्डै तीन दशकअघि भक्तपुरका मानिस जर्मन परियोजनाले बनाएका सामूहिक शौचालय प्रयोग गर्थे भन्ने कुरा पत्याउन यस्ता परिवर्तनले गाह्रो बनाएको छ ।

नया“ घर बनेस“गै भक्तपुरका औसत मानिसको भूमिमाथिको स्वामित्व र निर्भरता भने कम हु“दै गएको छ । भूकम्पले मानिसलाई घर बनाउन बाध्य बनायो । बजार मूल्य र आर्थिक अवस्थाका कारण अधिकांश मानिसले आफ्नो स्वामित्वमा रहेको जमिन नबेची घर बनाउन सक्ने अवस्था रहेन । फलतः जग्गा बेचेर घर जोड्नुपर्ने बाध्यताले हिजोका कृषिमा निर्भर समाजको चरित्रमा बदलाव आएको छ । भूकम्प अघि र पछि भक्तपुरको जमिनको स्वामित्वको संरचनामा फेरबदल भएको छ । निम्न आयका परिवारको स्वामित्वमा रहेको जमिन आज धनीको हातमा केन्द्रित हुँदै गएको छ । अथवा, विभिन्न जिल्लाबाट भक्तपुरमा घडेरी जोड्ने आर्थिक क्षमताका मानिसको हातमा त्यो जग्गा परेको छ । फलतः २०७२ को भूकम्पपछि भक्तपुरको भूमि सम्बन्ध र स्वामित्व बदलिएको छ ।    

‘कुल, भूमि र राज्यः नेपाल उपत्यकाको पूर्वमध्यकालिक सामाजिक अध्ययन’ पुस्तकमा लेखक प्रयागराज शर्मा लेख्छन्, ‘नेवार सामाजिक र सांस्कृतिक जीवनलाई आबद्ध गर्न सक्षम संस्था भन्नु ‘गुठी’ हो र त्यसको मूल जरो भन्नु भूमि नै हो ।’ भूकम्पपछि भक्तपुरको सामाजिक जीवनको अन्योन्याश्रित हिस्सा गुठीको चालचलनमा पनि परिवर्तन देखिएको छ । भूकम्पअघि अधिकांश गुठीका भोज र व्यवहार भक्तपुर नगरलाई चारैतिरबाट घेरेको खोलाभन्दा पारि नगर्ने मान्यतामा अडिग थिए । 

तर, भूकम्पले पुरानो बस्तीभित्रका धेरै घर भत्केको वा कम्तीमा पनि बस्न खतरा भएको अवस्थामा यो मान्यताले परिवर्तनको माग गर्यो । खोलापारि गुठीका गतिविधि नगर्ने मान्यतामा बदलाव आएको छ । गुठियारका घर पनि पुरानो बस्तीभन्दा बाहिर बन्न थालेको अवस्थामा यो मान्यतामा परिवर्तन आवश्यक बन्यो । गुठी परम्परामा हिजोभन्दा आज आएको परिवर्तनको यो नमुना हो । यसले निम्त्याउने सकारात्मक वा नकारात्मक प्रभाव भने अलगै अध्ययनको विषय हुन सक्छ ।  

माघ, ०७६ मा भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर जिल्लाव्यापी धिमे बाजा प्रतियोगितामा जिल्लाभरिका ७७ वटा धिमे बाजा खलःले भाग लिए । यसअघि आयोजित धाँ बाजा प्रतियोगितामा ३५ भन्दा बढी समूहले सहभागिता जनाएका थिए । बाँसुरी बाजा र अन्य विभिन्न सांस्कृतिक नाचको प्रतियोगिता र प्रस्तुति पनि उत्तिकै उत्साहप्रद छन् । यसरी बाजा बजाउन तम्सिएका हातहरू अधिकांश युवा छन् । चार वर्षअघि भूकम्पले ‘राता स्टिकर’ लगाएको भक्तपुरको अमूर्त सम्पदामा अहिले देखिएको यो जागरण सुखद् हो । पुरानो बस्तीमा मानिसको बसोबास हिजोको तुलनामा पातलो बने पनि भक्तपुरका बाजागाजामा भने भूकम्पले धेरै ठूलो धक्का दिन सकेको देखिएन, अथवा दिएकै भए पनि अहिले नयाँ गति प्राप्त गरिसकेको देखियो । नयाँ बस्तीमा पनि क्रमशः बाजागाजा समूह बन्ने क्रमको सुरुवातले यो सिलसिला अविछिन्न रहने देखिएको छ । तथापि भक्तपुरका नौबाजा, मालीं, पोङा आदि बाजाको संरक्षण गर्न तड्कारो आवश्यक बनेको कलाकार इन्दिरा लाछिमस्यु बताउ“छिन् ।  

प्रकृति, संस्कृतिदेखि मानिसको जीवनमा परिवर्तन अनिवार्य नियम हो । प्राचीन सहर भक्तपुर स्वाभाविक परिवर्तनको नियमित गतिमा अघि बढिरहेको छ । परिवर्तनको गति अँगाल्दै चार वर्षअघिको भूकम्पले थचारेको यो सहर अहिले पुनः ऊर्जाशील भएर अघि बढ्न खोजिरहेको भान हुन्छ । भूकम्पले शुष्क बनाएका आँखा आजभोलि ऊर्जाशील देखिन्छन् । समाधानको पर्खाइमा रहेका समस्या, निवारणको पर्खाइमा रहेका गुनासा र बनाइने प्रतीक्षामा रहेका धेरै कुरा अद्यापि छन् । तथापि मानिसको मनमा ऊर्जा सञ्चार गर्ने सक्रियताको सिलसिलाले धेरै चाँडै भक्तपुरलाई पहिलेकै नियमित लयमा डोर्याएको छ । त्यो डोर्याइ भने हिजोभन्दा निःसन्देह भिन्न देखिँदै छ ।  

प्रकाशित: ६ असार २०७७ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App