सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी राखेको लकडाउनलाई खुकुलो बनाउने निर्णय भएपनि मनोरञ्जन क्षेत्र तत्काल नखोल्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले देशभित्र संक्रमणको जोखिम बढेपछि फिल्म हल, क्ल्ब र महोत्सवलगायत मनोरञ्जन क्षेत्र तत्काल नखोल्ने निर्णय गरेको थियो ।
फिल्म हल, पार्टी प्यालेस, डान्स बारसहितका मनोरञ्जन क्षेत्रहरू बन्द रहनेछन् । बैठकले सबै प्रकारको महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन र प्रदर्शन नगर्न निर्देशन आदेश दिएको थियो ।२५ जनाभन्दा बढी सहभागी हुने गोष्ठी, धार्मिक तथा सामाजिक स्थल, हेल्थ क्ल्ब र ब्युटी पार्लरलगायत नखोल्ने निर्णय गरेको थियो ।
फागुनको दोस्रो सातादेखि मनोरञ्जन क्षेत्रका गतिविधि प्रभावित भएका थिए । लकडाउन गरिएसँगै देशभरका एक सय ७० भन्दा बढी फिल्म हलहरू बन्द भएका छन् । यसअघि फिल्म हल सञ्चालकहरूले फिल्म हेर्न आएका दर्शकलाई कोरोना भाइरसको संक्रमण हुन नदिन सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोगमा ल्याएर फिल्म प्रदर्शन गरिरहेका थिए ।
त्यस्तै सरकारले जारी लकडाउनलाई पनि खुकुलो बनाउने निर्णय गरेको थियो । जनताको दैनिक जनजीवन सहज बनाउन काठमाडौं उपत्यकासहितका जोखिम कम भएका जिल्लाहरूमा स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम राखेर पसल, निजी सवारी साधान, उद्योग व्यवसाय सुचारु गर्ने निर्णय गरेको थियो ।
लामो दूरीको सवारी साधान सञ्चालन अझै केही समय नगर्ने निर्णय लिंदै मन्त्रिपरिषद् बैठकले स्कुल र क्याम्पसहरू तत्काल नखोल्ने निर्णय गरेको थियो ।
बैठकले स्वास्थ्य सेवा, औषधी, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा माछा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण, फोहोर मैला व्यवस्थापन, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा, बैक तथा वित्तीय संस्था, क्वारेन्टिनका लागि तोकिएका होटल र अत्यावश्यक सेवाका सबै कार्यालयलगायत २१ वटा क्षेत्र खोल्ने निर्णय गरेको थियो ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट हालसम्म ७३ लाख ९४ हजारभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट चार लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणबाट ४६ सयभन्दा बढी संक्रमित र १५ जनाको मृत्यु भइसकेको छ ।
अमेरिका, ब्रालिज, रुस, बेलायत, भारत, स्पेन, इटाली र पेरुलगायत देश प्रभावित छन् । विशेषज्ञहरूले कैयौं देशमा पर्याप्त परीक्षण नभएकाले संत्रमणको संख्या कम देखिएको हुनसक्ने बताएका छन् । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट संसारभर अर्थतन्त्र प्रभावित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न मानिसहरूलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ ।
प्रकाशित: ३० जेष्ठ २०७७ ०६:५८ शुक्रबार