कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि लकडाउन गरिएसँगै संसारभरका फिल्मसम्बन्धी गतिविधिहरू ठप्प छन् । महामारीका कारण फिल्म हल बन्द गराइएसँगै फिल्म प्रोडक्सन रोकिएका छन् ।
फिल्म हल बन्द भएपछि अधिकांश नयाँ फिल्महरूको रिलिज मिति सारिएका छन् । कोरोना भाइरसका संक्रमण बढेसँगै ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ र वार्नर ब्रदर्सको ‘टेनेट’ र ‘वन्डर वुमन १९८४’ फिल्मको रिलिज मिति सारिएका छन् ।
‘नो टाइम टु डाई’ फिल्मका निर्माता बारबरा ब्रोकोली र माइकल जी विल्सनले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज सारिएको जानकारी गराएका थिए । ‘नो टाइम टु डाई’ आगामी नोभेम्बर २५ मा रिलिज हुँदैछ । यसअघि अप्रिलको पहिलो साता रिलिज हुने भनिएको ‘जेम्स बोन्ड’ को २५ औं फिल्म ‘नो टाइम टु डाई’ नोभेम्बर २० मा रिलिज हुने तय भएको थियो ।
कोरोना भाइरसका कारण यसअघि चीनको बेइजिङमा आयोजना हुने भनिएको ‘नो टाइम टु डाई’ फिल्मको प्रिमियर रद्द गरिएको थियो । अभिनेता डेनियल क्रेगको ‘जेम्स बोन्ड’ संस्करणको यो पाँचौं र अन्तिम फिल्म हो । क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाई’ मा अभिनेता डेनियलबाहेक अना दे अर्मस र रामी मालेकलगायत कलाकारले अभिनय गरेका छन् ।
जुन १७ मा प्रदर्शन हुने तय भएको क्रिस्टोफर नोलानद्वारा निर्देशित ‘टेनेट’ फिल्मको रिलिज मिति दुई सातापछिको लागि सारिएको छ । ‘टेनेट’ फिल्म दुई सातापछि आगामी जुलाई ३१ मा रिलिज हुने भएको छ । यसअघि सो फिल्म नोलानको ‘इन्सेप्सन’ को १० औं वार्षिकोत्सवमा रिलिज हुने तय भएको थियो ।
‘अहिलेको जटिल अवस्थालाई मध्यनजर गर्दै हामीले क्रिस्टोफर नोलनको टेनेट फिल्मको रिलिज मिति दुई सातापछि धकेल्न बाध्य भएका छौं,’ वार्नर ब्रदर्स पिक्चर्सका अध्यक्ष टोबी एम्मरिचले भने, ‘यसअघि हामी निर्धारित मितिमा संसारभको फिल्म हलमा फिल्म रिलिज गर्न उत्साहित थियौं । नोलानको इन्सेप्सनको १० औं वार्षिकोत्सवको अवसरमा फिल्म रिलिज हुने तय भएपनि अब दुई सातापछि अर्थात आगामी जुलाई ३१ म फिल्म रिलिज हुनेछ ।’
वार्नर ब्रदर्सले ‘वन्डर वुमन १९८४’ फिल्मको रिलिज मितिपनि सारेको थियो । यसअघि सो फिल्म जुनमा रिलिज हुने तयारीमा थियो । त्यसपछि ‘वन्डर वुमन १९८४’ फिल्म रिलिज मिति अगस्ट १५ को लागि सारिएको थियो । प्याटी जेन्किन्सले निर्देशन गरेको ‘वन्डर वुमन १९८४’ आगामी अक्टोबर २ मा रिलिज हुनेछ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट हालसम्म ७८ लाख ८० हजारभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् ।
चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट चार लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा २० लाख ७५ हजारभन्दा बढी संक्रमित र एक लाख १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणबाट ५७ सयभन्दा बढी संक्रमित र १९ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि ब्रालिज, रुस, बेलायत, भारत, स्पेन, इटाली र पेरुलगायत देश प्रभावित छन् । विशेषज्ञहरूले कैयौं देशमा पर्याप्त परीक्षण नभएकाले संत्रमणको संख्या कम देखिएको हुनसक्ने बताएका छन् । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट संसारभर अर्थतन्त्र प्रभावित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न मानिसहरूलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ ।
प्रकाशित: १ असार २०७७ ००:१५ सोमबार