२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

टर्निङ वाक

कथा

पेशल आचार्य

प्रकेश र केशव सधैँ ५ बजे मर्निङ वाकमा जाने गर्छन् ।  

दुवै स्थानीय सहरका अस्थायी बासिन्दा । दुवैको घर सो सहर बाहिर । प्रकेशको सोही नगरपालिकाको १४ नम्बर वडा । केशवको भने काठमाडौं । प्रकेश ३५ नकाटेको पठ्ठो । केशव ५५ काटेका अधबैँसे । प्रकेश बोर्डिङ स्कुलको टिचर हुन् भने केशवचाहिँ सरकारी स्कुलका शिक्षक । दुवैको विषय नेपाली । राष्ट्रियता समेत नेपाली दुवै साहित्यमा असीम रुचि राख्ने । प्रकेशको रूचि लघुकथामा विशेष गरी । केशवको भने कविता, कथा र निबन्धमा त्रिभुजीय शैलीमा । अझ निबन्धमा केशव माहिर देखिने ।  

दुवैको दुई कुरा मात्र मिल्थेनन् ।  

पेशल आचार्य

एक हाइट । प्रकेश करिब ६ फिटका । केशव ५.२ इन्चका । प्रकेशको तौल ८० केजीको हाराहारी थियो, केशवको ७० हाराहारी ।  

साहित्यका दुवै सोखिन । प्रकेश नवोदित । केशव स्थापित ।

एउटा कुराको पृथकता भने थियो, त्यो के भने योपटक उनीहरूको मर्निङ वाक बदलिएर ‘टर्निङ वाक’मा परिवर्तन भएको थियो । केही दिनको मन मिटरको घनघटाले गुरु र चेलाका मैला मनका आकाशका बादलहरूलाई मडारेर पानी पारिदिएको थियो ।

दुवैको जीवनसम्बन्धी मान्यता रन्दा लगाएको मिलेको काठको फलेकजस्तो यस्तो, ‘यौन जीवनको सुन्दर फूल हो तर त्यो धरापमा छ ।’

फिजिकल फिटनेसमा प्रकेश अब्बल । केशव सिम । योचाहिँ जग्गाको मापोको हिसाबमा । खाने कुरामा केशव नाकनिक नगरी खाने । प्रकेशचाहिँ केही केही कुरामा नाकनिक गर्ने । केशव घरको जेठो छोरो । प्रवेक कान्छो । हल्का प्रकेश अल्छी र केशव मेहनेती । तर दुईमा यो फिलिङ कहिल्यै थिएन, भनौँ न आएन ।  

नङ–मासुझैँ टम्म मिलेका थिए, दुवै दुवैका लागि ।  

लेखन÷मनन÷चिन्तन र परामर्शमा केशव अब्बल । प्रकेश दोयम ।  

गुरुमा अनुभव बढी ऊर्जा कम तर चेलामा अनुभव कम र ऊर्जा बढी ।

दुवैले दुवैलाई दुवै सहयोग गरेका थिए । भरथेग थियो, बेरोकटोक, बिनास्वार्थ ।  

कहिलेकाहीँ दुवै पिउँथे । गुरुलाई पिउनुको बन्देज थिएन, किनकि उनको घर–परिवार त्यहाँ थिएनन् । तर उनको स्वास्थ्यले उनलाई रेगुलर पिउन दिँदैनथ्यो ।  

चेलालाई शरीरले पिउन दिए पनि उनका परिवार उनीसँगै बस्ने भएकाले अप्ठेरो हुन्थ्यो । तसर्थ तालिमसालिम र गोष्ठीसोष्ठी भएका बेला दुवै पिउँथे, छेउकुना छुने गरी । बाँकी कुरा तपसिलका थिए, ऐजन ऐजन ।  

कहिल्यै बाझोजुझोमा परेनन् । कहिल्यै सिद्धान्तका कुरा पनि उक्काएनन् ।  

दुवैको कार्यशैली ‘वामपन्थी’ थियो भने सिद्धान्त ‘दामपन्थी’ । देशजस्तो थियो, तिनीहरू दुरुस्तै देशजस्ता थिए ।  

आफ्नो काम आफैँ गर्नुपर्छ । अरूलाई गर्न लगाउनु हुन्न । गाउँघरतिर भनिन्छ नि, ‘मुख मुखिया पिठिउँ भरिया’, करिब त्यस्तै त्यस्तै ।  

मजाको कुरो त के थियो भने ती दुवैले दुवैको भाषिक अभिव्यक्ति मात्र बुझ्दैनथे आँखाको, नाकको, अनुहारको र शरीरको भाषा पनि बुझ्दथे ।  

वाचिक, कायिक, आहार्य र अभिनय सबैसबै कलामा दुवै पोख्त थिए । नसिकेको कुरा दुवैले दुवैलाई सिकाउँथे । जसले जसलाई सिकाउँथे त्यो बेलामा गुरुचेला दुवैको भूमिका अभिनय फरक हुन्थ्यो । तर त्यसमा दुवैको चित्त बुझ्थ्यो । कहिल्यै पनि चित्त कुँडिएन । दुवैको मन हलुका थियो । भाउ भन्दा पनि ती हल्का कमाउने दाउ हेरिरहन्थे भन्दा अत्युक्ति नहोला ।  

शरीरको भाषा याने बडी ल्याङ्ग्वेज । यो तिनीहरूको पेसामा काम लाग्थ्यो । अझ कुनै गोप्य काम कुरा गर्नुप¥यो भने तिनीहरूले केही सीमित शब्दहरूको निर्माण र आविष्कार गरेका थिए जो तिनीहरू मात्र बुझ्दथे । समूहमा काम गर्दा, मोबाइलमा बोल्दा र कसैलाई कुनै कुरा छिपाउनु पर्दा ती दुवै सोही भाषाको प्रयोग गर्ने गर्दथे ।  

त्यो भाषालाई उनीहरूले ‘पाल्सी कुरा’ भनेर नामकरण गरेका थिए ।  

त्यही भाषाको मुनाफा स्वरूप दुवैले कहिलेकाहीँ खानेपिउने, राम रमाइलो गर्ने र आनन्दका कुरामा पनि आफूलाई सरिक गराउने गर्दथे ।

चेलो धेरै कुरामा गुरुको पनि गुरु महागुरु जस्ता थिए भने गुरुचाहिँ केही कुरामा मात्र गुरु थिए । बाँकी कुरामा चेला । मजाको कुरा के थियो भने दुवैलाई आफ्नो भूमिकाप्रति कुनै गुनासो थिएन । अझ भनौं भूमिका परिवर्तन गरियो भने ती दुवै फेरिएको भूमिकाप्रति अभिनय गर्न सक्ने ल्याकतमा पनि थिएनन् ।  

जीवन नै भूमिका हो । जगत् नै नाटक हो । जुन भूमिका हामीलाई जीवन र जगत्ले दिलाएको छ, त्यसैमा रमाउन सक्नुपर्छ । गुरुको मान्यता यही थियो र उनी हरहमेसा चेलालाई यही कुरा मनाउन तत्पर रहन्थे । कहिले गुरु सफल हुन्थे । यहाँनेर एकएक दुई हुन्थ्यो, ती दुवैको योगफल । तर धेरैजसो गुरु मात्र एक्लै हुन्थे । अनि एक जोड शून्य गरी एक मात्रै हुन्थ्यो । त्यसो हुँदा पनि गुरु कहिल्यै निराश भएनन् । चेलाले गुरुलाई निराश हुनै दिएनन् ।  

ती दुई शरीर र एक मन थिए । ती दुई स्वर र एक वाणी थिए । अचम्मै थियो ती गुरुचेलाको सम्बन्ध । कहिलेकहिले त अचिनारु र परदेशका ठाउँमा मानिसहरू गुरुको हुन् चेलाको हुन् भनेर छुट्याउनै सक्दैनथे ।  

अनि ती दुवै कुनै बेला त रेला (जिस्कने काम) पनि गर्दथे । यस्तै रेला एकपटक चेलाले आफ्नो मावल दोलखा जाने क्रममा गुरुसँग गरे । गुरु पनि तोकिएको भूमिका निर्वाह गर्न थाले । फसाद के प¥यो भने चेलाका मावलमा भएका गृहस्थ मामाहरू जो असाध्यै ग्रामीण र सोझा पन्थका थिए । ती बरा झुक्किए । चेलालाई नराम्रो लाग्यो । बाटामा उसले गुरुसँग माफी मागे । गुरुले हार्दिक रूपले माफी दिए ।  

दुवै खुसी भए । सँगै हाँसे । सँगै हँसाए ।    

यस मानेमा भने चेलो गुरु र गुरु चेलो भूमिकामा थिए । हो, उनीहरूको यही व्यवहार देखेरै ‘गुरु गुण चेला चिनी’ भन्ने उखानको अभिर्भाव भएको हुनुपर्छ ।

०००

बिदाको दिन दुवै धेरै हिँड्थे । नत्र आइतबारदेखि शुक्रबारसम्म उनीहरूको हिँड्ने समय र दूरी करिब २ किलोमिटर मात्र थियो ।  

दुवै ५ देखि ५ः४५ सम्म नित्य मर्निङ वाकमा हिँड्ने गरेको दुई महिना भइसक्यो । यदाकदा हिउँदका दिनमा पानी परेर चिसो सिरेटो चलेका बेला भने दुवैको मर्निङ वाकमा अवरोध हुन्थ्यो ।  

एक बिहानी दुवै प्रातः कालीन हिँडाइमा हिँडिरहेका थिए । प्रकेश अलि जिज्ञासु र जिद्दी स्वभावका भएकाले केशवलाई प्रश्न सोधेर हैरानै पार्थे । केशवले पनि उनका हरेक प्रश्नको जवाफ दिनैपर्दथ्यो । उनी उमेरका कारण अलि पाका भएकाले प्रायः प्रकेशले सोधेका प्रश्नको उत्तर दिन प्रयास गर्दथे ।  

उनले सोध्ने प्रश्नहरू जीवन, जगत्, यौन, शरीर, आत्मा, मित्रता, गुरु, चेला, समाज, योग, भोग, राजनीति, अपराध, सिनेमा, माक्र्सवाद, माओवाद, साहित्य, कला, संस्कृति र वर्तमान विश्वका बारेमा हुन्थे । विधिमा चेला प्राश्निक र गुरु उत्तरदाता हुन्थे भने प्रविधिमा गुरु प्राश्निक र चेला उत्तरदाता हुन्थे । अझ यसो भन्दा पाठकलाई बुझ्न सजिलो हुन्छ कि दुवैको भूमिका प्राश्निक र उत्तरदातामा स्वस्फूर्त बदलिन्थ्यो ।  

‘गुरु, हामी मरेपछि कहाँ जान्छौं ?’  प्रकेश केशवलाई गुरु भन्थे । अनायासै यस्तो प्रश्नको सामना गर्नुपर्ला भनेर केशवले सोचेका पनि थिएनन् सायद् । उनी छक्क परे । बिहानै भए पनि उनका निधारमा चिट्चिट् पसिना आए । अलि हिँडाइको धपेडीले अलि प्रश्नको प्रहारले ।  

उनले सामान्य हुने प्रयत्न गर्दै भने, ‘जहाँबाट हामी आएका हुन्छौं । त्यहीँ ।’

प्रकेशलाई चित्त बुझेन ।  

उनले फेरि सोधे, ‘कहीँ भन्ने टुंगो त हुनुप¥यो नि ? हैन र गुरु ?’  

गुरुले मुख खोले, ‘वत्स ! यो बडो । गम्भीर सवाल हो । यसलाई अलिकति अवकाशको जरुरत पर्छ । छलफल मात्रले यसको गुत्थी निस्कँदैन । मीमांशा नै गर्नुपर्छ । वत्स ।’ उनको हिँडाइ अलि धीमा भएको थियो ।  

‘गुरु ! हुन्छ यो सवाल–जवाफलाई भरेको चिया सेसनमा बसेर गुत्थी फुकाउँला । हुन्न गुरु ?’  

केशव गुरुले स्वीकृतिसूचक टाउको हल्लाए ।  

करिब तीन किलोमिटर जति हिँडेपछि यसरी त्यो दिनको उनीहरूको मर्निङ वाक सकियो ।

०००

भोलिपल्ट गुरु एक्लै भए । चेलोले धोका दियो । वातावरण अलि चिसो चिसो थियो । गुरुलाई युरिक एसिड, पायल्स, चिनी र प्रेसर सबै थियो । चेलालाई कुनै कुराको अनुभव समेत थिएन । कारण चेला त्यो उमेरको घाँचसम्म पुगेकै थिएन । करिब २० वर्षको उमेर अन्तराल हुँदो हो उनीहरूको । २० वर्ष भनेको चार जेनेरेसन हो । हामी कहाँ पनि पाँच वर्षलाई एक जेनेरेसन भनिन्छ ।  

चेला अघि प्रविधिमा गुरु अघि विधिमा । चेलालाई सुसांख्यका हरेक चिजबिज आउँथ्यो । चेलाको अर्को पेसा पनि थियो । ऊ बोर्डिङ पढाएर उब्रिएको समयमा पत्रकारिता पनि गर्दथे । त्यो सहरमा चारवटा एफएम रेडियो । तीन–चारवटा साना टेबलोइड आकारका साप्ताहिक पत्रिकाहरू र तीनवटा अनलाइन पत्रिका थिए । उनी एउटा साप्ताहिकमा काम गर्दथे । स्थानीय राजनीतिज्ञ र राजनीतिक पार्टीका कार्यकर्तासँग राम्रो सम्बन्ध भएकाले उनी बेला–बेलामा स्थानीय तहमा प्रपोजल हालेर बालबालिका र किशोर साहित्य लेखनका कार्यशालाहरू गराउँथे । त्यस्ता कार्यशालामा सबै पुरेतको भूमिका उनी आफैँ गर्दथे भने बाँकी रहेको कक्षा लिने काम केशव गुरुको हुन्थ्यो । प्रकेश गुरुलाई गुरुको लोड र घाँटीको एक्सर साइज भएका अनुपातमा पाँच हजारदेखि सात हजार रूपैयाँसम्म शैक्षिक दक्षिणा दिन्थे ।  

एउटा कार्यक्रम भएको केही दिनसम्म एउटा स्थानीय तहले तालिम कार्यक्रमको रकम भुक्तानी समयमा गरेन । गुरुलाई पैसाको फिटफिटी प¥या थियो । नगरपालिका पैसा दिन टसकोमस नगर्ने । कार्यकारी बिदा लिएर घरतिर गइदिएछ । लेखापाल पनि खै कताको तालिममा गएकाले पैसाको फरफारक हुन करिब मैना दिन जति भकुन्डियो ।  

गुरुले एक साँझमा चेलालाई फोनमा पैसाले आफूलाई उपियाँले टोके जस्तो गरेको छ भनेरै कुरा राखे । गुरुले भने, ‘प्रकेश भाइ, लु मलाई त निकै गाह्रो पो भयो त । पैसा दिनुप¥यो ।’  

जवाफमा प्रकेश अलि च्याँट्ठिए । उनले भने, ‘गुरु मैले लिएको पेस्कीले होटलको खाना, खाजा खर्च, सहभागी खर्च, स्टेसनरी र नगरपालिका सरहरूलाई साथै काठमाडौँबाट आउनु हुने अतिथि प्रशिक्षकलाई सबै भुक्तान गरेँ । तपाईंलाई अहिले म दिन सक्दिनँ । केही दिन पर्खनुहोस् ।’

गुरुको अवस्था पनि पानीबाट झिकेको माछाजस्तै भएको थियो त्यो बेला । उनले पनि अलि तातो रिस निकाले । पैसाले मानिसको मिल्ती गराउँछ र छुटानाम पनि ।  

गुरुले भने, ‘मलाई अहिले मेरो पारिश्रमिक नदिने हो भनेपछि त नदिए पनि हुन्छ । अभरमा नलागेको पैसो के पैसो । म लिन्न पैसोसैसो ।’ अनि उनी अर्धचेतन मनले केके फलाकिरहे । सो कुरा उनले त सुनेनन् तर अफ नगरेको मोबाइलमा कुन्नि कुन स्विच थिचेर सबै रेकर्ड भएछ र उतापट्टि चेलाले सबै सुनेछ ।  

चेलो प्रविधिमा बाठो । नबुझ्ने केही थिएन ।  

फोन राखेको आधा घन्टा पनि बितेको थिएन । चेलाले गुरुलाई तुरुन्तै पैसा ल्याइदियो । जति लिनुपर्ने थियो गुरुले त्यसमा एकपैसा पनि कम नगरी ल्याइदियो । मानिसले सधैँ आफ्नो मात्र अभर हेर्छ । चेलाको अभर हेर्न नसक्नु गुरुको कमजोरी । गुरुको अभरपभर थाहा नपाउनु चेलाको कमजोरी । दुवै दुवैतिरबाट बेफ्वाँकमा ताते । अनि कसैले कसैलाई नसम्झाई सेलाए पनि ।

केही दिन दुवै दुवैसँग बोलेनन् । दुवैलाई दुवैसँग रिसको पारो चढ्यो ।  

चेलो न्यौपाने । गुरु पेसाले आचार्य र थरले पनि । दुवै सगोत्री । दुवैले दुवैलाई भलिभाँती चिनेका छन् । होटलदेखि रेस्टुरेन्टसम्म खाइपिई गरेका छन् । यी कौपिन वश्त्रधारी ऋषिमुनिजस्ता गुरु र एकलव्यजस्ता चेला पनि त होइनन् । आधुनिक समयका अझ एक पाइलो अघि बढेर भन्ने हो भने यो उत्तर आधुनिक जमानाका गुरुचेला हुन्, यी दुवै ।  

अहंका टकरावमा दुवै सिङ भाँचिने गरी एक्लाएक्लै जुधे । ‘जति साह्रो ढुंगो पनि पानीको नरम थोपाले त ‘तोप्ल्याकतोप्ल्याक’ गर्दा दुलो पर्छ’ भने मानिसको मन त हो । एकदिन दुवैले दुवैलाई फोनमा अलिखित सम्झौता गरी फेरि आफ्नो काम सुचारू गर्ने वाचा कसम खाए ।

सो फोन वार्ताको सुरुवात चाहिँ गुरुले गरेका थिए । उनलाई चेलाको भन्दा पनि प्रविधिको माया थियो । उनी केही वर्षको अन्तरालमा जागिरबाट रिटायर्ड हुँदै थिए । जो अवकाशीय जीवनमा पनि युवा ऊर्जाका साथ यस्तै प्रविधिमय चेलाहरूलाई साथ सहयोग लिएर जीवनमा केही नयाँनयाँ काम गरिरहन चाहन्थे ।  

०००

भोलिपल्टबाट फेरि गुरुचेलासँगै मर्निङ वाकमा हिँड्ने निधो गरे ।  

सहर उही । प्रातःकालीन हिँडाइ उही । मानिसहरू दुईजना उही । मानसिकता र आर्थिक स्थिति उही । चिन्तन र चिन्ताको सरहद पनि उही । हिँड्ने दूरी र समय उही । सबै उही यही ।  

एउटा कुराको पृथकता भने थियो, त्यो के भने योपटक उनीहरूको मर्निङ वाक बदलिएर ‘टर्निङवाक’मा परिवर्तन भएको थियो । केही दिनको मन मिटरको घनघटाले गुरु र चेलाका मैला मनका आकाशका बादलहरूलाई मडारेर पानी पारिदिएको थियो ।  

दुवैका मनमा चहकिलो घाम लाग्यो ।  

 

प्रकाशित: ६ असार २०७७ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App