२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

राहत माग्दै हल सञ्चालक

काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, समारोह, विवाह र महोत्सवमा सहभागी नहुन अपिल गरेसँगै फिल्म हल र यस क्षेत्रमा परेको असरबारे फिल्मकर्मीहरूले सरकारलाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका छन्। मंगलबार नेपाल चलचित्र संघका टोलीले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई भेटेर कोरोना भाइरस संक्रमणको त्रासले नेपाली फिल्म क्षेत्र र फिल्म हलहरू प्रत्यक्ष रूपमा प्रभावित भएकाले राहत प्याकेज घोषणा गर्न माग गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावको बारेमा अध्ययन भईरहेको जानकारी दिएका थिए। उनले नेपाली फिल्म क्षेत्रमा त्यसले प्रभाव पारेको जानकारी आफूलाई भएकाले छलफल गरिरहेको स्पष्ट पारे। ‘अहिले पर्ख र हेरको स्थिति भएकाले प्रभावित क्षेत्रको क्षति अध्ययन गरिरहेका छौं। त्यहीअनुसार योजना तयार गरिने भएकाले अझ एक महिना अफ्ठ्यारो हुने देखिन्छ,’ उनले भने, ‘अहिले केन्द्रिय बैंकसँग छलफल गरिरहेका छौं।’

उनले फिल्मकर्मीहरू आतिनुपर्ने अवस्था नभएको आश्वासन दिँदै नेपाली फिल्म क्षेत्रको लागि मध्यमकालिन र दिर्घकालिन रणनीतिमा काम गरिरहेको बताए। ‘कोरोना भाइरस रोक्न उच्च सर्तकता अपनाइएले मनोरञ्जन क्षेत्रमा हाल लिनुपर्ने विभिन्न किसिमका अनुमतिहरूलाई एकद्धार प्रणालीमा लैजाने प्रयास गरिरहेका छौं,’ उनले भने।

संघका अध्यक्ष मधुसुधन प्रधानले फिल्म हलहरूमा कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाई गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराएका थिए। ‘हामीले दैनिक ब्याज, भ्याट र मनोरन्जन करलगायत राजस्व तिरिरहेका छौं। कोरोना भाइरसको त्रासले फिल्म हलहरू प्रभावित भएका छन्। अन्य उद्योग सरह राहत प्याकेज दिनुपर्यो,’ उनले भने।

नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली फिल्म क्षेत्रमा ठूलो लगानी रहेका दुई सयभन्दा बढी फिल्म हलहरूमा हाल असर परेको बताए। संघका कार्यसमिति सदस्य भाष्कर ढुंगानाले फिल्म हल निर्माण र यो उद्योगमा प्रत्यक्ष नेपालीहरूको लगानी र रोजगारी सिर्जना भएको हुँदा फिल्म हलहरूले कर तिर्नुपर्ने तर अनलाइन स्ट्रिमिङ सेवामार्फत फिल्म देखाउँदा कर नतिर्ने अवस्थाको अन्त्य गरिनुपर्ने तर्क गरेका थिए।

प्रकाशित: ५ चैत्र २०७६ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App