सीके श्रेष्ठ
कुरो छैन साथी
मात्र वर्ण भेदको
न त कुरो छ साथी
मात्र श्वेत र अश्वेतको ।
कोल्टे व्यवस्थाका निर्मम घुँड़ोले
जब चेप्टाइन्छन् मुक्ति गानहरू
तबतब सास थुनिएर मरेका छन्
‘जर्ज फ्लोयड’हरू ।
नश्लले मान्छे असल बन्दैन
न त छालाको रंगले महान्
र त कालो मनको सेतो मान्छेले
लिन सक्यो निरपराध ज्यान ।
जर्ज फ्लोयड व्यक्ति होइन
चेप्टाइएका घाँटीहरूको गीत हो
विश्वभरि नै उत्पीडनमा परेका
अस्वीकृत जमातको प्रतीक हो ।
जर्ज फ्लोयड मरे पनि
‘जर्ज फ्लोयड’हरू मर्ने छैनन्
बाँच्नेछन् सदाकाललाई
मृत्युअघिको अन्तिम उद्गारमा–
‘म निस्सासिँदै छु !
हामी निस्सासिँदै छौं !’
(कालेबुङबाट)
प्रकाशित: ३१ जेष्ठ २०७७ ११:१० शनिबार