२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

तारागाँउ म्युजियममा ‘अ पोट्रेट स्टोरी’

कविराज कार्की

काठमाडौं – विभिन्न मानिसको अनुहार एक अर्कामा फरक हुने गरेको छ। उस्तै देखिएझैं लाग्ने मानिसहरूको फरक आकृतिहरू समेटिएर अहिले ‘अ पोट्रेट स्टोरी’ शीर्षकको कला प्रदर्शनी आयोजना भइरहेको छ।

उस्तै लाग्ने मानिसका विभिन्न आकृतिलाई कलाकारले आफ्नो कलामार्फत प्रस्तुत गरिरहेका छन्। राजधानीको तारागाँउ म्युजियममा गत पुस २४ देखि सुरु भएको प्रदर्शनीमा कलाकारहरुले वास्तविक झल्काउने प्रयास गरिरहेका देखिन्छन्।

तारागाँउ म्युजियम र डाँफे आर्टस्ले आयोजना गरेको प्रदर्शनीमा समावेश कलाहरूमा मानवीयतादेखि विभिन्न अनुभव समेटिएको मानिसको आकृतिलाई प्राथमिकता दिइएको छ। तारागाँउ म्युजियमका निर्देशक रोशन मिश्रका अनुसार प्रदर्शनीमा विभिन्न मानिसको अनुहारको भाव हेर्न सकिन्छ। ‘नेपालको अवस्थालाई वर्णन गर्दै मानिसहरूको अनुहारमा देखिने विभिन्न भावहरू प्रदर्शनीमा समावेश भएका कलाहरूमा देखिन्छ। मानिसको पीडादेखि मानवीय भावनालाई कलाकारहरूले आ–आफ्नो शैलीमा तयार गरेका छन्,’ उनले भने।

प्रदर्शनीमा कलाकार शशि शाह, विधाता केसी, चिराग बाङ्देल, मनीषलाल श्रेष्ठ, नीलेश शाक्य, हितमान गुरुङ र कपिलमणि दीक्षितलगायत कलाकारहरूको कला राखिएका छन्। प्रदर्शनीमा समावेश भएका कलाहरूमा नेपालीपन झल्किएको छ। एउटै मानिसको विभिन्न भाव र अनुभवलाई आधार मानेर नेपालको इतिहास र वर्तमानको तुलना गरिएका छ। नेपाली समाजको परिवर्र्तनको संकेतको रुपमा आयोजित प्रदर्शनीमा देखिएका पोट्रेटमा देखिएका मानिसहरू परम्परागत नेपाली भेषभूषामा सजिएका छन्। मानिसको भावना, चरित्र, सोच र समाजप्रतिको जिम्मेवारीमाथि विभिन्न कलाहरूले प्रश्न गरेका छन्।

डाँफे आर्टस्की संचालक सिवांगी बस्नालका अनुसार प्रदर्शनीमा चित्रकला र फोटोहरूमार्फत नेपाली समाजमा रहेका विभिन्न अनुहारको बयान गरिएको छ। ‘नेपाली समाजलाई मापन गर्न यो प्रदर्शनीमा समावेश भएका कलाहरू काफी छन्। नेपाली संस्कृति र परम्परालाई महत्व दिने हो भने नेपालको राष्ट्रिय पोसाक लगाउने अनुहारहरूले नेपालीपनको भाव दिन्छन्। यसले इतिहास र वर्तमानलाई तुलना गर्न सहयोग गर्नेछ,’ उनले भनिन्। प्रदर्शनी आगामी माघ ९ सम्म चल्नेछ।

प्रकाशित: ६ माघ २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App