२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

श्यामशिलामा आउनुस् है !

पवन पराजुली
कक्षा  : ७ , न्यू सेरेस इंग्लिस स्कुल 
मनमैजु, काठमाडौं

म  भोजपुर जिल्लाको श्यामशिलामा जन्मेको हुँ। स्वच्छ वातावरण, चराको चिरबिर र प्रकृतिको न्यानोपनले भरिएको छ हाम्रो गाउँ। हाम्रो गाउँ पुग्ने जोसुकैको स्वागतमा सतिसालका पोथ्राहरू ठिंङ उभिएर स्वागत गर्छन्। रेडियोमा एउटा गीत सुनिन्छ–जहाँ ढुंगा ढुंगामा देवताको बास छ, त्यो देश मेरो हो।

हो हाम्रो गाउँ श्यामशिलाका हरेक थुम्काथुम्कामा देवताको बास छ। हाम्रोमा सिंहदेवीको थान, जालपादेपीको थान मात्र होइन, मनले जे माग्यो त्यो पुरा गरिदिने शिद्वकाली माताको थान पनि छ। त्यसैले हाम्रो गाउँ पवित्र भूमि हो। शिद्वकाली थानको सिधा तल जमिनमुनिबाट मुल फुटेका पानीका सात वटा धाराले बजारको प्यास मेटाउँछन्। श्यामशिलाको अरुण डाँडाबाट अरुण उपत्यका मात्र नभई थुप्रै हिमश्रृखला छयाङ्गै देखिन्छन्। भोजपुरबाट मकालुसहित विभिन्न हिमालको सुन्दर दृश्य देखिन्छ। झन् यतिबेला लालीगुराँसको लालीमा अरुणडाँडा नै राताम्मे भएको होला !

त्यति मात्र होइन, तिलहारको महादेवथानदेखि आम्तेकको रमितेडाँडासम्म घुम्नलायक छन्। भैसीपंखा, खुरिला, मागुवादेखि सुन्तले त कहलिएका पर्यटकीय क्षेत्र नै हुन्। त्यस्तै टेम्के डाँडा, मुन्धुम पदमार्गसँग जोडिएको सिलिचुङ डाँडा पनि रमणीय छ। सिलिचुङ त भोजपुरको शिर नै हो। हामीले हाम्रा अरु थुप्रै गाउँहरूलाई पर्यटन गन्तव्य बनाउन सक्छौं। भोजपुर सदरमुकाम मुन्तिरको टक्सार बजारको त कुरै नगरौं, त्यहाँ पहिला सिक्का निष्काशन गरिथ्यो रे। अचेल पनि कलात्मक करुवा बनाइन्छ। ती करुवा भोजपुरको चिनोका रुपमा स्वदेशका विभिन्न ठाउँ र विदेशसम्म पुर्‍याइन्छ।   

हाम्रोमा वरपिपलका छहारी भएका चौतारा प्रशस्त छन्। थकान मेटाउन भारी बिसाउन र शितल ताप्न चौतारामा सुस्ताउने चलन छ। त्यसैले हामीले चौताराहरूको संरक्षण गर्नु पर्छ।   

पहिलापहिला त हाम्रै गाउँमा पनि खुकुरी बनाइन्थ्यो रे। गोर्खा सैनिकका रुपमा संसारमै बहादुरी कमाएका नेपाली सेनाको हतियार खुकुरी नै थियो। तर, अचेल खुकुरी बनाउने पेशा संकटमा पर्दै गएको छ। हाम्रोतिर हिजोआज पनि घरायसी काममा खुकुरीको प्रयोग हुन्छ। फेरी आफ्नै गाउँ श्यामशिलाको कुरा गरौं, हाम्रोमा वरपिपलका छहारी भएका चौतारा प्रशस्त छन्। खेतीबाली लगाउँदा होस् वा भित्र्याउँदा वा घरमा भएका अन्नपात बेच्न लैजाँदा थकान मेटाउन भारी बिसाउने चौताराको प्रयोग हुन्छ। गर्मीमा चौतारामा बस्दा पनि शितल हुन्छ। त्यसैले हामीले चौतारा संरक्षण गर्नु पर्छ।  

हाम्रो गाउँ विभिन्न जातजातिको साझा फूलबारी हो। हामी सबैजना मिलेर बसेका छौं। गाउँमा राई, क्षेत्री, बाहुन, तामाङ, शेर्पा लगायत मिश्रित जातजातिको बसोबास छ। सबै आ–आफ्नै संस्कृति र जीवनशैलीमा रमाएका छौं। हामीमा मेलमिलाप र सहयोगी भावना छ। त्यसैले त दुर्गम भएता पनि हाम्रो गाउँ खुसी छ। सुखी छ। हाम्रो गाउँ पुग्न पूर्व धरान, भेडेटार, पाख्रिवास, धनकुटा हुँदै अरुण नदीको सुसेली सुन्दै अघि बढ्नु पर्छ। नदीको सुसेली, चराको चिरबिर र सिरसिरे बतास सुन्दासुन्दै हाम्रो गाउँको आँगनीमा टेक्न पुगिन्छ। अर्को कुरा, हाम्रो गाउँ पाहुना आउँदा खुसी हुन्छ। त्यसैले हजुरहरू पनि हाम्रो भोजपुर आउनुस् है ! 

प्रकाशित: ७ वैशाख २०७७ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App