ईश्वरी कार्की वर्षा
घामजून एउटै हुन् हजुर र हामीलाई छुने
एउटै हो बतास हामीसँग लुकामारी खेल्ने
झरी, बादल एउटै हुन् हामीलाई चुम्ने
नदी उस्तै हो हाम्रो शरीरमा बग्ने रक्तनली
रधर्तीको कोखबाट बग्ने कोसी, कर्णाली
बाटो एउटै हो सडक एउटै हो
अन्त्यमा हजुरहामी जाने
अन्नतको यात्रा एउटै हो ।
हामीले बनाइदिएको घरमा हजुर बस्न हुने
हामी संघारभित्र पस्न किन नहुने
हाम्रो परिश्रमले उब्जिएको अन्न
हामीले बनाएको ओदान र चुलोमा पकाउन हुने
हामीले भने चुलो छुनसम्म नहुने
चुहिएको धुरी टालिदिने हामी
हजुर सधैँ हाम्रो स्वाभिमान ढालिदिने ।
पँधेरा, कुवा छोएको निहुँमा
संघार छोएको निहुँमा
मन्दिर छोएको निहुँमा
भगवान हेरेको निहुँमा
बगैँचाको फूल छोएको निहुँमा
फोड्नुहुन्छ हाम्रा निर्दाेष आँखा
सिसौको हाँगाझैँ गिड्नुहुन्छ हाम्रा हात–खुट्टा, गर्दन
कहिलेसम्म लिनु हुन्छ यसरी
हाम्रो ज्यान ।
सक्नुहुन्छ बनाउन हजुरको मात्र छुट्टै धर्ती, आकाश
छुट्टै बनाउनु घामजून
नछोओस् हामीलाई छोएको दूषित बतासले निर्मल हजुरलाई
अर्काे बनाउनु दिनरात र ऋतुहरू
अलग्याउनु हामीबाट झरीबादल, नदीनाला
बनाउनु अर्काे रंगको अर्काे इन्द्रेणी
हजुरका लागि हामी कुजात
हजुर सर्वश्रेष्ठ बन्नुहोस् अर्काे कोलम्बस
र निर्माण गर्नुहोस् अर्काे संसार
जहाँ हाम्रो छायासम्म नपरोस् ।
तरतरी चुहाई पसिना हामीले बोकेका खाँबो, दलिन र इँटाले
हामीबाटै बनेको मन्दिर
हात चाल्नो हुन्जेल छिनो रेती चलाई
कडा लगनले बनाएको मूर्तिलाई
हामीले सिलाएको पहिरन चँदुवा, मुकुटमा
विराजमान भगवानसँग
हाम्रा दुःखपीर पुकार्न मन्दिरभित्र पस्न
सधैँ कति वर्जित हजुर हामी ।
नछोइनी हाम्रो भोटले
विजयोत्सव मनाइ बनेको सरकार
जहिले बन्छ हाम्रो लागि रमिते
उस्तै कुटिल छ कानुनको आँखा पनि
कसले सुनोस् नवराजहरूको आवाज ।
अब हजुरविरुद्ध उत्रिएका छौँ
मौन आन्दोलनमा
यो जुनेली रातमा हजुरकै मझेरीमा खेल्नेछौँ
सदियौँदेखि दबिँदै आएको जुहारी
गाउनेछौ देउडा
अनि प्रभातको पहिलो प्रहरमै
हामीद्वारा बनेको मन्दिरभित्रै बसेर
धित मरुन्जेल गर्नेछौँ पूजा
कतै हामी कुजातले छोएपछि
मन्दिरका देवता धर्तीको गर्वमै
भासिन्छन् कि !
कि हुन्छन् अदृश्य क्षितिजको आँचलभित्र
कि दिन्छन् हामीलाई हजुरले जस्तै
सजाय मृत्यु !
प्रकाशित: ३१ जेष्ठ २०७७ ०४:३५ शनिबार