११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

‘आमा’ बाट छुटकारा खोज्दै सुरक्षा

काठमाडौं – इन्जिनियरिङमा मास्टर्स गरिरहेकी सुरक्षा पन्तले अभिनय गरेका चलचित्रको संख्या उल्लेख्य छैन, तर केही फिल्ममा उनले गरेको अभिनय उल्लेख्य छ। प्रर्दशनरत ‘आमा’ सुरक्षाको यही उल्लेख्य चलचित्र भित्र पर्छ। यो फिल्ममा उनले गरेको अभिनयले दर्शक तथा समीक्षक सबैलाई सन्तुष्ट पारेको छ। कोरोनाको त्रासका बीचमा पनि हलमा टिकिरहेको फिल्मबाट उनले फरक प्रतिक्रिया पाइरहेकी छन्।

‘आमा’ मा सुरक्षाले मिथिला शर्मा र सरिता गिरीसँगै समानान्तर भूमिका गरेकी छिन्। तर, मिथिला र सरिता जहाँ सन्तानसँगको बिछोडमा तड्पिएका छन् उहीं सुरक्षाको चरित्र भने मातृसुखको खोजीमा छ। छोरीको जिम्मेवारीले नपुगेर फिल्ममा उनले छोराको जिम्मेवारी पनि निर्वाह गरेकी छिन्। के यो चरित्रलाई उनले फिल्म रिलिजसँगै चटक्क छाड्न सकेकी छिन्। सुरक्षा भन्छिन्, ‘गाह्रो भइरहेको छ। फिल्ममा मैले निवार्ह गरेको पात्र र मबीच अन्तद्र्वन्द्व चलिरहेको महसुस हुन्थ्यो। अहिलेसम्म पनि पात्रको ह्याङबाट निस्कन सकिरहेको छैन्। सामान्य कुरामा झट्ट रिस उठ्ने र एक्कासी मुड परिवर्तन हुने महसुस गरिरहेको छु। उनले यो स्थितिबाट बाहिर निस्कन केही समय आफूलाई आइसोलेटेड राख्न खोजिरहेको बताइन्।

‘आमा’ फिल्ममा आफूले निर्वाह गरेको पात्र सशक्त भएको दाबी गर्छिन् सुरक्षा। यही कारण पनि फिल्म हेर्ने धेरै महिला दर्शकले पात्रलाई आत्मसात गरेको उनले प्रतिक्रिया पाएकी छिन्। ‘नेपाली समाजले महिलालाई पुरुषको स्थानमा राखेर हेर्न सकेको छैन्। सामाजिक संरचनाले महिलालाई गृहिणीमा सीमित राखिदिएको अवस्थामा मैले फिल्ममा निर्वाह गरेको पात्र विद्रोही स्वभावको छ। यसलाई धेरैले रिलेट गर्नु भएको छ ,’ उनी भन्छिन्। तर, योसँगै सुरक्षालाई नेपाली समाजको मानसिकताले नस्वीकारेका विषयवस्तुमाथि फिल्म बनाउने फिल्ममेकर कमी पनि महसुस भइरहेको छ।

क्थाको डिमान्ड अनुसार अभिनयमा केन्द्रित हुन रूचाउने उनी कलाकारले पात्रलाई न्याय गर्नसक्नुपर्ने दावी गर्छिन्। फिल्ममा सुरक्षाको कपाल खौरिएको दृश्यलाई केही समीक्षकले अनावश्यक मानेका थिए। त्यो दृश्य नहुँदा पनि फिल्मको सन्देशमा केही असर नगर्ने जिकिर केहीको थियो। तर, सुरक्षा भने त्यो मान्न तयार छैनन्। यो दृश्यले नेपाली समाजमा सशक्त हुँदै गएका महिलाहरूको उपस्थितिलाई संकेत गरेको उनको तर्क छ। ‘फिल्ममा कपाल खौरिएको दृश्य एकदम आवश्यक थियो। महिलाहरू मौन बसेर समाज परिवर्तन भएको आभाष हुँदैन्। परिस्थिति स्वीकार्दै उनीहरू त्यहाँसम्म पनि पुग्न सक्छन् भन्ने सन्देश समाजलाई दिनु जरुरी छ,’ उनी स्मरण गर्छिन्, ‘आमाबुबाप्रति छोरोजस्तो छोरी पनि खटिनसक्छिन् भन्ने सन्देश दिनका लागि पनि यो दृश्य जरुरी थियो।’

अभिनयको आएको लामै समय भइसक्दा पनि सुरक्षाका फिल्मोग्राफीमा बग्रेल्ती फिल्म छैनन्। कारण, अफर आएका सबै फिल्म उनलाई स्वीकार्य हुँदैनन्। ‘निर्देशकको कथा प्रस्तुति, फिल्मप्रतिको लगाव र मनोभाव बुझेरमात्र फिल्मको स्क्रिप्ट माग्छु। फिल्ममेकर स्क्रिप्ट उपलब्ध गराउन तयार नभएको स्थितिमा काम गर्दिन भन्ने गरेको छु,’ उनले अनुभव सुनाइन्। हाल मास्टरको थेसिस सिध्याउन लागिपरेकी उनी ग्ल्यामरस भूमिकाका लागि पनि आफू तयार रहेको बताउँछिन्। ‘ म त ग्ल्यामरस फिल्मका लागि पनि तयार छु। तर, खै किन हो कुनै निर्माता निर्देशकले त्यो हिम्मत गर्नु भएको छैन’ उनी भन्छिन्। एउटा खाले भूमिका गर्यो भनेर कलाकारलाई सधैं त्यस्तै भूमिकामा मात्र काम गराउन खोज्नु राम्रो हैन।

यसअघि नेपाली फिल्महरूमा पुरुषलाई पिटेर महिलालाई शक्तिशाली देखाउने शैली गलत भएको उनी बताउँछिन्। ‘हिंसात्मक गतिविधिभन्दा पनि सोचाईमार्फत शक्तिको मापन गरिनुपर्छ। यस्ता शैलीमार्फत महिलालाई प्रस्तुत गर्दा उल्टो अर्थ लाग्छ,’ उनी भन्छिन्, ‘महिला शक्तिलाई फरक शैलीमा हेरिएको छैन। अहिले महिलाहरूलाई गृहिणीको भूमिकामा सीमित गरिएको छ।’

यसअघि ‘धनपति’ फिल्ममा खगेन्द्र लामिछानेको अपोजिटमा गृहिणीको भूमिका निर्वाह गरेकी उनी ‘आमा’ फिल्मको सोही भूमिका सशक्त भएको तर्क गर्छिन्। ‘धनपति र आमा फिल्ममा मैले निर्वाह गरेको गृहिणीको भूमिका फरक छ। धनपतिमा श्रीमानले हेला गर्दासम्म बोल्न नसक्ने गृहिणी आमा फिल्म शक्तिशाली देखिएकी छन्,’ उनी भन्छिन्।

‘घर’ फिल्मको दौरान नै निर्देशक दीपेन्द्र के खनालले सुरक्षालाई ख्याल ख्यालमा सोधेका थिए, ‘कपाल खौरनु पर्ने अवस्था आयो भने के गर्नुहुन्छ सुरक्षा जी ?’

कथाले माग्छ भने कपाल खौरन आफूलाई कुनै समस्या नहुने उनको उत्तर थियो। दीपेन्द्रसँग यसरी कुराकानी भएको दुई महिनापछि दीपेन्द्रले सुरक्षालाई फिल्ममा अनुबन्ध गरेका थिए। ‘मलाई निर्देशकले संकेत दिएका रहेछन्। राम्रो स्क्रिप्टको लागि कपाल खौरिनु, शरीर घटबढ हुनुलाई मैले सामान्य रूपमा लिएँ। यो कलाकारको धर्म पनि हो। उनले भनिन् , ‘आमामा मैले निर्वाह गरेको पात्र स्वतन्त्र र भित्रैबाट क्रान्तिकारी छ। उनलाई समाजले छोराभन्दा कम दर्जामा रहेको महसुस गराउँछ। समाजले अस्वीकार गरेको विद्रोही महिला परिवार र समाजसँग द्वन्द्व गरिरहेकी छन्।’ फिल्ममा देखिएको कपाल खौरिएको दृश्यलाई उनले आक्रोश पोखिएको रूपमा पनि लिएकी थिइन्। ‘समाजले छोरा साथमा नहुँदा पनि उसको आस गरेर बस्छ। तर, छोरीको सामीप्यता र हिम्मतलाई भने स्वीकार्न तयार छैन। निराश अनुहारमा परिस्थितिको सामना गरिरहेकी पात्रको पड्काइको स्वरूप कपाल कटाई हो। यसले समाजलाई झड्का दिएको छ,’ उनले भनिन्। ‘आमा’ फिल्ममा तुलनात्मक रूपमा पात्रहरूको मनोविज्ञान ध्यान दिएको उनले बताइन्। ‘यसअघिका फिल्महरूमा पात्रको मनोविज्ञानलाई गम्भीर रुपमा लिइदैनथ्यो। फिल्मको कथा अधिकांश छोरीहरूले भोगेको तितो यथार्थसँग मेल खाएको छ। कारण उनीहरूका मनमा निराशा छन्। समाजसँग संघर्ष गरिरहेका उनीहरूसँग धेरै गुनासा छन् ’ उनले भनिन्।

उनी फिल्मकी पात्र र आफ्नो स्वभाव अमिल्दो भएकाले अन्तद्र्वन्द्वको परिस्थितिहरू सिर्जना भएको स्मरण गर्छिन्। ‘फिल्मकी पात्र र मैले अभिव्यक्ति गर्ने शैली फरक भएकाले अकुसमुकस हुन्थ्यो,’ उनले भनिन्।

कलाकारलाई अभिनयभन्दा पनि पारिश्रमिक र पपुलारिटीको तराजुमा राखेर गरिने व्यवहार उनलाई ठिक लाग्दैन। यही कारण पनि सुरक्षा बेला बेलामा सामाजिक सञ्जालमा बम्किन्छिन्। तर, यसलाई उनले आफूले काम गरेको क्षेत्रलाई आफैंलाई सफा गर्नुपर्ने मान्यता अनुसार आएको अभिव्यक्ति मान्छिन्। ‘स्टार भनिएका कलाकारहरूको परिश्रमिक धेरै हुन्छ। उनीहरू फिल्मको पात्र छनोटमा हाबी भएको महसुस गरेको छु। अधिकांश फिल्ममेकर पुरुष कलाकारको विकल्प खोज्दैनन्,’ उनले भनिन्, ‘तर महिला कलाकारको परिश्रमिक पनि थोरै हुन्छ। अनि हाम्रो छनोट पनि वैकल्पिक र सहजताका आधारमा हुन्छ। वैकल्पिकभन्दा पनि आवश्यकताको रूपमा लिइयोस् भनेर स्थान बनाउन लागिपरेको छु।’

‘अझै पनि’, ‘धनपति’, ‘भैरे’, ‘चंगा चेट’, ‘गोपी’ हुँदै ‘आमा’मा आइपुग्दा सुरक्षाले धेरै निर्देशकको मन जितेकी छिन्। यही कारण पनि पछिल्ला फिल्महरूमा निर्देशकले उनलाई स्वतन्त्र रूपमा अभिनय गर्न छाडिदिन थालेका छन्। ‘सामान्य फिल्ममा पनि गतिलो काम गर्न सक्छौं। राम्रो फिल्ममात्र बन्छन् भन्ने छैन। कलाकारले आफ्नो उत्कृष्ट अभिनय निर्वाह गर्नचाँहि छाड्नुहुन्न। स्वतन्त्र भएर निर्देशकले काम गर्न छाडिदिए पनि फिल्ममा निर्देशकीय पक्ष बलियो हुनु जरुरी छ,’ उनले भनिन्।

महिला फिल्ममेकरले महिलाका विषयवस्तुलाई महत्व दिने सोचाईमा सत्यता नभएको तर्क उनी गछिन्। ‘महिलाले बनाएका फिल्ममा महिलाका विषयले प्राथमिकता पाउने कुरा गलत हो। कहिलेकाँही पुरुषले पनि महिलाको विषय बुझेका हुन्छन्,’उनले भनिन्।

प्रकाशित: २८ फाल्गुन २०७६ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App