१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कोरोना संक्रमणको त्रास, फिल्ममा नियमित सो यथावत

पाेखरा - संसारभर फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि देशभर आयोजना हुने गरेका मनोरञ्जनका गतिविधिहरू प्रभावित हुने क्रम जारी रहेको छ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण दर्शकहरू फिल्म हेर्न हलसम्म जान छाडेपनि पोखरामा सञ्चालन भइरहेका फिल्म हलहरूमा नियमित तालिकाअनुसार फिल्म प्रदर्शन भइरहेका छन्। फिल्म हल सञ्चालकहरूका अनुसार कोरोना भाइरसको त्राससँगै दर्शकको संख्या घटेको छ। सभागृह चोकको मिडटाउन ग्यालरियाका प्रबन्ध निर्देशक निकेश द्वाले नियमित रूपमा फिल्म हल सञ्चालन भइरहेको बताउँछन्। ‘कोरोना भाइरसको त्रासका कारण दर्शकहरू फिल्म हलसम्म आउन डराएका छन्। नेपाल सरकारले तत्काल फिल्म हलहरू बन्द गर्न नपरेको जनाएसँग हामीले नियमित रूपमा फिल्महरू प्रदर्शन गरिरहेका छौं। पोखरामा एक दर्जन हाराहारीमा फिल्महरू सञ्चालनमा रहेको जानकारी उनले गराए।
कोरोना भाइरस संत्रमण रोकथामका लागि पोखराका हलहरूमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेको उनले बताए। कोरोनाको संक्रमणको त्रास कम गर्न हामीले फिल्म हेर्न हल आएका दर्शकलाई सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘यो साता फिल्म हेर्न आउने दर्शकको संख्या कम भएको महसुस गरेका छौं।’ तुलनात्मक रूपमा दर्शकको संख्या घटेका कारण आगामी सातादेखि रिलिज हुने भनिएका नेपाली फिल्मले आफ्ना फिल्मको रिलिज मिति सार्ने क्रम जारी छ।

पोखराका विन्ध्यवासिनी र श्रीकृष्ण चलचित्र मन्दिरमा फिल्म हेर्न आउने दर्शक ह्वात्तै घटेका छन्। पोखराको क्युएफएक्सका म्यानेजर राजेन्द्र पुरीले हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेको बताए।
‘व्यापारभन्दा दर्शकको स्वास्थ्य महत्वपूर्ण हो। तत्काल हलहरू बन्द गरिहाल्नु पर्ने स्थिति नभएकाले सतर्कता अपनाएर सञ्चालन गरिनुपर्छ,’ उनले भने, ‘फिल्म हेर्न हल आउने दर्शकलाई सुरक्षित गराउन हल सञ्चालकले सावधानीमा ध्यान दिनु आवश्यक रहेको छ।’ यस साता ६० प्रतिशत व्यापार घटेको उनले बताए।

यसअघि नेपाल चलचित्र संघले फिल्म हल बन्द गनुपर्ने अवस्था नभएको भन्दै सतर्कता अपनाउनेमा जोड दिएको थियो। ‘फिल्म हल सञ्चालकहरूलाई बोलाएर सतर्कता अपनाएर हल सञ्चालन गर्न आग्रह गरेपछि नियमित सोहरू भइरहेका छन्। नेपाल सरकारले फिल्म हल बन्द गर्नु भन्यो भनेमात्र बन्द होलान। तत्काल फिल्म हलहरूमा पनि सचेतना बढाएर सर्तकताको लागि दर्शकहरूलाई माक्स अनिवार्य लगाउन देशभरका हलहरूलाई आग्रह गरेका छौं,’ संघका अध्यक्ष मधुसुदन प्रधानले भने, ‘तत्काल हल बन्द गरिहाल्नु पर्ने अवस्था छैन। हाल रिलिज भएका फिल्महरूले सोचेअनुसारको व्यापार नगरिरहेको अवस्थामा हल बन्द गर्नु उचित हुन्न।’

 

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App